विघटित नेकपा एस कैलालीले दिएन माधवलाई साथ, जिल्ला कमिटी नै एकतामा नआउने

कैलाली । विघटित नेकपा एसको कैलाली जिल्ला कमिटी नै नेपाली कम्युनिष्ट पार्टीमा सामेल नहुने बताएको छ । कैलाली जिल्ला कमिटीका अध्यक्ष, सचिव र उपसचिवले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेकपामा नजाने निर्णय गरेको जानकारी गराएका छन् ।

माओवादी केन्द्रसहितका १२ घटक मिलेर बनेको नेकपाले भोलि धनगढीमा एकता सन्देश सभा गर्दैछ । सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधव कुमार नेपालसहितका नेताहरू आउँदै छन् । त्यसको पूर्वसन्ध्यामा नेकपा एसको तत्कालीन कमिटीले यो निर्णय लिएको हो ।

एकताबारे जिल्ला कमिटीको बैठक आह्वान गरिएको थियो । १२१ सदस्यीय कमिटीमध्ये ९१ जना सहभागी बैठकले एकता प्रक्रियामा सहभागी नहुने निर्णय गरेको अध्यक्ष विमलकुमार जोशीले नेपाल प्रेसलाई बताए ।

‘केपी ओली र प्रचण्ड दुवैले कम्युनिष्ट आन्दोलन सक्नुभयो । आफूलाई आवश्यकता हुँदा एकता गर्ने नत्र विघटन गर्ने उहाँहरूको पुरानै शैली हो । अहिलेको एकताले झन् कम्युनिष्ट आन्दोलनलाई सकेको छ त्यसैले हामी सहभागी नहुने निर्णय गरेका हौँ’, उनले भने ।

कम्युनिस्ट आन्दोलन जोगाउने पक्षसँग सहकार्य हुनसक्ने जोशीको भनाइ छ ।

बैठकपछि जिल्ला कमिटीका अध्यक्ष, सचिव र उपसचिवले संयुक्त विज्ञप्ति निकालेर नेकपामा नजाने निर्णय गरेको जानकारी गराएका छ्न् । अहिले एकताको नाममा १३ दल सहभागी भएको हवाला दिएपछि त्यसको अर्थ नभएको जिल्ला कमिटीको निष्कर्ष रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘वास्तवमा यो एकता एकातिर कुनै पनि पार्टी सङ्लो रूपमा सहभागी भएको छैन भने अर्कोतिर आधारभूत सङ्गठन नै नभएका पार्टीहरू एकतामा सहभागी छन् । सिद्धान्त यो एकता शाहीकालका मन्त्रीदेखि जातीय भेगीय मुद्दा उठाउनेहरू र गैर कम्युनिस्ट पार्टी बनाउनुपर्छ भन्नेहरूबीच भएको हो ।’

बैठकले प्रचण्ड र माधव नेपालले नेतृत्वको नेकपाले कम्युनिस्ट आन्दोलनलाई क्षति पुर्‍याउने निष्कर्ष निकालेको उल्लेख छ । कम्युनिस्ट सिद्धान्तका आधारित नभई नेताहरूको व्यक्तिगत स्वार्थ पूरा गर्ने मनसायले भएको आरोप छ ।

बैठकले एमालेलाई पनि केपी ओलीले विसर्जनको बाटोमा लगेको निष्कर्षसहित पार्टी पुनर्गठनमा लाग्न आह्वान गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *