रिक्साको भाडा नदिएको निहुँमा रक्सीले मातेका छोराले गरे बाबुको हत्या, आमा पनि घाइते

रुपन्देही । पूर्वीनवलपरासीको हुप्सेकोट-१ जुगेपानीका ६० वर्षीय रामबहादुर बिक र ५८ वर्षीय धनीसराका तीन सन्तान । दुई छोरा र एक छोरी । दु:खसास्ती गरेर हुर्काए, बढाए । आर्थिक स्रोत कमजोर भए पनि जेनतेन पढाए । बिहेबारी गरिदिएपछि सुखका दिन सुरु होला भन्ने लागेको थियो । मंगलबार राति जेठो छोरोले मदिराको तालमा वितण्डा मच्चायो । कुटपिट गरेर बुवाको हत्या गर्‍यो । आमालाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनायो ।

३० वर्षीय जेठो छोरो सन्तबहादुर घरमा बस्थ्यो । कान्छा बुटवलमा सवारी साधन चलाउँथ्यो । छोरीको बिहे भएर गइसकेकी थिइन् । जेठाकी श्रीमती विदेश । घरमा रामबहादुर र धनीसरासँगै १० वर्षकी छोरी मात्रै ।

घरपरिवार र स्थानीयका अनुसार मंगलबार रातिसम्म सन्तबहादुर घरमा नआएपछि बुवाआमाले फोन गरेर छिटै बोलाए । धेरैजसो मदिरा सेवन गर्ने सन्तबहादुरलाई समस्यामा पर्‍यो कि भनेर बाआमा फोन गरिरहेका थिए । अत्यधिक मदिरा सेवन गरेको सन्तबहादुर राति ११ अटो चढेर रिसाउँदै घर आइपुग्यो । घरको गेटनिर आएपछि अटोको भाडा तिर्नलाई आमा धनीसरा र बुवा रामबहादुरलाई पैसा माग्यो ।

आम्दानीको स्रोत केही छैन दिनदिनै रक्सी खाएर कसरी परिवार चलाउने ? कसरी अटोको रकम तिर्ने भन्दै पालैपालो बुवाआमाले गाली गरेपछि रिसले चुर भएको सन्तबहादुरले सुरुमा आमा र त्यसपछि बुवामाथि जाइलाग्यो ।

अटो भाडाको निहुँमा राति ११ बजेपछि घरमा आएका सन्तबहादुरले झगडा गरेका रहेछन्, अत्यधिक मदिरा सेवन गरेकाले उनी होसमा थिएनन्, बाबुआमाले नदिएपछि आक्रमण गरेर दुवैलाई गम्भीर घाइते बनाए, तत्काल छिमेकीले प्रहरीलाई खबर गरेको ५ मिनेटमै प्रहरी आइपुग्यो, तर अस्पताल लगेको केही समयमै बुवाको मृत्यु भयो, आमाको भने मुखमा चोट लागेपनि अरु खतरा देखिएन ।’ छिमेकी हुप्सेकोट १ का वडाध्यक्ष प्रेमबहादुर घर्तीले नेपाल प्रेससँग भने ।

उनका अनुसार सन्तबहादुरले नियमित मदिरा सेवन गर्ने र घरमा कोही नभएको समयमा यस्तो घटना भएको हो ।

’घरमा बुढाबुढीसँग सानी १० वर्षकी नातिनी मात्रै थिइन्, सन्तबहादुरकी श्रीमती विदेशमा छन्, कान्छा छोरा बुटवलमा बस्छन् छोरीको बिहे भइसकेको छ, राति भएकाले नातिनी पनि सुतिसकेकी थिइन् होला, मात्तिएका छोरा जाइलागे पनि प्रतिकार गर्ने कोही भएन, निकै दुःखद घटना भयो ।’ वडाध्यक्ष घर्तीले भने ।

जिल्ला प्रहरी कार्यालयक नवलपुरका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले घटनालगत्तै प्रहरी घटना स्थलमा पुगेको बताए । उनले गम्भीर घाइते दुवै जनालाई मध्यविन्दु अस्पतालमा पुर्‍याए पनि बाबुलाई बचाउन नसकिएको बताए । आमाको भने स्वास्थ्यमा सुधार आएको छ ।

‘घटना अनुसन्धानकै क्रममा छ, रातिको समय घर पुगेको करिब १२ बजेतिर बुवाआमालाई मुक्का हानेर पल्टाएको सूचनापछि प्रहरी पुग्दा घटनास्थलमै अभियुक्तलाई पक्राउ गरिएको हो, प्रहरी निरीक्षक गुरुङले भने, घटना घरायसी विवादकै कारण भएको सुनिएको छ तर सबै अनुसन्धान नभएकाले अहिले कारण खुलेको छैन, शव पोष्टमार्टम गरेर पठाइएको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *