
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले १५ औँ महाधिवेशन समयमै नगर्ने देखेपछि बाध्य भएर विशेष महाधिवेशनको अभियान चलाएको बताएका छन् ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेलालाई सम्बोधन गर्दै जेनजी आन्दोलन देशको राजनीतिसँगै पार्टी नेतृत्व पनि परिवर्तन अपरिहार्य भएको बताए। उनले २४८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर केन्द्रीय कार्यालयमा आफूहरूले बुझाएको बताए।
उनले भने, ‘हामीले झन्डै ५५ प्रतिशत प्रतिनिधिको हस्ताक्षरको दस्तावेज बुझाइसकेका छौँ। कार्यवाहक सभापतिलाई बझाउँदै भन्यौँ, यो विधान विपरीत कार्य होइन, यो बिपी कोइराला र सुवर्णसम्शेरले प्रयोग गरेको बाटो हो। विधानले देखाएको विकल्प हो।’
कांग्रेसले अब सत्ताको आहालमा बस्दा लागेको हिलो पखाल्नुको विकल्प नभएको बताए ।
उनले भने, ‘विगतमा गल्ती कमजोरी भयो, अब त्यही कुरालाई बोध गरेर बस्ने होइन । कमीकमजोरी सच्याएर अघि बढ्ने हो । तर केन्द्रीय कार्यसमितिको बैठक विश्वमा कीर्तिमान राख्ने गरी डेढ महिनादेखि बसिरहेको छ । सबैभन्दा लामो बैठक चिनियाँ कम्युनिस्ट पार्टीका २३ दिन बसेको रहेछ । तर, संसारका कीर्तिमानहरूलाई भंग गरेर बैठक बसिसक्दा पनि निष्कर्षमा पुग्न सकेका छैनौँ ।’
उनले भोलिको बैठक पनि सर्ने हल्ला आफूले सुनेको बताए ।

Leave a Reply