पूर्णबहादुरको सन्देश- पार्टी फुट्ने कुनै निर्णय गर्दिनँ, विवादित निर्णय गर्नुपरे जिम्मेवारी छाड्न तयार छु

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन विवादमा सहमति खोज्न निरन्तर प्रयास गरे पनि अहिलेसम्म कुनै प्रगति भएको छैन।

खड्का दिउँसो करिब १२ बजेदेखि नै केन्द्रीय सदस्य रमेश लेखकलाई साथमा लिएर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग निरन्तर छलफलमा छन्।

महामन्त्रीहरुसँग खड्काले निरन्तर छलफल गरे पनि अहिलेसम्म सहमतिको कुनै मिलनबिन्दु नभेटेको एक नेताले बताए। महामन्त्रीद्वयले चुनावअघि नै नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान छाडेका छैनन्।

ती नेताले भने, ‘पूर्ण दाइले पार्टी फुट्ने गरी कुनै निर्णय गर्दिनँ, बरु कार्यवाहक सभापतिको जिम्मेवारी छाड्न तयार रहेको सङ्केत देखाउनुभएको छ। विवादित निर्णय आफ्नो हातबाट नहुने कुरा उहाँको प्रस्ट छ। बिहानदेखि नै रमेश लेखकलाई साथमा लिएर दुई महामन्त्रीसँग छलफलमा हुनुहुन्छ।’

मिति घोषणा गरेर नियमित महाधिवेशनको प्रक्रिया अघि बढाउने, सकेको बेलामा गर्ने भन्ने प्रस्ताव खड्काले राखेको भएपनि महामन्त्रीहरूले नमानेको ती नेताले बताए। महामन्त्रीहरूले अब महाधिवेशनको मिति नभए महाधिवेशन नै चुनावअघि नै हुनुपर्ने अडानमा राखिरहेका छन्।

परिस्थिति जटिल रहेको भन्दै भोलिसम्म सहमति जुटाउने प्रयास जारी रहने संस्थापन पक्षका ती नेताले बताए।

महाधिवेशनबारे निर्णय लिनको लागि भोलि केन्द्रीय समिति बैठक बोलाइएको छ। तर संस्थापन पक्षका नेताहरू चुनावअघि कुनै महाधिवेशन गर्न नसक्ने पक्षमा छन्।

असोज २८ गतेदेखि जारी केन्द्रीय समिति बैठक टुङ्गिन नसक्दा खड्कामाथि चर्को दबाब छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *