
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेलामा चारजना केन्द्रीय सदस्य पुगेका छन् । केन्द्रीय समितिलाई दबाब दिन राष्ट्रिय सभागृहमा जारी विशेष महाधिवेशन पक्षधरको भेलामा चार केन्द्रीय र दुई प्रदेश सभापति पुगेका हुन् ।
भेलामा केन्द्रीय सदस्यहरू मधु आचार्य, तारामान गुरुङ, प्रतिमा गौतम र अजयबाबु सिवाकोटी, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन पनि सहभागी छन् ।
कांग्रेसमा चुनावपछि महाधिवेशन गर्ने कि अघि गर्ने भन्ने विषयमा चर्को विवाद छ । त्यसबारे असोज २८ गतेदेखि जारी केन्द्रीय समिति बैठकले निर्णय लिन सकेको छैन । उनीहरूले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउन केन्द्रीय समितिलाई दबाब बढाइरहेका छन् ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित असोज २९ गते उनीहरूले प्रस्ताव दर्ता गरेका थिए । विधानअनुसार पुस २९ भित्र विशेष महाधिवेशन गरिसक्नुपर्ने भए पनि संस्थापन पक्षले टार्न खोजेको भन्दै उनीहरू रुष्ट छन् ।

Leave a Reply