
पाकिस्तान र त्यहाँको राजनीतिको चर्चा हुँदा पाकिस्तानी सेनाको राजनीतिक भोकबारे चर्चा नगरी पूरा हुँदैन । अल्लाहको नाममा आर्मीले अदालतलाई नियन्त्रणमा लिएर पाकिस्तान चलाइन्छ । यसै महिना पाकिस्तानको संविधानमा २७औँ संशोधन गरी केही गम्भीर परिवर्तनहरू ल्याइएको छ, जसले पाकिस्तानी सेना र यसको शीर्ष नेतृत्वलाई, विशेषगरी सेना प्रमुखलाई विस्तारित विशेषाधिकार प्रदान गरेको छ ।
जस्तै- रक्षा बल प्रमुख (चिफ अफ डिफेन्स फोर्सेज) पदको सिर्जना र त्यसलाई फिल्ड मार्सल असिम मुनिरले सम्हाल्ने, आजीवन उन्मुक्ति (यसअन्तर्गत शीर्षस्थ सैन्य अधिकारीहरूलाई फौजदारी अभियोजन र नागरिक कारबाहीबाट आजीवन उन्मुक्ति प्रदान गरिनेछ), हटाउने कठिन प्रक्रिया (पाँचतारे श्रेणीको अधिकारीलाई हटाउन संसदमा दुईतिहाइ बहुमत चाहिन्छ, जुन निर्वाचित प्रधानमन्त्रीलाई हटाउन आवश्यक साधारण बहुमतभन्दा उच्च थ्रेसहोल्ड हो) र आणविक सम्पत्तिमाथि नियन्त्रण (पाकिस्तानको आणविक शक्तिहरूको निरीक्षण गर्ने राष्ट्रिय रणनीतिक कमान्डलाई प्रभावकारी रूपमा सेनाको अधीनमा राख्दै पहिलाको ‘कलेजियल’ राष्ट्रिय कमान्ड प्राधिकरणबाट नियन्त्रण हटाएको छ, जुन नागरिक निरीक्षण सुनिश्चित गर्न तयार पारिएको थियो) ।
त्यस्तै, न्यायपालिकामाथि प्रभावसम्बन्धी गरिएको संशोधनले सबै संवैधानिक मामिलाहरू सम्हाल्न नयाँ सङ्घीय संवैधानिक अदालत सिर्जना गरेर न्यायपालिकामा पनि महत्त्वपूर्ण परिवर्तनहरू ल्याउँछ र न्यायिक नियुक्ति प्रक्रियाको पुनर्संरचना गर्दछ । जसले कार्यकारी र विस्तारमा सैन्य प्रतिष्ठानलाई न्यायिक नियुक्ति र स्थानान्तरणहरूमा बढी नियन्त्रण दिन्छ ।
पाकिस्तान एउटा यस्तो देश हो, जसको सदुपयोग वा दुरुपयोग गर्ने महाशक्तिहरू अहिले पनि त्यहाँ आफ्नो ‘स्वार्थको पहलवानी’ खेलिरहेको देख्न सकिन्छ । पाकिस्तानको प्रधानमन्त्री शहबाज सरिफ भए पनि सत्ताको लगाम पाकिस्तानी सेनाको नियन्त्रणमा रहँदै आएको छ । हुन त कतिपय आलोचकहरूले फातिमाको यो पुस्तकलाई अमेरिकाविरोधी पुस्तकको रूपमा समेत आलोचना गरेका छन् ।
आर्थिक रूपले ध्वस्त भएको जस्तो आँकडाका बाबजुद पाकिस्तान चर्चामा रहने गरेको छ । गत महिना मैले रुचिका साथ पढेका पुस्तकहरूमध्येको एक हो- “रगत र तरबारका गीतहरू” (सङ्स अफ ब्लड एन्ड स्वर्ड) । सन् १९९६ मा कराँचीको घरबाहिर भएको गोली हानाहानपछि फातिमा भुट्टो १४ वर्षकी थिइन्, जब उनका बुबा मीर मुर्तुजालाई प्रहरीले गोली हानी हत्या गरेको थियो । लेखिका फातिमा भुट्टोले आफ्नो आँखाबाट देखेको उनको जीवनको विवरणलाई गद्य (प्रोज) शैलीमा पाकिस्तानी शक्ति राजनीतिको क्रूर र भ्रष्ट संसारको जीवन्त छाप दिएकी छिन् ।
सन् २०१० मा प्रकाशित ४७० पृष्ठको यो पुस्तक पेन्गुइन, नेसन बुक (यूएस), जोनाथन क्याप (यूके), भिन्टेज जस्ता प्रकाशकहरूले प्रकाशन गरेका छन् । वर्तमान परिवेशमा पाकिस्तान, बलुचिस्तान, बङ्गलादेशलगायतका क्षेत्रमा देखिएको अशान्त राजनीतिक माहोललाई बुझ्न फातिमाको यो पुस्तकले इतिहासलाई बुझ्न र पाकिस्तानमा सेनाको राजनीतिक महत्त्वाकांक्षा सम्बोधित हुँदा त्यसले कस्तो प्रभाव पार्दछ भन्ने कुरा प्रस्ट्याउँछ । समग्रमा भन्दा, पाकिस्तानको आगामी दशा र दिशा बुझ्न यो पुस्तक सहयोगी छ ।
जुल्फिकरको कट्टरपन्थी सोच भर्सेस जियाको जुन्टा
आफ्नो राजनीतिक शासनकालको अन्त्यतिर जुल्फिकरले असफलता बेहोरिरहेका थिए । सार्वजनिक रूपमा जुल्फिकरलाई एक सक्षम र बुद्धिमान् राजनीतिज्ञको दर्जा दिने हेनरी किसिन्जरले पाकिस्तानको आणविक महत्त्वाकांक्षालाई अगाडि बढाएको कारण ठूलो नसिहत दिएका थिए । जुल्फिकरले १९७३ को संविधानमा धेरै पटक संशोधन गरे, सङ्घीय सरकारलाई राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाउन अनुमति दिए । अदालतको शक्तिलाई नियन्त्रित गरे ।
आफ्नो राजनीतिक स्थिति सुरक्षित गर्ने ध्येयका साथ जुल्फिकरले ‘मुस्लिम को हो ?’ भन्ने मापदण्ड परिभाषित गर्न संविधान संशोधन गर्दै सङ्ख्यामा सानो तर भयका कारण शक्तिशाली धार्मिक दलहरूसँग मिलाप गरे । उनले मदिरामाथि प्रतिबन्ध लगाउनेदेखि मनोरञ्जन उद्योगहरूलाई भूमिगत अवस्थामा पुर्याए । शुक्रबार प्रार्थनाको दिन सार्वजनिक बिदा घोषणा गरे ।
सन् १९७४ मा जुल्फिकरले इस्लामिक देशहरूको दोस्रो शिखर सम्मेलनको आयोजना गरे, जसमा मोहम्मद रेजा पहलवी उर्फ शाह-अफ-इरान उपस्थित हुन तयार भएनन् भने आमन्त्रित नगरिए पनि इदी अमिन आइपुगेका थिए । ३८ इस्लामिक देशहरूको उपस्थितिमा सम्पन्न शिखर सम्मेलनको सफलताको घोषणा गर्ने क्रममा जुल्फिकरले भनेका थिए, ‘हामी पाकिस्तान इस्लामको लागि आफ्नो रगत दिनेछौँ ।
संसारमा कुनै इस्लामिक देशमाथि खतरा आउँदा पाकिस्तानले सहयोगको अभाव महसुस हुन दिँदैन ।’ यद्यपि त्यस्तो केही हुन सकेन । अमेरिकाले पाकिस्तानका छिमेकी इरान र अफगानिस्तानमाथि आक्रमण गर्दा पाकिस्तानले नम्रतापूर्वक आफ्नो आकाशको सिमाना खोलिदिएको थियो । फातिमा भन्छिन्- जुल्फिकर जीवित भएको भए पाकिस्तानको यो कदमप्रति घृणा महसुस गर्थे ।
सन् १९७६ मा जब ‘बङ्गालको कसाइ’ भनेर चिनिने जनरल टिक्का खान सेनाबाट अवकाश प्राप्त गरिरहेका थिए, जुल्फिकरले उनको ठाउँमा जिया उल हकलाई पाँच वरिष्ठ जनरलहरूको क्रमसङ्ख्यालाई मिच्दै जनरल पदमा नियुक्त गरे । जुल्फिकर जियालाई आफ्नो अधीनस्थ ठान्थे, यद्यपि जिया धूर्त, महत्त्वाकांक्षी र क्रूर थिए ।
जनरल जियाले जुन्टा (बलपूर्वक सत्ता लिएपछि देशमा शासन गर्ने सैन्य वा राजनीतिक समूह) को पक्षमा न्यायपालिकाको विकास गर्न थाले । १९७७ को आम निर्वाचनपछि व्यापक राजनीतिक अशान्ति र चुनावी धाँधलीको आरोप लागेपछि जनरल जियाले सैन्य विद्रोह गर्दै लोकतान्त्रिक रूपमा निर्वाचित भुट्टोको सरकारलाई अपदस्थ गरिदिए ।
सन् १९७९ आइपुग्दा सरकारमा सेनाको लागि उत्साहको कमी देखाउने न्यायाधीशहरूलाई तुरुन्तै बर्खास्त गरी प्रतिस्थापन गरिएको थियो । नागरिक अदालतहरूको शक्तिमा कटौतीसँगै शासनको आदेश पालना गर्न सरिया अदालतहरू र सैन्य न्यायाधिकरणहरू सिर्जना गरिएको थियो । जियाको शासन अत्यधिक क्रूर मात्र थिएन, सार्वजनिक रूपमा कोर्रा हान्नेदेखि फाँसी दिने व्यवस्थाको गलत अभ्यास सुरु भयो, पाकिस्तानको सबै कार्यालय, व्यावसायिक थलो र विद्यालयहरूमा पाँच पटकको प्रार्थना अनिवार्य गर्यो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्षमा याचिकाका बाबजुद सर्वोच्च अदालतले १९७९ मा दोषी ठहर गर्दै मृत्युदण्डको सजायलाई सदर गर्यो ।
जुल्फिकरलाई फाँसीको सजाय दिइँदा नेपालमा भर्खरै सुरु हुन लागेको दलविहीन पञ्चायती व्यवस्थाविरुद्धको प्रदर्शन ठूलो जुलुसमा परिणत हुँदै विद्यार्थीहरू काठमाडौँमा अवस्थित पाकिस्तानी दूतावासतिर मार्च गरेका थिए । नेपालमा भएको जनमतसङ्ग्रहताकाको इतिहासको चर्चा हुँदा जुल्फिकरको फाँसीलाई एउटा रोमाञ्चक राजनीतिक घटनाको रूपमा चर्चा गरिन्छ ।
बलोचले नेपालजस्तै स्वतन्त्रता चाहेको थियो
फातिमा भुट्टोले आफ्नो पुस्तकमा पाकिस्तान अधीनस्थ बलोचको चर्चा गर्ने प्रसङ्गमा ‘नेपाल’ को स्वतन्त्र हैसियतको चर्चा समेत गरेकी छिन् । दशकौँदेखि बलुचिस्तानीहरू पाकिस्तानबाट आजादीको लडाइँ लडिरहेका छन्, आज पनि । ब्रिटिस राज्यको समयमा बलुचिस्तान मुगल, फारसी र अफगान राज्यहरूको हिस्सा थियो र सांस्कृतिक, भाषिक र जातीय रूपमा यसको जनसङ्ख्यामा थपिएको थियो । उन्नाइसौँ शताब्दीसम्ममा त्यहाँ रहेका चार रियासतहरूमध्ये धेरैजसो ब्रिटिस राजको अधिपत्यमा ल्याइएको थियो । युद्ध र साम्राज्यवादी सङ्घर्षले अहिलेको बलुचिस्तान भनेर चिनिने ठूलो क्षेत्रलाई एकताबद्ध बनायो, जुन खनिज स्रोतसाधनले भरिपूर्ण प्रान्त हो ।
संसारमा कुनै इस्लामिक देशमाथि खतरा आउँदा पाकिस्तानले सहयोगको अभाव महसुस हुन दिँदैन ।’ यद्यपि त्यस्तो केही हुन सकेन । अमेरिकाले पाकिस्तानका छिमेकी इरान र अफगानिस्तानमाथि आक्रमण गर्दा पाकिस्तानले नम्रतापूर्वक आफ्नो आकाशको सिमाना खोलिदिएको थियो । फातिमा भन्छिन्- जुल्फिकर जीवित भएको भए पाकिस्तानको यो कदमप्रति घृणा महसुस गर्थे ।
उपमहाद्वीप टुक्रिन थालेपछि सोधिएको थियो- उनीहरू कहाँ जान चाहन्छन् ? बलोचहरूले न भारत न पाकिस्तान- हामीहरू “नेपालझैँ स्वतन्त्र” बस्न चाहने चाहनाका पक्षमा मतदान गरेका थिए (पृष्ठ-११५) । तर बलुचिस्तानमा केही समय त्यहीँका राजकुमारहरूले शासन चलाए, जसलाई पाकिस्तानी सत्ताले भ्रष्टीकरण गर्दै सेना पठाएर कलातका राजकुमार मीर अहमद यार खानसँग स्वतन्त्रताको बलुचिस्तानी दाबी खारेज गर्ने सम्झौतामा हस्ताक्षर गरायो ।
फातिमाले पुस्तकको गद्य पूरा गर्न पाकिस्तानको बलोच प्रान्तका एकजना बलोच नेता खैर बक्स मारीसँग गरेको कुराकानीको प्रसङ्गसमेत उल्लेख गरेकी छिन् । खैर बक्सले बलुची स्वतन्त्रताको भावनालाई प्रतिनिधित्व गर्दै भनेका रहेछन्, ‘धेरै कम देशहरू स्वतन्त्र छन् । तर, पाकिस्तान अहिले पनि बेलायतीहरूदेखि अमेरिकी साम्राज्यवादीहरूको उपनिवेश नै रहेको छ । उपनिवेशको स्वतन्त्र दृष्टिकोण कसरी हुनसक्छ ?’
त्यसबेलाको भूराजनीति
सन् १९५० को दशकमा धेरैजसो अन्य राष्ट्रहरू जस्तै पाकिस्तान पनि शीतयुद्धको दलदलमा फसेको थियो । त्यतिबेला पनि पाकिस्तानी राजनीतिको डोरी तान्ने सैन्य समूहले तटस्थता वा असंलग्नतालाई विकल्प मानेन । ७ अक्टोबर १९५८ मा जनरल अयुब खानले “अप्रत्याशित कू” गरेर राष्ट्रपति इस्कन्दर मिर्जाबाट सत्ता खोसेका थिए । पाकिस्तानभित्र ठूलो अराजकता र राजनीतिक अनिश्चितताको समयमा सत्तामाथि अवैध कब्जा गर्यो, जसलाई लिएर धेरैजसो पाकिस्तानीहरूमा जनरलले गरेको कब्जाप्रति उदासीनता छाएको थियो ।
तीस वर्षको उमेरमा जुल्फिकर भुट्टो तत्कालीन सरकारमा इन्धन, ऊर्जा र प्राकृतिक स्रोत मन्त्रीको रूपमा काम गर्दै सामेल भएका थिए । १९६० मा जुल्फिकरले सोभियत सङ्घसँग तेल सम्झौताको वार्ता गर्ने संवेदनशील कामको जिम्मा पाएका थिए । जुल्फिकरको भ्रमणले पाकिस्तानभित्र थप तेल अन्वेषणको लागि कोष १२ करोड रुबलको कर्जा र कार्यक्रमको लागि अनुभवी विशेषज्ञहरू र उपकरणहरू आपूर्ति गर्ने सम्झौताको साथ सोभियत सङ्घको वाचा लिएर फर्किएका थिए ।
यता अमेरिकाको साथमा उभिने पाकिस्तानी सत्ताको जिद्दीका कारण सोभियत सङ्घसँग पाकिस्तानको सम्बन्ध सुस्तरी कठिन मोडमा गइरहेको थियो । कस्तो थियो भने, पाकिस्तानका सैन्य तानाशाहहरूले आफूलाई बचाउने वाचा गर्ने कुनै पनि शक्तिलाई अँगालो हाल्ने प्रवृत्ति थियो/छ । तत्कालीन पाकिस्तानी सेनाले पनि आफ्नो सैन्यवादलाई प्रायः सक्षम बनाउने शक्ति संयुक्त राज्य अमेरिका नै हो भनी ठम्याएको थियो । पहिले नै प्रभावशाली रूपमा आफ्नो सेनालाई आधुनिकीकरण गर्ने बहानामा पाकिस्तानले १९५४ मा अमेरिकासँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गर्यो ।
सम्झौताकै एक भागको रूपमा पाकिस्तानलाई सेप्टेम्बर १९५४ मा दक्षिण पूर्वी एसियाली सन्धि सङ्गठन र पछि १९५५ मा केन्द्रीय सन्धि सङ्गठनमा सामेल हुन प्रोत्साहित गरिएको थियो । द्विपक्षीय सम्बन्ध जुल्फिकरको विदेश नीतिको केन्द्रबिन्दु भए पनि जनरल अयुबको नेतृत्वमा पाकिस्तान र चीनबीचको सम्बन्ध गम्भीर रूपमा बिग्रिएको तथ्यलाई बेवास्ता गर्ने कुनै सजिलो उपाय थिएन ।
आफ्नो राजनीतिक शासनकालको अन्त्यतिर जुल्फिकरले असफलता बेहोरिरहेका थिए । सार्वजनिक रूपमा जुल्फिकरलाई एक सक्षम र बुद्धिमान् राजनीतिज्ञको दर्जा दिने हेनरी किसिन्जरले पाकिस्तानको आणविक महत्त्वाकांक्षालाई अगाडि बढाएको कारण ठूलो नसिहत दिएका थिए ।
जनरलले अमेरिकाको लागि ठाउँ बनाउन चीनलाई निरन्तर बाहिर धकेलिरहेका थिए र चीनको चाहनाविपरीत अमेरिकासँगको सम्बन्धले १९६३ मा तीव्र मोड लियो, जब पाकिस्तानको द्विपक्षीय विदेश नीतिका शिल्पकारको रूपमा हेरिने जुल्फिकरले विदेशमन्त्रीको पद सम्हाले । १९६२ मा चीनसँग पाकिस्तानको सम्भावित सम्बन्ध र युवा विदेशमन्त्रीको समाजवादी झुकावको प्रत्याशामा अमेरिकाले स्टेट बैंक अफ पाकिस्तानबाट पाकिस्तानभित्र सञ्चालित अमेरिकी वाणिज्य बैंकहरूलाई क्रेडिट विस्तार सुरु गर्नको लागि ३० करोड रुपैयाँ समकक्षी कोषमा स्थानान्तरण गर्यो, जसलाई पाकिस्तानको लागि स्पष्ट चेतावनीको रूपमा देखिएको थियो ।
बङ्गलादेशलाई पूर्वी पाकिस्तानको आँखाबाट हेर्ने शक्तिहरू वर्तमान पाकिस्तानमा मात्र नभई फिल्ड मार्सलका विदेशी मित्रहरू पनि हुन् । अवामी लिगको मुख्य विपक्षी दल बङ्गलादेश राष्ट्रवादी पार्टी हो, जसको ऐतिहासिक जरो इस्लामवादी पार्टी बङ्गलादेश जमात-ए-इस्लामीसँग गहन गठजोड रहेको छ र १९७१ देखि निरन्तर त्यसको जरो पाकिस्तानमा रहँदै आएको छ ।
पाकिस्तान एउटा यस्तो देश हो, जसको सदुपयोग वा दुरुपयोग गर्ने महाशक्तिहरू अहिले पनि त्यहाँ आफ्नो ‘स्वार्थको पहलवानी’ खेलिरहेको देख्न सकिन्छ । पाकिस्तानको प्रधानमन्त्री शहबाज सरिफ भए पनि सत्ताको लगाम पाकिस्तानी सेनाको नियन्त्रणमा रहँदै आएको छ । हुन त कतिपय आलोचकहरूले फातिमाको यो पुस्तकलाई अमेरिकाविरोधी पुस्तकको रूपमा समेत आलोचना गरेका छन् ।
पाकिस्तानी संविधानविद्, इमरान खानको पार्टीको लोकप्रिय मतादेश कैदखानामा रहेको अवस्थामा ‘डिजुरे प्रधानमन्त्री’ शहबाजलाई विश्वासमा लिएर फिल्ड मार्सलको पहलकदमीमा गरिएको संविधान संशोधन र वर्तमान भूराजनीतिक परिवेशमा यसले निम्त्याउन सक्ने कठोर राजनीतिक कदमहरूको प्रभाव केवल पाकिस्तानमै सीमित नरहने निश्चित छ ।
अन्त्यमा, माथि उल्लेखित संविधान संशोधनलाई इतिहासको कसौटीमा राखेर समीक्षा गरिरहँदा पाकिस्तानसहित सिङ्गो दक्षिण एसियामा पुनः एकपटक ‘रगत र तरबारका गीतहरू’ गुञ्जयमान नहोला भन्न सकिन्न !

Leave a Reply