सिंहदरबारमा दिनैपिच्छे हुलहुज्जत गर्ने ‘नेपो किड्स’ बारे प्रहरीको बेग्लै ब्रिफिङ

काठमाडौं । पछिल्लो समय दिनहुँ सिंहदरबार भित्र र बाहिर जेन-जीका माग पूरा नभएको भन्दै होहल्ला र हुलदंगा गर्ने समूहको नेतृत्व पूर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहका छोराले गरिरहेको प्रहरीले जनाएको छ ।

सिंहदरबारको सुरक्षाका लागि खटिएको प्रहरी गणले प्रभु साहका छोरा विकेश साहसहित मिराज ढुंगाना, सुप्रिया शाहीलगायतका व्यक्तिहरूले विभिन्न समूह बनाएर सिंहदरबार क्षेत्रमा हुलहुज्जत गरिरहेको रिपोर्ट माथिल्लो निकायमा जानकारी गराएको हो ।

सोमबार र मंगलबार उनीहरूले सिंहदरबार परिसरमा हुलहुज्जत र प्रहरीमाथि दुर्व्यवहार गरेका थिए । यो समूहमा मिसिएका प्रभु साहका छोरा जेन-जी आन्दोलनका क्रममा संसद भवन र एमाले केन्द्रीय कार्यालयमा आगजनी गर्नेमा पनि संलग्न रहेको भिडिओ प्रहरीले संकलन गरेको अपराध महाशाखाले जनाएको छ ।

तत्कालीन नेकपा माओवादीबाट पटकपटक सांसद र मन्त्री बनेका प्रभु साह नेकपा विभाजनपछि केही समय एमालेमा लागेर पुनः मन्त्री खाएका थिए । २०७९ को चुनावका बेला उनी एमाले छाडेर तत्कालीन सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदबार बनेर सांसद जितेका थिए ।

कानून, वन तथा वातावरण, सहरी विकास, भूमि व्यवस्था लगायतका मन्त्रालय सम्हालेका साहका छोरा आफैँ नेपो किड्स रहेको भन्दै उनैले अहिले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेर सिंहदरबारमा हंगामा मच्चाइरहेको आरोप जेन-जी अगुवाहरूले पनि लगाएका छन् ।

प्रभु साहकी पत्नी रानीकुमारी साह रौतहटको मौलापुर नगरपालिकाकी मेयर हुन् । उनी २०७४ र २०७९ दुवैपटक मेयर निर्वाचित भएकी थिइन् । विकास साहले केही समयअघि बुबा प्रभु साहलाई प्रमुख अतिथि बनाएर जेन-जी भ्रातृ संगठन पनि गठन गरेका थिए ।

भदौ २३ र २४ मा हिंसात्मक घटनाहरूमा संलग्न रहेका प्रमाणसहित विकेशकाबारे सम्बन्धित निकायमा ब्रिफिङ गरिएको सिंहदरबार प्रहरीले जनाएको छ । भदौ २४ को आगजनी र विध्वंसका बेला धेरै ठाउँमा विकेश पुगेको फोटो र भिडिओ प्रहरीले संकलन गरेको छ ।

उनी संसद भवन, सिंहदरबार, एमाले कार्यालय, भैंसेपाटीस्थित मन्त्री निवासलगायतका स्थानमा आगजनी गर्न पुगेको फोटोहरू आफैँले पनि फेसबुकमा राखेका थिए । तीमध्ये केही फोटो र भिडिओ उनले हटाए पनि प्रहरीले संकलन गरेको जनाएको छ ।

काठमाडौं महानगरपालिकाले हटाएका कबाडीहरूको संगठनका व्यक्तिहरूलाई समेत उनले जेन-जी आन्दोलनका बेला आगजनी र लुटपाटमा संलग्न गराएको पाइएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *