समृद्ध नेपालको आधारशिला: मानव पुँजी र मनोवैज्ञानिक सबलीकरण

नेपाल यतिखेर इतिहासको एक महत्त्वपूर्ण मोडमा उभिएको छ । राजनीतिक परिवर्तनका लामो र कष्टकर चरणहरू बीचबाट निरन्तर गुज्रिँदै गरेको मुलुकले नयाँ संविधान जारी गरेपछि आफ्नो गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ तय गरेको थियो । यो केवल एउटा राजनीतिक नारा मात्र होइन, यो आम नेपालीको दशकौँदेखिको सपना र राष्ट्रको भविष्यको मार्गचित्र हो । तर, प्रश्न उठ्छ– के केवल सडक, पुल र भौतिक पूर्वाधारहरूले मात्र यो लक्ष्य भेट्टाउन सकिन्छ ? अर्थशास्त्र र मनोविज्ञानका आधुनिक सिद्धान्तहरूले भन्छन्– सकिँदैन ।

“भौतिक विकास शरीर हो भने मानवीय र मनोवैज्ञानिक विकास त्यसको आत्मा हो ।” ‘समृद्ध नेपाल’ को लागि हामीलाई मानव पुँजी चाहिन्छ भने ‘सुखी नेपाली’ बन्नका लागि हामीलाई मनोवैज्ञानिक पुँजीको अपरिहार्यता पर्दछ । यी दुई तत्त्वहरूको सन्तुलित विकासबिना न त आर्थिक समृद्धि दिगो हुन्छ, न त नागरिकहरूले आत्मसन्तुष्टिको महसुस गर्न सक्छन् ।

मानव पुँजी भनेको शिक्षा, सीप, स्वास्थ्य, क्षमता र उत्पादकता सम्पन्न जनशक्ति हो भने मनोवैज्ञानिक पुँजीले व्यक्तिको आन्तरिक शक्ति (आशावाद, आशा, दृढता र आत्मविश्वास) लाई जनाउँछ । विकसित तथा विकासोन्मुख दुवै प्रकारका अर्थतन्त्रमा यी दुई पुँजी राष्ट्रको उन्नति, सामाजिक स्थिरता र व्यक्तिगत–सामुदायिक खुसीका मेरुदण्ड बनेका छन् । नेपालले आर्थिक रूपान्तरणको यात्रामा यी दुई पुँजीमा ध्यान नदिईकन न त परिवर्तनको गति बढाउन सक्छ, न त नागरिकको जीवनस्तरको सुधारमा ठोस परिणाम देखाउन सक्छ ।

यस आलेखमा नेपालको सन्दर्भमा मानव पुँजी निर्माण र मनोवैज्ञानिक पुँजीको अन्तरसम्बन्ध र यसले राष्ट्रिय लक्ष्य प्राप्तिमा खेल्ने भूमिकाबारेमा विस्तृत चिरफार गर्ने कोसिस गरिएको छ ।

मानव पुँजी : समृद्धिको इन्जिन

सरल भाषामा भन्नुपर्दा, मानव पुँजी भनेको मानिसभित्र रहेको ज्ञान, सीप, योग्यता, स्वास्थ्य र अनुभवको समष्टिगत रूप हो । जब कुनै देशका नागरिकहरू शिक्षित, स्वस्थ र सीपयुक्त हुन्छन्, तब उनीहरू केवल ‘जनसङ्ख्या’ रहँदैनन्, उनीहरू ‘सम्पत्ति’ बन्छन् ।

नेपालमा मानव पुँजीको वर्तमान अवस्था
नेपाल जनसाङ्ख्यिकीय लाभांशको चरणमा छ । देशको कुल जनसङ्ख्याको ठूलो हिस्सा युवाहरूको छ । यो कुनै पनि राष्ट्रको विकासका लागि स्वर्ण युग हो । तर, के हामीले यो शक्तिलाई पुँजीमा बदल्न सकेका छौँ  ?

शिक्षा र सीपको खाडल: नेपालको साक्षरता दर बढेको छ, तर ‘शिक्षित’ हुनु र ‘दक्ष’ हुनुमा आकाश–पातालको फरक छ । हाम्रा विश्वविद्यालयका डिग्रीहरू र बजारको मागबीच ठूलो असन्तुलन छ । हामीले हजारौँको सङ्ख्यामा व्यवस्थापन र मानविकीका विद्यार्थी उत्पादन गरिरहेका छौँ, तर देशलाई चाहिएको प्राविधिक, इन्जिनियर, कृषि विज्ञ र उद्यमीहरूको अभाव छ । सैद्धान्तिक ज्ञानको रटानले प्रमाणपत्र त दिलायो, तर हातमा सीप दिलाउन सकेन ।

मानव पुँजीको अर्को महत्त्वपूर्ण पाटो स्वास्थ्य हो । स्वस्थ नागरिकले मात्र उत्पादकत्व बढाउन सक्छ । यद्यपि स्वास्थ्य सूचकाङ्कमा नेपालले सुधार गरेको छ, तर अझै पनि ग्रामीण भेगमा कुपोषण र आधारभूत स्वास्थ्य सेवाको पहुँचमा चुनौती छ । अस्वस्थ जनशक्तिले ‘समृद्ध नेपाल’ को भारी बोक्न सक्दैन ।

मानव पुँजी निर्माणको सबैभन्दा ठूलो चुनौती भनेको प्रतिभा पलायन हो । राज्यले लगानी गरेर तयार पारेका डाक्टर, इन्जिनियर र होनहार विद्यार्थीहरू अवसरको खोजीमा विदेशिइरहेका छन् । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने लामले हाम्रो मानव पुँजी बाहिरिँदै गरेको दुःखद चित्र प्रस्तुत गर्छ । जबसम्म यो जनशक्तिलाई स्वदेशमै रोक्ने र उपयोग गर्ने वातावरण बन्दैन, तबसम्म समृद्धि टाढै रहन्छ । ‘समृद्ध नेपाल’ को लागि मानव पुँजी निर्माण गर्न अब परम्परागत शैलीले पुग्दैन ।

१. व्यावहारिक र प्राविधिक शिक्षा: विद्यालय तहबाटै व्यावसायिक शिक्षा अनिवार्य गरिनुपर्छ । ‘पढ्नु’ भनेको जागिर खानु मात्र होइन, केही ‘सिर्जना गर्नु’ हो भन्ने भाष्य स्थापित गर्नुपर्छ ।

२. जीवनपर्यन्त सिकाइ: प्रविधि यति छिटो परिवर्तन भइरहेको छ कि १० वर्ष अगाडिको डिग्री आज काम नलाग्न सक्छ । त्यसैले ‘रि–स्किलिङ’ (Re-skilling) र ‘अप–स्किलिङ’ (Up-skilling) को संस्कृति बसाल्नुपर्छ ।

३. स्वास्थ्यमा लगानी: मानसिक र शारीरिक रूपमा तन्दुरुस्त जनशक्ति मात्र उत्पादनशील हुन्छ ।

मनोवैज्ञानिक पुँजी : सुखको आधार

मानव पुँजीले मानिसलाई ‘के गर्न सक्छु’ भन्ने क्षमता दिन्छ भने, मनोवैज्ञानिक पुँजीले ‘म यो गर्न तयार छु र सफल हुन्छु’ भन्ने मानसिकता दिन्छ । सन् २००४ मा लुथान्स र उनका सहकर्मीहरूले विकास गरेको यो अवधारणाले व्यक्तिको सकारात्मक मनोवैज्ञानिक अवस्थालाई जनाउँछ । ‘सुखी नेपाली’ बन्नका लागि भौतिक सुविधाले मात्र पुग्दैन, मनमा आशा, विश्वास र सन्तुष्टि चाहिन्छ । मनोवैज्ञानिक पुँजीलाई चार मुख्य खम्बाहरूमा बुझ्न सकिन्छ :

क) आशा: अर्थात् भविष्यप्रतिको सकारात्मक दृष्टिकोण र लक्ष्य प्राप्त गर्ने दृढ इच्छाशक्ति । आज धेरै युवाहरूमा ‘नेपालमा केही हुँदैन’ भन्ने चरम निराशा छाएको छ । यो नै विकासको सबैभन्दा ठूलो बाधक हो । जब नागरिकमा आशा मर्दछ, तब देशको भविष्य अन्धकार हुन्छ । हामीले युवाहरूमा ‘नेपालमै सम्भव छ’ भन्ने आशा जगाउनुपर्छ । यो कोरा भाषणले होइन, अवसरहरूको सिर्जना र सफल उदाहरणहरू देखाएर मात्र सम्भव छ । राष्ट्रिय स्तरमा आशा फैलिनु भनेको आर्थिक र सामाजिक नीतिमाथि विश्वास बढ्नु, राजनीतिक स्थिरता बढ्नु र राष्ट्रिय आत्मबल उत्थान हुनु हो ।

ख) आत्म–प्रभावकारिता : कुनै पनि काम फत्ते गर्न सक्छु भन्ने आत्मविश्वास हो । हाम्रो समाजले प्रायः असफलतालाई आलोचना गर्छ, जसले गर्दा युवाहरू जोखिम लिन डराउँछन् । “जागिर खाऊ, सुरक्षित होऊ” भन्ने मानसिकताले उद्यमशीलताको विकास रोकेको छ । सीपले आत्मविश्वास बढाउँछ ।

जति धेरै मानिसहरू दक्ष हुन्छन्, उति नै उनीहरूको ‘सेल्फ–एफिकेसी’ बढ्छ । नेपालमा युवा बेरोजगारीले आत्मविश्वासमा नकारात्मक असर पारिरहेको छ । यदि राज्यले सीप विकास, रोजगारी पहुँच र उद्यमशीलता समर्थनजस्ता कार्यक्रम प्रभावकारी बनायो भने आत्मविश्वासको स्तर विस्तारै बढ्दै जान्छ ।

ग) उत्थानशीलता : विपत्ति, तनाव वा असफलताबाट पुनः उठ्न सक्ने क्षमता नै उत्थानशीलता हो । नेपालीहरू स्वभावैले उत्थानशील छन् । भूकम्प, नाकाबन्दी र कोभिड–१९ जस्ता सङ्कटहरूमा हामीले अदम्य साहस देखायौँ । तर, यो ‘बाध्यताको उत्थानशीलता’ थियो ।

अब हामीलाई ‘व्यावसायिक उत्थानशीलता’ चाहिएको छ । व्यवसाय डुब्दा वा असफलता हात लाग्दा आत्महत्या गर्ने होइन, नयाँ पाठ सिकेर अघि बढ्ने मानसिकताको विकास आवश्यक छ । युवाहरूले सामना गरिरहेका चुनौती (विदेशिने प्रवृत्ति, आर्थिक अस्थिरता, राजनीतिक असन्तुलन) दृढताले मात्र सामना गर्न सकिन्छ ।

दृढ व्यक्तिहरू विपरीत परिस्थितिलाई सहेर अघि बढ्न सक्छन्, कठिनाइलाई विकासको अवसर बनाउँछन् र समुदायमा सकारात्मक ऊर्जा फैलाउँछन् । राष्ट्रिय विकासमा दृढता मनो–सामाजिक स्थिरताको प्रमुख स्रोत हो ।

घ) आशावाद: परिस्थिति जस्तोसुकै भए पनि सकारात्मक नतिजाको अपेक्षा गर्नु आशावाद हो । चिया पसलदेखि सामाजिक सञ्जालसम्म नकारात्मकता बढी बिक्छ । यो नकारात्मक चक्रलाई तोड्न जरुरी छ । समस्याको बीचमा पनि समाधान देख्ने दृष्टि विकास गर्नुपर्छ । आशावादी नागरिक देशको भविष्यप्रति सकारात्मक दृष्टि राख्छन् ।

आशावादले नवप्रवर्तन, जोखिम लिने क्षमता, सामाजिक समन्वय र उद्यमशीलतालाई बढाउँछ । समाजमा आशावाद फैलिनु भनेको आर्थिक वातावरणमा सुधार हुनु हो ।

सूत्रबद्ध रूपमा भन्नुपर्दा: मानव पुँजी + मनोवैज्ञानिक पुँजी = समृद्धि + खुसी । यी दुई पुँजी एक–अर्काका परिपूरक शक्ति हुन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य तब मात्र पूरा हुन्छ, जब मानव पुँजी र मनोवैज्ञानिक पुँजी एकै ठाउँमा उभिन्छन् । यी दुई एकअर्काका परिपूरक हुन् । आर्थिक समृद्धि मानव पुँजीको उच्च प्रयोगबाट आउँछ । जब मानिसहरू दक्ष हुन्छन्, उत्पादन बढ्छ, प्रतिव्यक्ति आय बढ्छ र देश धनी हुन्छ । तर, पैसाले मात्र सुख दिँदैन । सुखको लागि मनोवैज्ञानिक सबलीकरण चाहिन्छ ।

यदि कोही व्यक्ति धनी छ (उच्च मानव पुँजी) तर उसमा भविष्यप्रति आशा छैन वा ऊ तनावमा छ (न्यून मनोवैज्ञानिक पुँजी) भने ऊ ‘सुखी’ हुन सक्दैन । अर्कोतर्फ, यदि कोही ज्यादै आशावादी र खुसी छ तर उसँग सीप र रोजगार छैन भने त्यो खुसी दिगो हुँदैन, ऊ गरिबीमा धकेलिन्छ । तसर्थ, राष्ट्रिय लक्ष्य प्राप्त गर्न हामीलाई दक्ष हात र सकारात्मक दिमाग दुवै चाहिन्छ ।

उद्यमशीलता नै समृद्धिको इन्जिन हो । मानव पुँजीले उद्यम गर्न ‘ज्ञान’ दिन्छ (कसरी व्यवसाय गर्ने, हिसाब कसरी राख्ने, उत्पादन कसरी गर्ने) । मनोवैज्ञानिक पुँजीले उद्यम गर्न ‘आँट’ दिन्छ (जोखिम लिने क्षमता, असफल भए पनि हरेस नखाने बानी) । नेपालमा धेरै युवाहरूसँग डिग्री (मानव पुँजी) छ तर “केही गरौँ” भन्ने आँट (मनोवैज्ञानिक पुँजी) छैन । वा, कतिपयसँग आँट छ तर सीप छैन । यी दुवैको मिश्रणले मात्र सफल उद्यमी जन्माउँछ, जसले रोजगारी सिर्जना गरी समृद्ध नेपालमा योगदान पुर्‍याउँछन् ।

आर्थिक स्रोत र लाभको वितरणमा कमजोरी भयो भने समाजमा विपन्नता र विग्रह उत्पन्न हुन्छ । यसैको ज्वलन्त उदाहरण हो– गत भदौ २३/२४ को परिणाम । हाम्रो समाज समृद्ध नहुनुको पछाडि एउटा ठूलो कारण यही कमजोर आर्थिक स्रोतको असमान वितरण र स्वामित्व पनि हो । पहिले राज्य अमर हुन्छ, त्यसैले सधैँ बलियो हुनुपर्दछ । त्यसपछि समाजका हरेक नागरिकको कम्तीमा सहज जीविकोपार्जन राज्यले सुनिश्चित गर्नुपर्दछ ।

नागरिकहरूबीच रहेको र हुनसक्ने असमान आर्थिक स्रोत र साधनको कुशल वितरणको निम्ति उपयुक्त पद्धति बसालेर सामाजिक न्याय स्थापना गर्नुपर्दछ । आजको आवश्यकता भनेको भूमण्डलीकरणभित्र आफ्नै देश, माटो, संस्कार, संस्कृति, भाषा र मौलिकता अनुकूलको राजनीतिक र आर्थिक संस्थाहरूले देखाउने बाटो नै समृद्धिको बाटो र विकासको बाटो हो ।

‘सुखी नेपाली’ को एक महत्त्वपूर्ण सूचक सुशासन र सामाजिक न्याय हो । जब कर्मचारीतन्त्र र नेतृत्वमा उच्च नैतिक बल (मनोवैज्ञानिक पुँजीको एक हिस्सा) हुन्छ, तब भ्रष्टाचार कम हुन्छ । दक्ष र इमानदार जनशक्तिले मात्र पारदर्शी प्रणाली बसाल्न सक्छ । विश्वासिलो समाजमा मात्र नागरिकहरू सुखी हुन सक्छन् ।

यो अवधारणा जति सुन्दा आकर्षक छ, कार्यान्वयनमा त्यति नै चुनौतीहरू छन् । नीतिगत अस्थिरता: सरकार फेरिएपिच्छे नीति फेरिने प्रवृत्तिले मानव पुँजी निर्माणमा दीर्घकालीन असर पारेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिने लगानीको प्रतिफल आउन वर्षौं लाग्छ, तर हाम्रो राजनीतिले तत्कालको नतिजा खोज्छ । नेपालमा अझै पनि प्राविधिक काम वा कृषि कर्मलाई तल्लो दर्जाको मानिन्छ । यसले गर्दा युवाहरू सीपमूलक काममा भन्दा विदेशमा गएर तल्लो स्तरको काम गर्न तयार हुन्छन् । यसले मनोवैज्ञानिक पुँजी (आत्मसम्मान) मा चोट पुर्‍याउँछ ।

मनोवैज्ञानिक पुँजी निर्माणका लागि मानसिक स्वास्थ्य महत्त्वपूर्ण छ । तर, हाम्रो समाजमा डिप्रेसन, एन्जाइटीजस्ता समस्यालाई लुकाउने परिपाटी छ । यसका लागि राज्य, निजी क्षेत्र र नागरिक समाजले निम्न कदमहरू चाल्नुपर्छ :

क) शिक्षा प्रणालीमा आमूल परिवर्तन: घोकन्ते विद्याको साटो ‘कौशल र चरित्र’ निर्माण गर्ने शिक्षा प्रणाली लागू गर्नुपर्छ । विद्यालय तहदेखि नै ‘इमोशनल इन्टेलिजेन्स’, सकारात्मक सोच र उद्यमशीलताका कक्षाहरू समावेश गरिनुपर्छ । यसले मानव पुँजी र मनोवैज्ञानिक पुँजी दुवैको विकास गर्छ ।

ख) ‘नेपालमै भविष्य छ’ भन्ने भाष्य निर्माण: निराशाको बादल हटाउन राज्यले ठोस योजना ल्याउनुपर्छ । स्टार्ट–अप फन्ड, सहुलियतपूर्ण ऋण र झन्झटरहित प्रशासनिक सेवा प्रदान गरेर युवाहरूलाई स्वदेशमै रोक्नुपर्छ । सञ्चार माध्यमले पनि सफलताका कथाहरूलाई प्राथमिकता दिएर मनोवैज्ञानिक पुँजी बढाउन मद्दत गर्नुपर्छ ।

ग) स्वास्थ्य र मानसिक सबलीकरण: हरेक स्थानीय तहमा मनोसामाजिक परामर्श केन्द्रहरू स्थापना गर्नुपर्छ । स्वस्थ शरीर र स्वस्थ मन भए मात्र नागरिकले देश विकासमा योगदान दिन सक्छन् ।

घ) डायस्पोराको ज्ञान र सीपको उपयोग: विदेशमा रहेका नेपालीहरूसँग ठूलो मानव पुँजी र अनुभव छ । उनीहरूलाई केवल रेमिट्यान्स पठाउने स्रोतको रूपमा मात्र नहेरी, उनीहरूको ज्ञान र सीप भित्र्याउने वातावरण मिलाउनुपर्छ । उनीहरूको सफलताको अनुभवले स्वदेशमा रहेका युवाहरूमा प्रेरणा (आशा र आत्मविश्वास) जगाउन सक्छ ।

