
काठमाडौं । नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यात गर्ने सहमती भएको छ । बंगलादेशको ढाकामा बिहीबार सम्पन्न नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त बैठकले ४० मेगावाट विद्युत निर्यात भइरहेको अवस्थामा थप गर्ने निर्णय गरेको हो ।
बैठकले सुनकोशी–३ जलविद्युत आयोजनामा लगानी प्रक्रिया अगाडि बढाउन बंगलादेशले विशेषज्ञ समिति गठन गरी मूल्याङ्कन तीव्रता गर्ने तथा संयुक्त उपक्रम शीघ्र टुंग्याउने निर्णयसमेत गरेको छ ।
बैठकमा दुई देशबीच दीर्घकालीन ऊर्जा सहकार्य, विद्युत व्यापार, जलविद्युत आयोजनामा लगानी, अन्तरदेशीय प्रसारण लाइनका संरचना विकास लगायतका विषयमा व्यापक छलफल भएको बैठकको सहअध्यक्षता गरेका नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव चरणजीवी चटौतले जानकारी दिए ।
के के भयो प्रगति ?
१. बंगलादेशले नेपालबाट हाल आयात गर्दै आएको ४० मेगावाट विद्युतमा थप २० मेगावाट आयात गर्ने प्रक्रिया दुवै देशले शीघ्र पूरा गर्ने ।
२. सुनकोशी–३ जलविद्युत आयोजनामा लगानी प्रक्रिया अगाडि बढाउन बंगलादेशले विशेषज्ञ समिति गठन गरी मूल्याङ्कन तीव्रता गर्ने तथा संयुक्त उपक्रम शीघ्र टुंग्याउने ।
३. नेपाल–भारत–बंगलादेशबीच प्रसारण लाइनमार्फत विद्युत विनिमयको सम्भाव्यता अध्ययन गर्ने — विशेष गरी नेपालबाट भारत हुँदै बंगलादेशका बरापुकारिया, पञ्चगढ/ठाकुरगञ्ज, भेरामारा र कोसमलला सबस्टेशनसम्म ऊर्जा प्रवाह गर्ने सम्भावना मूल्याङ्कन गर्ने ।
४. दुवै देशले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता सम्बन्धी :आआफ्नो आन्तरिक प्रक्रिया पूरा गरेर हस्ताक्षर गर्ने । यस अन्तर्गत बंगलादेशले नेपाललाई ऊर्जा संरक्षण, चार्जिङ, रूफटप सोलार लगायतका क्षेत्रमा प्राविधिक सहयोग प्रदान गर्ने ।
५. नेपाल र बंगलादेशबीच क्षमता अभिवृद्धि कार्यक्रम शुरू गर्ने—पहिलो चरणका तालिमहरू काठमाडौंमा र दोस्रो चरण बंगलादेशमा सञ्चालन गरिने ।
६. नेपाल–भारत–बंगलादेश त्रिपक्षीय ऊर्जा सहकार्यसम्बन्धी भारतको सहमति जुटाउन दुवै देशले संयुक्त पहल गर्ने ।

Leave a Reply