
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीले लुम्बिनी प्रदेशका १२ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। निर्वाचनको समय नजिक आएसँगै विभिन्न जिल्लामा समन्वयका लागि केन्द्रीय विभाग तथा केन्द्रीय कमिटी सदस्यहरूलाई यी जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाइएको हो ।
रास्वपाले पश्चिम नवलपरासीमा डाक्टर पुष्पमणि खराल, कपिलवस्तुमा गोपाल घिमिरे, पाल्पामा इस्रा मुल्ला मिया, गुल्मीमा अशोक टण्डन, अर्घाखाँचीमा विशाल अधिकारी, रुपन्देहीमा अर्जुन अधिकारी, बाँकेमा असिम शाह, रुकुमपूर्वमा लक्ष्मी तिवारी, रोल्पामा क्रान्तिशिखा धिताल, बर्दियामा कमल सुवेदी, दाङमा डाक्टर कृष्ण भेटवाललाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाएको हो । प्रदेशमा १२ जिल्ला रहे पनि अहिले पठाइएको सर्कुलरमा प्युठान छुटेको छ ।
सहमहामन्त्री विपिन आचार्यका अनुसार सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाइएको र सर्कुलरमा लेख्दा प्युठानको नाम छुटेको हुनसक्ने जनाए । ‘केही दिनअघिको बैठकले गरेको निर्णय आज सार्वजनिक भएको हो, जिल्लामा उहाँहरूलाई समन्वय गर्न जिम्मेवारी दिइएको हो’ उनले भने–‘अब निर्वाचनमा जानुपर्ने भएकाले सबै निर्वाचन क्षेत्र विशेषका कार्यक्रम गर्नुपर्ने भएकाले कुनै समस्या आए उहाँहरूले समन्वय गर्ने गरी पठाइएको हो ।’
रास्वपा लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकले कार्यकारी भूमिकामा जिल्लाले नै सबै काम गर्ने भए पनि कुनै विवाद आए समन्वयको जिम्मेवारी केन्द्रीय प्रतिनिधिलाई दिइएको जनाए । उनका अनुसार बुधवार नै पार्टीको प्रदेश कमिटी बैठक बसेर सबै जिल्लाका निर्वाचन क्षेत्रमा चुनाव केन्द्रित कार्यक्रम गर्ने निर्णय भएको छ ।
‘केन्द्रीय प्रतिनिधिले सहजीकरण गर्ने हो, धेरैजसो केन्द्रीय विभाग र केही केन्द्रीय सदस्य हुनुहुन्छ’ उनले भने–‘आज प्रदेश कमिटीको बैठक बसेर निर्वाचनमा सशक्त बनाउने र प्रदेशका साथीहरूलाई जिम्मेवारी दिएर निर्वाचन क्षेत्र फोकस गर्ने निर्णय गरेका छौँ ।’ उनले अब निर्वाचन आउन समय धेरै नभएकाले तयारी सुरु गरेको जनाए ।

Leave a Reply