
रुपन्देही । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग बुटवलका उद्योगी व्यवसायीले व्यावसायिक सुरक्षा माग गरेका छन् ।
लुम्बिनी प्रदेश सुरक्षा परिषद्को बैठकमा सहभागी हुन आएका कार्कीसँग बुटवलमा गरिएको छलफलमा व्यवसायीहरूले हरेक आन्दोलनको पहिलो सिकार हुनुपरेको भन्दै त्यसको सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्तिप्रसाद अधिकारीका अनुसार छलफलमा संघका पूर्वअध्यक्ष, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरू, यस क्षेत्रका प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो ।
व्यवसायीले आईजीपी कार्की यसै क्षेत्रका भएकाले पनि यस क्षेत्रका उद्योगी व्यवसायीसहित आम नागरिकले अरूभन्दा बढी आशा, अपेक्षा र विश्वास पनि गरेको जनाएका थिए ।
उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाले निजी क्षेत्र त्रसित र अन्योलमा परेको जानकारी गराएका छन् ।
उनले यस्ता गतिविधिमा संलग्नलाई चाँडो पहिचान गरी कानुनी कारबाही गर्न र भरपर्दो सुरक्षा वातावरण सुनिश्चित गर्न आग्रह गरे ।अध्यक्ष अर्यालले निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उद्योगी व्यवसायलाई भयरहित वातावरणमा सञ्चालन गर्न नसकिए अर्थतन्त्रमा गम्भीर असर पर्ने बताए । उनले भने, ‘मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी योगदान रहेको निजी क्षेत्र सुरक्षित नहुँदा मुलुककै आर्थिक स्थिरता संकटमा पर्न सक्छ ।’
छलफलमा आईजीपी कार्कीले उद्योग, व्यापार र लगानी सुरक्षित रहे देश समृद्धितर्फ अघि बढ्ने भएकाले निजी क्षेत्रलाई सुरक्षाको सम्पूर्ण प्रत्याभूति दिलाउने प्रतिबद्धता व्यक्त गरे ।
भारत र चीनजस्ता छिमेकी मुलुकले औद्योगिक विकास र निर्यात वृद्धिका आधारमा तीव्र आर्थिक प्रगति हासिल गरेको उल्लेख गर्दै उनले नेपालमा पनि निजी क्षेत्र र सरकारबीच समन्वय बलियो बनाउनुपर्ने धारणा राखे ।
आईजीपी कार्कीले नेपाल प्रहरीले सुरक्षामा कुनै कमी हुन नदिने बताउँदै भने, “चन्दा उठाउने, चोरी डकैती गर्ने र उच्छृङ्खल गतिविधि देखाउनेलाई कानुनी दायरामा ल्याइन्छ । उद्योगी व्यवसायी ढुक्क भएर काम गर्न सक्ने वातावरण बनाउने जिम्मा प्रहरी प्रशासनले लिन्छ ।”

Leave a Reply