
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशको आर्थिक तथा पूर्वाधार विकासलाई गति दिन निजी क्षेत्रको साथ र सहकार्य अत्यावश्यक रहेको बताएका छन् ।
बुधवारबाट सुरु भएको लम्की महोत्सव–२०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकार निजी क्षेत्रसँगको सहकार्यमार्फत प्रदेशको विकासका लागि तयार रहेको बताएका थिए ।
‘निजी क्षेत्रसँग सहकार्य गर्दै कानुनी अवरोध हटाउने प्रतिबद्धता गर्दछु, ’ मुख्यमन्त्री शाहले भने ‘लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार निजी क्षेत्र, उद्योग वाणिज्य सङ्घ, दातृ निकाय र विकास साझेदारहरूसँग निरन्तर संवाद गर्दै आएको छ।’
प्रदेशमा विद्यमान कानुनी अवरोध, प्रक्रिया र नियमहरूको समीक्षा तथा संशोधनमार्फत समस्याहरू समाधान गर्दै जाने विश्वास दिलाउनु भयो ।
सुदूरपश्चिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न लगानी सम्मेलन–२०८२ को तयारी सन्दर्भ उल्लेख गर्दै मुख्यमन्त्री शाहले सम्भावित लगानीकर्तासँग लगातार अन्तरक्रिया भइरहेको जानकारी दिए । उनका अनुसार सम्मेलनले प्रदेशको सम्भाव्यता, स्रोत–साधन र अवसरलाई व्यापक रूपमा प्रस्तुत गर्नेछ ।
प्रदेशको पर्यटन सम्भावनाबारे मुख्यमन्त्री शाहले खप्तडलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन प्रदेश सरकारले महत्त्वपूर्ण पहलहरू गरेको र बाबा रामदेवसहितका व्यक्तित्व र विभिन्न विदेशी दूतावासहरूसँगको अन्तरक्रिया छलफल चलाएको बताए । उनले मानसखण्ड सम्मेलनमार्फत खप्तड र सुदूरपश्चिमको धार्मिक–सांस्कृतिक महत्त्व उठाउन प्रयत्न भइरहेको जानकारी दिए ।
लम्की–बरेली ट्रान्समिटर लाइनको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिँदै उनले आफ्नो औपचारिक भारत भ्रमणको क्रममा केन्द्रीय मन्त्रीसहित प्रदेशका मुख्यमन्त्रीसँग यहाँको पर्यटन क्षेत्र लगायत सीमाका क्षेत्रका बारेमा कुराकानी गरेको जानकारी दिएका थिए ।
डुडेझारी औद्योगिक क्षेत्रको विकासका लागि बजेट विनियोजन र बन मन्त्रालयका पदाधिकारीहरूलाई त्यस क्षेत्रको स्थलगत अनुगमनमा गराएको जानकारी दिए ।
डुडेझारी औद्योगिक क्षेत्रलाई प्रदेश सरकारको दीर्घकालीन औद्योगिक योजना रहेको बताउँदै उनले सो क्षेत्रका लागि सडक, बत्ती, पानी लगायतका पूर्वाधार प्रदेश सरकारले नै व्यवस्थित रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।
भाद्र २३–२४ को आन्दोलनपछि भ्रष्टाचार नियन्त्रण र सुशासनका कदममा सरकार अघि बढेको उनको भनाइ थियो ।

Leave a Reply