
काठमाडौं । अबको चौबीस घण्टा नेपाली कांग्रेसका लागि निर्णायक छन् । विहीबार २ बजे सानेपामा बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकले महाधिवेशनबारे कुनै न कुनै निर्णय लिनुपर्नेछ । कांग्रेस नेतृत्वलाई बैठक सारेर थप संवाद गर्ने अवसर त छ तर संस्थापन र इतर दुवै पक्षलाई तत्काल निष्कर्षमा पुग्न दबाब छ ।
पुसभित्र नियमित महाधिवेशन गर्ने गरी कार्य तालिका ल्याउन संस्थापन पक्ष तयार देखिन्छ । तर, उसको सर्त छ -पहिले विशेष महाधिवेशनको हस्ताक्षर फिर्ता हुनुपर्छ । विशेष महाधिवेशनको माग गरिरहेको संस्थापन इतर पक्ष नियमित महाधिवेशन महामन्त्री गगन थापाले प्रस्ताव गरेको पुस १६ गतेदेखि हुने गरी तालिका ल्याउन तयार छ । उसको सर्त छ – हस्ताक्षर फिर्ता हुँदैन, कार्य तालिका अनुसार काम नभए पुस २७ भित्र विशेष महाधिवेशन हुन्छ ।
दुवै पक्षका एक-एक अडान र एक-एक सर्तका कारण सहमतिको सम्भावना क्षीण हुँदै गएको छ । सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनका पक्षमा छैनन् । विशेष महाधिवेशन हुनु आफ्नो व्यक्तिगत अपमानको विषय हुने भन्दै देउवाले सहमतिका लागि पुसभित्र नियमित महाधिवेशनमा सहमति जनाएका छन् ।
देउवाको दूतका रूपमा महामन्त्री गगन थापासँग केन्द्रीय सदस्य रमेश लेखक निरन्तर संवादमा छन् । विशेष महाधिवेशनको हस्ताक्षर फिर्ता गर्न महामन्त्री थापा तयार छैनन् । ‘हामीलाई महाधिवेशनको तालिका होइन महाधिवेशन चाहिएको हो’, गगनले लेखकमार्फत देउवालाई भनेका छन् । सिंगापुरबाट फर्किएको २ साता पुग्न लागे पनि सभापति देउवा र महामन्त्री थापाबीच भेट भएको छैन ।
शीर्ष तहमा सहमति जुट्न नसकेको खबर मिडियाका हेडलाइनमा मात्रै सीमित छैनन् । कांग्रेसका कार्यकर्ताहरूसम्मले भेउ पाइसकेका छन् । त्यसैले उनीहरूले बुझिसकेका छन्- की कांग्रेस फुटको संघारमा छ ।
‘हिजोसम्म मिल्छ होला भनेर फोन गर्ने साथीहरू अहिले फुट्छ होला भनेर फोन गर्नुहुन्छ । रुख हामीसँग रहन्छ की अरु केही छ भनेर सोध्नुहुन्छ’, कांग्रेसका एक नेताले भने । ती नेताका अनुसार नेताहरू विभाजनबारे प्रस्ट नभए पनि तल्लो तहसम्म पार्टी फुट्न सक्ने सन्देश प्रवाह भइसकेको छ ।
किन जुटेन सहमति ?
गत असोज २८ गते ५४ प्रतिशत कांग्रेस महाधिवेशन प्रतिनिधिहरूले पार्टीको विशेष महाधिवेशन बोलाउन माग गर्दै हस्ताक्षरसहितको पत्र कांग्रेस कार्यालयमा दर्ता गरेका छन् । डेढ महिनासम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकले अन्य धेरै विषयमा धारणा तय गरे पनि महाधिवेशनबारे ठोस निर्णय गर्न सकेन ।
विहीबार २ बजे बस्ने भनिएको कांग्रेस बैठकबाट महाधिवेशनबारे निर्णय लिइने अपेक्षा धेरैको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग सहमति जुटे सहमति बमोजिमको प्रस्ताव ल्याउने संस्थापन पक्षको तयारी छ । अन्यथा केन्द्रीय समितिको बहुमतले निर्वाचनपछि महाधिवेशन गर्ने निर्णय गराउने छ । हालै निर्वाचनपछि महाधिवेशन गराउनुपर्छ भन्नेमा सहमत संस्थापन पक्षका नेताहरूको बैठकमा ९८ जना केन्द्रीय सदस्य उपस्थित थिए ।
संस्थापन पक्षले विशेष महाधिवेशनको एजेण्डा स्वीकार नगरे दुर्भाग्यपूर्ण अवस्था निम्तने महामन्त्री विश्वप्रकाश शर्माको भनाई छ । ‘विशेष महाधिवेशनको ब्याक गियर छैन । नियमित महाधिवेशन नभए पुसभित्र विशेष महाधिवेशन हुन्छ । विशेष महाधिवेशन नभए दुर्भाग्य हुन्छ’, महामन्त्री शर्माले भनेका छन् । शर्माले संकेत गरेको दुर्भाग्यपूर्ण परिस्थिति नै कांग्रेसको विभाजन हो ।
कांग्रेस केन्द्रीय समितिमा संस्थापन पक्षको प्रचण्ड बहुमत छ । बहुमत हुँदाहुँदै विशेष महाधिवेशनको एजेन्डा संस्थापन पक्षले स्वीकार गर्ने देखिँदैन । नियमित महाधिवेशन पुसभित्र हुने विषय समयको चापका कारण टर्दै गइरहेको छ । महामन्त्री थापा स्वयंले केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा नियमित महाधिवेशनको सम्भावना टर्दै गएकोले विशेष महाधिवेशन हुनुपर्ने बताएका थिए । विशेष महाधिवेशन गर्न संस्थापन पक्ष तयार नहुने र नियमित महाधिवेशनको कार्यतालिकामा विशेष महाधिवेशन पक्षधर विश्वस्त नभएकाले कांग्रेसभित्र विभाजनको खतरा बढेको छ ।
बहुमत परीक्षणको प्रयत्न
कांग्रेस केन्द्रीय समितिमा संस्थापन पक्षको बहुमत छ । जो चुनावअघि कुनै पनि महाधिवेशन चाहँदैनन् । महाधिवेशन प्रतिनिधिहरूमा विशेष महाधिवेशन पक्षधरको बहुमत देखिन्छ । जो पुस २७ भित्र विशेष महाधिवेशन हुनै पर्छ भन्नेमा छन् । अब उपलब्ध दुई बहुमतमध्ये कुन बहुमतले चार तारे झन्डा र रुखको स्वामित्व पाउने भन्नेतर्फ कांग्रेस विवाद अग्रसर छ ।
‘बहुमत महाधिवेशन प्रतिनिधिले माग गरेपछि विशेष महाधिवेशन हुनुपर्ने विधानको व्यवस्था हो । केन्द्रीय समितिले निर्णय गरेन भने केन्द्रीय कार्यालयले विशेष महाधिवेशन बोलाउँछ । विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छ र निर्वाचन आयोगमा पार्टी अद्यावधिक गर्छ’, विशेष महाधिवेशन पक्षधर एक नेताले भने । विशेष महाधिवेशन पक्षधरले पार्टी फुटाउने नभई विधानसम्मत ढंगले पार्टीलाई नेतृत्व दिने उनको भनाइ छ ।
संस्थापन पक्ष भने विशेष महाधिवेशन केन्द्रीय समितिबाहेक अरूले बोलाउन नमिल्ने दाबी गर्छ । ‘विशेष महाधिवेशन माग गर्न ४० प्रतिशतले पनि पाइयो ५४ प्रतिशतले पनि पाइयो तर महाधिवेशनको आयोजक केन्द्रीय समितिबाहेक अरु कोही हुन पाएन’, संस्थापन पक्षका नेताको भनाई छ । केन्द्रीय समितिमा सहमति भएका विषय सहमतिबाट र नभएका विषय बहुमतबाट निर्णय हुने प्रचलन रहेको भन्दै ती नेताले केन्द्रीय समितिको क्षेत्राधिकारमा कुनै पदाधिकारीले हस्तक्षेप गर्न नसक्ने बताए ।
के कांग्रेस फुट्दैछ ?
कांग्रेसमा मध्यमार्ग कमजोर देखिन्छ । यसर्थ केन्द्रीय नेताहरू पार्टी विभाजनतर्फ अग्रसर भइरहेको प्रस्ट देख्छन् । महाधिवेशन प्रतिनिधिको बहुमतको निर्णय मान्ने वा केन्द्रीय समितिको निर्णय मान्ने भन्ने विषय अब न्यायिक निरूपणमा जाने सम्भावना छ । ‘केन्द्रीय समितिले विशेष महाधिवेशन नबोलाए, बहुमत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन गर्नहुन्छ र पार्टीको आधिकारिक स्वामित्व ग्रहण गर्नुहुन्छ । यसलाई विभाजन भन्न मिल्दैन होला’ , विशेष महाधिवेशन पक्षधर अधिकांश नेताको तर्क छ ।
कांग्रेसको संस्थापन पक्षका केन्द्रीय सदस्य जितजंग बस्नेत पार्टी विभाजनको सम्भावना बढेको बताउँछन् । ‘महामन्त्रीद्वयले कांग्रेस फुटाउँदै हुनुहुन्छ । उहाँहरूको गतिविधि, प्रयत्न विभाजन उन्मुख छ’, बस्नेतले नेपाल प्रेससँग भने । कांग्रेस नफुटोस् भन्ने चाहना आम कार्यकर्ता र शुभेच्छुकमा भए पनि महामन्त्रीहरूमा नदेखिएको बस्नेतले दाबी गरे ।
महामन्त्री निकट कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम भने विभाजनको हल्ला गर्नेहरूले पार्टी फुटे पनि फुटोस् भन्ने चाहेको बताउँछिन् । ‘नेपाली कांग्रेस फुट्दैन । जसले फुट्छ भनेका छन् उनीहरूमै फुटको मानसिकता छ’, गौतमले नेपाल प्रेससँग भनिन् । विगतमा पार्टीले विभाजनको चोट व्यहोरिसकेको भन्दै उनले नेताहरूले जिम्मेवार ढंगले पार्टीलाई सुधारको बाटो लैजानुपर्ने बताइन् । ‘पार्टीका बहुमत महाधिवेशन प्रतिनिधिहरूले सुधार चाहेका छन् । पार्टी नेतृत्वले सुधारलाई स्वीकार गर्नुपर्छ’, उनले भनिन् ।
कांग्रेसमा विवाद वा विभाजन दुवै नौलो विषय होइनन् । हालको नेपाली कांग्रेसको स्थापना नै तत्कालीन २ पार्टी नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीचको एकताबाट भएको थियो । २०५९ सालमा गिरिजाप्रसाद कोइराला सभापति रहँदा हालका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए ।
आन्तरिक विवाद चुलिँदा कांग्रेस विभाजन भई देउवाकै नेतृत्वमा नेपाली कांग्रेस प्रजातान्त्रिक स्थापना भएको थियो । २०६४ सालमा संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा दुवै कांग्रेसबीच पुनः एकता भएको थियो । पछिल्लो विभाजन र एकताको १८ वर्षपछि कांग्रेस फेरी विभाजनको संघारमा छ ।
यो समाचार लेख्नुअघि कांग्रेसभित्रको सबै शक्ति समीकरणमा उभिएका दर्जन बढी प्रभावशाली नेताहरूसँग विमर्श गरिएको थियो । के कांग्रेस फुट्दैछ ? भन्ने जिज्ञासामा कसैले पनि फुट्दैन भन्न सकेनन् ।

Leave a Reply