बाहिर नबोल्नू भन्नेलाई योगेशको जवाफ- पार्टीका नीति र विचार जनताले थाहा पाउनुपर्छ

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सार्वजनिक बहसबाट पार्टी आपत्ति नहुने बताएका छन् । आसन्न महाधिवेशनबारे भिडिओ सन्देश जारी गर्दै जेन-जी आन्दोलनपछि मुख्य पार्टीभित्र छलफल र बहस हुनु स्वाभाविक भएको बताएका छन् ।

उनले भनेका छन्, ‘मुख्य राजनीतिक दलहरूमा तीव्र छलफल भइरहेको छ । एमाले महाधिवेशनको तयारीमा छ, कांग्रेस आन्तरिक विषयमा गम्भीर छलफलमा छ । अन्य दलहरू पनि आन्तरिक छलफलमा छन् । तर, मैले जब पार्टीको नीतिको विषयमा बहस गर्छु त्यति बेला हाम्रो पार्टीको कतिपयले यो पार्टीको विषय सार्वजनिक ठाउँमा किन बहस गरिराख्नुभएको छ । यो कुराले मलाई छोयो ।’

वास्तवमा पार्टीका आन्तरिक विषयहरू सार्वजनिक महत्त्वका विषय हुने भएकाले जनताले थाहा पाउनुपर्ने उनको तर्क छ ।

उनले थपेका छन्, ‘एमाले, कांग्रेसजस्ता जनताको मन जितेर राज्य सत्ताको पटक-पटक नेतृत्व गरेका, जनप्रतिनिधिमूलक निकाय पटक-पटक प्रतिनिधित्व गरेका पार्टीहरूले आफ्ना नीति र विचारहरू आम जनता र नागरिकको बीचमा छलफल गर्न आवश्यक छ कि छैन ? गम्भीर विषय हो ।’

पार्टीका आन्तरिक कतिपय व्यक्ति व्यक्तिका विषयहरू धेरै सार्वजनिक बहसमा ल्याउनु नहुने पार्टीले राख्नुपर्ने गोपनीयताबारे आफूलाई जानकारी रहेको समेत उल्लेख गरेका छन् ।

मुलुकको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा अथवा भदौ २३ र २४ गतेको घटनालाई हेर्ने दृष्टिकोणको विषयमा कुनै पनि राजनीतिक दलले मुलुकको आर्थिक, सामाजिक, स्वास्थ्य, रोजगारी, युवालगायतका नीतिबारे छलफल गर्नु पार्टीको गोपनीयताको विषय नहुने उनको मत छ ।

उनले सार्वजनिक बहसबाट नआत्तिन आग्रह गर्दै पार्टीले जनताको विश्वास जितेर बहुमत प्राप्त दल हुँदै सरकार बनाउन आवश्यक रहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *