धनगढीमा एमाले र युवा सङ्घका नेताहरूको एउटै स्वर : संसद् पुनर्स्थापना र राजनीतिक निकासमा जोड

कैलाली । राष्ट्रिय जागरण अभियानमार्फत एमालेका नेता तथा राष्ट्रिय युवा सङ्घका पदाधिकारीहरूले संसद् पुनर्स्थापना पार्टीको पहिलो एजेन्डा रहेको बताएका छन् ।

राष्ट्रिय युवा सङ्घ सुदूरपश्चिम प्रदेश कमिटीको आयोजना भएको कार्यक्रममा सबैजसो वक्ताहरूले संसद् पुनर्स्थापना र राजनीतिक निकासमा जोड दिए । अहिलेको अवस्थामा निर्वाचन सम्भव नभएको भन्दै सरकारलाई त्यसमा नरुमलिन उनीहरूले सुझाव दिएका थिए।

एमाले केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रतिनिधि सभा पुनः स्थापना गरेर संविधानलाई लिकमा ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए । तर, संसद् पुनः स्थापनाको फैसला गरेमा ज्यान मार्नेसम्मका धम्कीहरू दिन थालिएको उनको भनाइ थियो । उपमहासचिव गुरुङले मुलुकका तीन वटै अङ्ग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सङ्कटमा रहेको बताए ।

‘जेनजी आन्दोलनका नाममा व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका जलाएर सबैलाई आतङ्कित पार्ने काम भएको छ । अहिले तीन वटै अङ्ग सङ्कटमा छन् । संविधान पुनः स्थापनाको निर्णय फैसला गरिस् भने तिमीलाई मार्छु भनेर धम्की दिइराखेका छन्,’ गुरुङले भने, ‘अहिले संविधान कोमामा छ । यसको उपचारको पहिलो समाधान संसद् पुनः स्थापना भएपछि मात्र संविधान संशोधन, संवैधानिक सरकार बन्न सक्छ । संसद् पुनः स्थापना पहिलो सर्त हो ।’

उनले संविधान पुनः स्थापना गरेर जेनजीसहितको सहभागितामा सर्वपक्षीय सरकार बनाएर उनीहरूले उठाएका सुशासन कायम, भ्रष्टाचार नियन्त्रण लगायतका माग सम्बोधन गर्न सकिने बताए । राष्ट्रिय युवा सङ्घले गरिरहेको कार्यक्रममा देशभर जेनजी युवाको नाममा अवरोध सिर्जना गर्न खोजिएको पनि उनको भनाई थियो ।

जागरण सभालाई सम्बोधन गर्दै एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले एमालेका विचार र सिद्धान्तहरूलाई अहिलेका विरोधहरूले कुनै फरक नपर्ने बताएका थिए । उनले पनि संसद् पुनर्स्थापना मार्फत नै देशले निकास पाउनु पर्नेमा जोड दिए ।

‘आज एमाले सही बिचार र नीति बोकेको छ । त्यही भएर एमाले माथि नै आक्रमण बढिरहेको छ,’ उनले भने, ‘प्रधानमन्त्री हुँदा हाम्रो अध्यक्षले लिम्पियाधुरा, लिपुलेक र कालापानीको अवस्थाबारे चीनसँग पनि कुरा राख्नु भयो । भारतले कब्जा गरेको हाम्रो भूमि फिर्ता ल्याउन पहल गरेपछि देशी विदेशी शक्तिहरू सरकार विरुद्ध लागे र यो अवस्था सृजना भयो ।’

२४ गतेको घटना घटाउन २३ गतेको घटना घटाइएको र २५ गते फेरि सरसफाइको गर्ने नाममा प्रमाण मेटाउने काम भएको उनको आरोप थियो । उनले अहिले निर्वाचन हुन नसक्ने भन्दै संसद् पुनर्स्थापना हुनुपर्ने बताए ।

त्यस्तै पोलिटब्युरो सदस्य महेश बस्नेतले ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेनजी अभियन्ता सुदन गुरुङलाई पक्राउ गरेर छानबिन गर्नुपर्नेमा जोड दिए । जेनजी समूहलाई अराजक बनाएको भन्दै उनीहरूलाई पक्राउ गर्नु पर्ने उनको भनाइ थियो ।

‘ जेनजी समूहलाई अराजक र उत्तेजक बनाएर र आफूलाई जेनजीका नेता ठान्ने हाम्रो कार्यक्रममा बाधा पुर्‍याउन षड्यन्त्र गर्ने कुलमान घिसिङ, बालेन र सुदन गुरुङ हुन्,’ बस्नेतले भनेका छन्, ‘यिनलाई पक्राउ गरेर छानबिन गर्नै पर्छ ।’

सरकारले उनीहरू माथि छानबिन नगरे युवाहरू हनुमान ढोका लगेर छानबिन गर्ने बताएका थिए । उनले पनि संसद् पुनर्स्थापनामा जोड दिएका थिए ।

११ औँ महाधिवेशनबाट फेरी पनि केपी शर्मा ओली अध्यक्ष हुने भन्दै बस्नेतले ईश्वर पोख्रेललाई वरिष्ठ उपाध्यक्षमा बस्न र ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन भूमिका खेल्न आग्रह गरेका थिए ।

एमाले पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नारदमुनी रानाले एमालेको लोकप्रियताका कारण देशी विदेशी शक्तिहरू एमाले विरुद्ध खनिएको बताएका थिए । उनले प्रहरीको मनोबल बढ्न नसकेको, जेलबाट निस्किएकाहरू अझै सम्पर्कमा नरहेको र हतियार तथा गोलीहरू पनि बरामद नभएको भन्दै अहिले निर्वाचनको सम्भावना नरहेको बताए । उनले संसद् पुनर्स्थापना गरेर निकास निक्लने बताए ।

केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा सङ्घका इन्चार्ज राजीव पहारीले जेनजी आन्दोलनको नाममा अराजकता मच्चाएकाहरू माथि कारबाही हुनुपर्ने बताएका थिए ।

‘जेनजीहरु अराजक हुन सक्दैनन् अराजकहरू जेनजी होइनन् ’ उनले भने ‘देशको सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत आगजनी गर्नेहरूको छानबिन गरी कारबाही गर्नु पर्छ।’

सङ्गठनका उपाध्यक्ष महराज गुरुङले राष्ट्रिय जागरण अभियानले देश भरी पार्टी र सङ्गठनको पक्षमा माहौल बढिरहेको दाबी गरेका थिए । अध्यक्ष क्षितिज थेबेले देश भ्रष्ट र घुसियाहरुको अखडा भएको बताए ।चुनावको नाकका सुशीला कार्कीले नाटक गरिरहेको उनको भनाइ थियो । ‘ खै ती लुटिएका हतियार र गोली रुखै लुटिएका प्रहरीका पोसाक यस्तो अवस्थामा चुनाव हुँदै हुँदैन ’ उनले भने, ‘ प्रधानमन्त्रीले हुँदै नहुने चुनावको गफ दिइरहनु भएको छ ।’

प्रदेश संयोजक बम शाही अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोहित कुवर र हेमराज जोशीले युवाहरूको लोकप्रिय पार्टी एमाले र सङ्गठन राष्ट्रिय युवा सङ्घ नै रहेको बताएका थिए । कार्यक्रमको सञ्चालन प्रकाश खड्काले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *