राप्रपाको कार्यसम्पादन समिति बैठक–निर्वाचन केन्द्रित छलफल, मधेशकी मन्त्री कञ्चन बिच्छा पदमुक्त हुने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउॅसो १ बजे बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक परिस्थितिको विश्लेषण, पार्टीको रणनीति निर्माण, आसन्न केन्द्रीय समिति बैठकका एजेण्डा तय, पार्टीभित्र आन्तरिक एकता कायम गर्दै सबै तहको अधिवेशन सम्पन्न गर्ने विषयमा छलफल हुने बताइएको छ । निर्वाचन भए पार्टीको भूमिका र सहभागिताबारे पनि छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले बताए ।

कञ्चन बिच्छा पदमुक्त हुँदै
आजको बैठकले मधेश प्रदेश सरकारमा मन्त्री बनेकी कञ्चन बिच्छाबारे पनि निर्णय हुने बताइएको छ । ‘अनुशासन समितिले सिफारिस गरिसकेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘केन्द्रीय कार्यसमिति या कार्यसम्पादन समितिले कारबाही गर्ने हो, सिफारिस भएकाले आजको बैठकबाट कारबाही हुन्छ ।’

कात्तिक २३ गते पार्टीको निर्णयविना नै महोत्तरीको एउटा होटलमा एमालेका मुख्यमन्त्री सरोजकुमार यादवसँगै विनाविभागीय मन्त्रीमा शपथ खाएकी बिच्छालाई त्यही दिन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले फिर्ता हुन निर्देश गरेका थिए । तर उनी फिर्ता भइनन् । उनलाई अनुशासन समितिले स्पष्टिकरण सोधेको थियो । अनुशासन समितिले कारबाही गर्न सिफारिस गरेको छ ।

मुख्यमन्त्री सरोज यादवद्वारा मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी दिँदा मंसिर ८ गतेदेखि बिच्छालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् । मंसिर २२ गतेभित्र सरकारले विश्वासको मत लिनु पर्ने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *