
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता प्रक्रिया शुरु गरेको छ । बुधवार एक कार्यक्रमबिच प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले दर्ता तथा अभिलेखीकरण सफ्टवेयर शुभारम्भ गरेका हुन् ।
प्राधिकरणले ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–०८२’ (पहिलो संशोधन) जारी गरेर सहकारी दर्ताका लागि आह्वान गरेको हो ।
प्राधिकरणले बुधवार अनलाइन पोर्टल सार्वजनिक गर्दै सहकारी संस्थालाई दर्ताका लागि दिइएको अवधि गणना हुने बताइएको छ । दर्ता हुने सहकारी संस्थाले प्राधिकरणले दर्ता अभिलेखीकरणका लागि आह्वान गरेको मितिले ६० दिनभित्र विद्युतीय प्रणालीमा विवरण प्रविष्ट गरिसक्नु पर्नेछ ।
प्राधिकरणले सहकारी संस्था दर्ता अभिलेखीकरण÷सञ्चालन इजाजत पत्र दस्तुर तोकेको छ । प्राधिकरणमा दर्ता हुन एक हजारदेखि १५ हजारसम्मको शुल्क निर्धारण गरिएको छ ।
कुल सम्पत्ति वा कुल पुँजी तथा दायित्व २ करोडसम्मका सहकारीलाई एक हजार रुपैयाँ दस्तुर लाग्नेछ । यस्तै, २ देखि १० करोडसम्मका सहकारीलाई ३ हजार, १० भन्दा बढीदेखि २५ करोडसम्मका सहकारीलाई ५ हजार, २५ करोडदेखि ५० करोड सम्मका सहकारीलाई ७ हजार रुपैयाँ दर्ता दस्तुर लाग्नेछ ।
गत आर्थिक वर्षको अडिटेड वित्तीय विवरण अनुसार कूल सम्पत्ति वा कूल पुँजी तथा दायित्व ५० करोडदेखि १ अर्बसम्म भएका सहकारीलाई १० हजार रुपैयाँ शुल्क लाग्नेछ । यसैगरि १ अर्बभन्दा बढीका सहकारीलाई १५ हजार शुल्क तोकिएको छ ।
प्राधिकरणले तोकेको दस्तुर राष्ट्रिय वाणिज्य बैंक पुल्चोक शाखामा रहेको राष्ट्रिय सहकारी नियमन प्राधिकरणको खातामा जम्मा गर्न सकिने प्राधिकरणले जनाएको छ ।
सहकारीको दर्ता तथा अभिलेखीकरणका लागि अभियानले सहयोग गर्नुपर्ने प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले बताए । उनले भने, ‘अभियानले नै यो कामलाई सघाउनुपर्छ र सघाउँछ भन्नेमै विश्वस्त छौँ । अभियानसँग जतिको जनशक्ति परिचालन क्षेत्रगत रूपमा, भूगोलगत रूपमा हामीसँग छैन । अब अघि राष्ट्रिय सहकारी बैंकको सीइओले हामीसँग एउटा नेटवर्क छ, हामी पनि सघाउँछौ भन्नुभएको छ । यहाँहरूले पनि त्यो सघाउनुहुन्छ । नेफ्स्कून, महासंघ र अरू सबै जिल्ला संघहरु तथा अध्यक्षहरूले पनि भन्नुभएको छ ।’
अहिले सहकारीको ट्रयाकिङ गर्नुपर्ने ठूलो आवश्यकता रहेको उनले बताए । अध्यक्ष शर्माले भने, ‘सहकारीलाई हाम्रो अभिलेखीकरणमा आबद्ध गरौँ भन्ने मनसायले नै यो गरिएको हो । अब हामीसँग ट्रयाकमा ट्रयाकिङ गर्नुपर्ने ठूलो आवश्यकता छ । त्यस कारणले नै पहिलो प्राथमिकतामा हामीले सबै मिलेर प्रारम्भिक सहकारी (बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई) यो हाम्रो अभिलेखीकरणमा आबद्ध गरौँ ।’
पढौँ यो पनि– सहकारी दर्तामा नयाँ व्यवस्था: के-के चाहिन्छन् कागजात, कति लाग्छ शुल्क ? (पूरा विवरणसहित)

Leave a Reply