अतः ‘समृद्ध नेपाल, सुखी नेपाली’ कुनै अमूर्त सपना होइन, यो एक प्राप्त गर्न सकिने गन्तव्य हो । तर, यसको यात्रा फराकिला सडक र गगनचुम्बी महलहरूबाट मात्र तय हुँदैन । यसको लागि खेतबारीमा काम गर्ने किसानको सीप (मानव पुँजी) र अनुहारको कान्ति (मनोवैज्ञानिक पुँजी) बढ्नुपर्छ । फ्याक्ट्रीमा काम गर्ने मजदुरको दक्षता र उसको आत्मसन्तुष्टि बढ्नुपर्छ ।

विश्वविद्यालयबाट निस्कने विद्यार्थीको हातमा प्रमाणपत्र मात्र होइन, विश्व बजारमा बिक्ने सीप र जस्तोसुकै चुनौती सामना गर्ने आत्मविश्वास हुनुपर्छ । जब हामी हाम्रा युवाहरूलाई विश्वस्तरीय सीपले सुसज्जित गर्छौं र उनीहरूको मनमा आशा, विश्वास र सकारात्मकताको दियो बाल्छौँ, तब मात्र नेपाल साँच्चिकै समृद्ध बन्नेछ र हरेक नेपालीको मुहारमा साँचो खुसी छाउनेछ ।

अबको बहस केवल “कति किलोमिटर बाटो बन्यो ?” भन्नेमा मात्र सीमित नहोस्, बरु “कति दक्ष जनशक्ति तयार भयो र नागरिकहरू कति आशावादी छन् ?” भन्नेमा केन्द्रित होस् । किनकि, मानिस नै विकासको साध्य र साधन दुवै हो । मानिस सुध्रिए देश सुध्रिन्छ, मानिस सुखी भए मात्र देश सुखी हुन्छ ।

आर्थिक विकासको आधार:

  • रोजगारीको सुरक्षा र आर्थिक स्वतन्त्रता दिन्छ, जसले तनाव कम गर्छ ।

  • मनोवैज्ञानिक पुँजी (आशा/आत्मविश्वास) ले जोखिम लिने र उद्यम गर्ने साहस दिन्छ ।

  • नवप्रवर्तन बढाउँछ ।

  • जीवनप्रति सकारात्मक दृष्टिकोण र मानसिक शान्ति प्रदान गर्छ ।

  • दक्ष जनशक्तिले मात्र स्रोतको सही उपयोग गर्न सक्छ ।

  • आशावादी नागरिकले मात्र समाजमा मेलमिलाप र भाइचारा कायम राख्छन् ।

नेपाल आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनको संवेदनशील मोडमा उभिएको राष्ट्र हो । दिगो विकास, समावेशी समृद्धि र नागरिक खुसीको लक्ष्य हाम्रा साझा दीर्घकालीन नीति हुन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ केवल नाराभन्दा पनि यथार्थपूर्ण रणनीतिमा आधारित राष्ट्रिय आकाङ्क्षा हो । तर समृद्धि र खुसी दुवै कुनै पनि भौतिक पूर्वाधार, ठूला भवन, सडक वा राष्ट्रिय बजेटका अङ्कबाट मात्र मापन हुँदैन । यसका आधारभूत सूचकहरू मानव पुँजी र मनोवैज्ञानिक पुँजी हुन् । यिनै दुई पुँजीको उचित व्यवस्थापन गर्न नसक्दाको गम्भीर परिणाम हो– गत भदौ २३ र २४ मा उजागर भएको असन्तुष्टि, आन्दोलन, आगजनी, तोडफोड र विध्वंसको कहालीलाग्दो अवस्था ।

गौतम बुद्धको देशमा हामीले भौतिक समृद्धिसँगै मानसिक शान्ति र करुणालाई पनि विकासको मानक बनाउनुपर्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को महाअभियानमा इँटा थप्ने जिम्मा राज्यको मात्र होइन, हरेक सचेत नागरिकको पनि हो । आउनुहोस्, सीप सिकौँ, सकारात्मक बनौँ र देश बनाऔँ ।

(लेखक लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका अध्यापक हुन्)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *