
काठमाडौं । जेनजी अगुवाहरूसँगको छलफलमा बसेका प्रधानमन्त्री कार्यालयका कानुन सचिव फणीन्द्र गौतम बीचमै उठेर हिँडेका छन् । जेनजीले अघि सारेका केही प्रस्तावमा असहमति जनाउँदै उनी बैठक छोडेर हिँडेको स्रोतले बतायो ।
जेनजी अगुवाले भदौ २३ को आन्दोलनमा भएको मानव अधिकारको गम्भीर उल्लंघनलाई सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी)को प्रक्रियाबाट समाधान गर्नुपर्ने प्रस्ताव गरेका थिए । यसमा गौतम सहमत भएनन् । टीआरसीमा जाने हो भने आफू छलफलमै सहभागी नहुने भन्दै उनी जुरुक्क उठेर हिँडेको एक जेनजी प्रतिनिधिले बताए ।
उनले भने, ‘मानव अधिकार उल्लंघनलाई टीआरसी अन्तर्गत टुंग्याउनुपर्छ भन्ने हाम्रो एजेन्डा थियो । यस्ता बुँदाहरूमा अडान नछाड्ने हो भने आफू छलफलमै सहभागी नहुने भनेर उहाँ (गौतम) बीचमै उठेर हिँड्नुभयो ।’
छलफलमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनाल, सचिव गौतम लगायत सरकारी प्रतिनिधि थिए भने जेनजीको तर्फबाट मोनिका निरौला, आकृति घिमिरे, साङ्केन याम्फु राई, महेश खनाल र सात प्रदेशका संयोजकहरूको प्रतिनिधिको रूपमा कोशी प्रदेश संयोजक उपार्जुन चाम्लिङ सहभागी थिए ।
गत कात्तिक २८ गते सबै समूहका जेनजीहरु एक ठाउँमा आएर एउटा साझा मस्यौदा तयार गरेका थिए । उक्त मस्यौदालाई प्रधानमन्त्री कार्यालयमा छलफल गरेर टुंग्याउने र राष्ट्रपतिबाट अनुमोदन गराउने जेनजीहरुको योजना छे । त्यही योजना अन्तर्गत भएको छलफलको बीचमै सचिव गौतम उठेर हिँडेपछि छलफल निष्कर्षमा नपुगी टुंगिएको छ ।

Leave a Reply