
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्जिन कारोबार सुविधा सम्बन्धी प्रारम्भिक मस्यौदा तयार पारेको छ । सेबोनले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२ (प्रारम्भिक मस्यौदा) तयार पारेर कार्यान्वयनका लागि प्रक्रिया अघि बढाएको हो ।
हाल मार्जिन कारोबार सम्बन्धी सुविधा बैंक तथा वित्तीय संस्था मार्फत हुँदै आएको थियो । अब यस निर्देशन कार्यान्वयनमा आएमा मार्जिन कारोबार सम्बन्धी सुविधा ब्रोकर मार्फत हुनेछ । उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले पनि मार्जिन कारोबारको सुविधा ब्रोकरलाई दिनुपर्ने सुझाएको थियो ।
यसअघि पनि यस्तो निर्देशन जारी गरेपनि कार्यान्वयन हुन सकेको थिएन । अब भने कार्यान्वयनमा लैजाने तयारीमा सेबोन छ । नयाँ मस्यौदा तयार पर्दा नै सेबोनले मार्जिन कारोबार सम्बन्धी निर्देशन, २०७४ खारेज गरेको छ । यसअघिको निर्देशनमा भएको कामकारबाही नयाँ निर्देशनमा समावेश गरिएको सेबोनले जनाएको छ ।
के हो मार्जिन कारोबार ?
मार्जिन कारोबार भन्नाले धितोपत्र व्यवसायी (ब्रोकर) मार्फत तोकिएको मार्जिन लिई शेयर खरिद बिक्रीको सुविधा दिने कार्य हो । जसमा शेयर खरिद गर्न आफूले निश्चित रकम लगानी गरी बाँकी रकम ब्रोकर कम्पनीमार्फत ऋण लिने सुविधा हुन्छ ।
सामान्य भाषामा आफूसँग भएको पैसाले मात्र नपुग्दा ब्रोकरसँग निश्चित रकम ऋण लिएर शेयर खरिद गर्ने सुविधा नै मार्जिन कारोबार हो । प्रस्तावित मस्यौदा अनुसार लगानीकर्ताले शेयर किन्न चाहने कुल रकमको निश्चित प्रतिशत (प्रारम्भिक मार्जिन) आफूले बुझाउनुपर्छ भने बाँकी रकम ब्रोकरले ऋणका रूपमा उपलब्ध गराउँछ ।
मार्जिन कारोबार गर्नु अगाडी लगानीकर्ताले जम्मा गर्नुपर्ने रकम शुरु मार्जिन हो भने कारोबार पश्चात् लगानीकर्ताले कायम गर्नुपर्ने न्यूनतम मार्जिन प्रतिशत रकम सम्भार मार्जिन हो । यदि लगानीकर्ताले सम्भार मार्जिन कायम गर्न नसकेमा ब्रोकरले उक्त मार्जिन कायम गर्न लगानीकर्तालाई मार्जिन कल मार्फत जानकारी दिन्छन् ।
लगानीकर्ताले मार्जिन कारोबार मार्फत शेयर खरिद बिक्री गर्नको लागि ब्रोकरमा मार्जिन कारोबार खाता खोल्नुपर्छ । जसलाई मार्जिन कारोबार हितग्राही खाता भनिन्छ ।
सेबोनले लगानीकर्ताको सुरक्षालाई ध्यानमा राख्दै सबै कम्पनीमा मार्जिन सुविधा नपाइने व्यवस्था गरेको छ । सेबोनले तयार पारेको मस्यौदा अनुसार यसका लागि कम्पनी वित्तीय रूपमा बलियो हुनुपर्नेछ । योग्य हुनका लागि सूचीकृत संगठित संस्थाको कम्तीमा ५० लाख कित्ता शेयर सर्वसाधारणमा सूचीकृत भएको हुनुपर्नेछ ।
यस्तै, नेटवर्थ चुक्ता पुँजी बराबर वा सोभन्दा बढी हुनुपर्ने, पछिल्लो तीन वर्षमा कम्तीमा दुई वर्ष लाभांश वितरण गरेको हुनुपर्ने र आईपीओ जारी गरेको भए सूचीकरण भएको दुई वर्ष पूरा भएको हुनुपर्ने योग्यता तोकिएको छ ।
कस्ता ब्रोकरले दिन पाउँछन् मार्जिन सुविधा ?
सेबोनले तयार पारेको मस्यौदा अनुसार साना र कम पुँजी भएका ब्रोकरले यो जोखिम उठाउन नसक्ने बोर्डको ठहर छ । जस अनुसार सबै ब्रोकरले यो सुविधा दिन सक्ने छैनन् । मार्जिन सुविधा दिन चाहने ब्रोकरको वित्तीय स्वास्थ्य पनि बलियो हुनुपर्ने शर्त बोर्डले राखेको छ ।
नयाँ व्यवस्था अनुसार कम्तीमा २० करोड रुपैयाँ चुक्ता पुँजी भएका ब्रोकरले मात्र यो सुविधा दिन पाउनेछन् । साथै, उनीहरूले राफसाफ सदस्यता प्राप्त गरेको र निक्षेप सदस्यता लिएको हुनुपर्नेछ ।
ब्रोकरले मार्जिन कारोबार सुविधा दिनु अगावै लेखापरीक्षकबाट प्रमाणित आफ्नो वित्तीय विवरण सहित धितोपत्र बजारमा सहमतिको लागि निवेदन पेश गर्नुपर्नेछ । प्राप्त निवेदनमा आवश्यक अध्ययन गरी सहमति प्रदान गर्ने र सोको जानकारी बोर्डलाई समेत गराउनु पर्नेछ ।
यदि यो निर्देशन लागू हुनु अगाडी नै मार्जिन कारोबार सुविधा प्रदान गर्न सहमति लिएको धितोपत्र दलाल व्यवसायीले पुनः सहमति लिइराख्नु पर्नेछैन । तर, यस निर्देशन बमोजिम योग्यता पुगेको कागजात धितोपत्र बजारमा पेश गर्नुपर्नेछ ।
धितोपत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको पाँच गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्नेछ । धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको बढिमा २० प्रतिशतभन्दा बढी मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्नेछैन । धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा प्रदान गर्दा लगानी विविधीकरणलाई समेत ध्यान दिनुपर्नेछ ।
प्रमाणित नेटवर्थको पाँच गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउनका लागि कोल्याटरको व्यवस्था हुनुपर्ने स्टक ब्रोकर एसोसियसनका पूर्व अध्यक्ष भरत रानाभाटले माग राखे । कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटी प्रालिका सञ्चालक समेत रहेका रानाभाटले भने, ‘हामीले त्यसरी नेटवर्थको पाँच गुणासम्म ऋण दिन सकिँदैन । कुनै लगानीकर्ताले सयको शेयर किन्यो भने ७० रुपैयाँ ब्रोकरले ऋण दिनका लागि बैंक तथा वित्तीय संस्थाहरूले कोल्याटरको व्यवस्था गरिदिनुपर्छ ।’

उनका अनुसार ब्रोकरहरूसँग नेटवर्थ भएपनि ऋण उपलब्ध गराउनका लागि पर्याप्त रकम छैन । ब्रोकरसंग पर्याप्त स्रोत नभएकोले यस व्यवस्था संशोधन गर्नुपर्ने रानाभाटले माग राखे । बैंक तथा वित्तीय संस्थाबाट ब्रोकरले ऋण लिन सक्ने सहज व्यवस्था हुनुपर्ने उनको भनाई छ ।
त्यस्तै, सेबोनले तयार पारेको मस्यौदा अनुसार धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा अन्तर्गत खरिद भएको शेयर दैनिक रूपमा कारोबार गर्दा वा कारोबार पश्चात् वा राफसाफको समयमा पहिचान गरी राख्नुपर्नेछ । मार्जिन कारोबार सुविधा प्राप्त गर्ने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायी मार्फत छुट्टै मार्जिन कारोबार खाता र मार्जिन कारोबार हितग्राही खाता खोल्नुपर्नेछ । धितोपत्र दलाल व्यवसायी (राफसाफ सदस्य) ले राफसाफ प्रयोजनका लागि केन्द्रीय निक्षेप कम्पनीमा मार्जिन कारोबार राफसाफ हितग्राही खाता खोल्नुपर्नेछ ।
मार्जिन कारोबार गर्ने लगानीकर्ताको मार्जिन कारोबार हितग्राही खातालाई धितोपत्र दलाल व्यवसायी मार्फत खोलिएको मार्जिन कारोबार खाता र राफसाफ सदस्यको मार्जिन कारोबार राफसाफ हितग्राही खातासँग आबद्ध गर्नुपर्नेछ ।
लगानीकर्तालाई मार्जिन कारोबार सुविधा प्रदान गर्दा धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार खाता र मार्जिन कारोबार हितग्राही खाता सञ्चालन सम्बन्धी अधिकृत वारेसनामा लिन सक्नेछ ।
धितोपत्र दलाल व्यवसायीको कारोबार प्रणालीमा रहेको लगानीकर्ताको कारोबार खाताबाट नै मार्जिन कारोबार सुविधा दिन सकिने अवस्था भएमा छुट्टै मार्जिन कारोबार खाताको आवश्यकता पर्नेछैन ।
तर, अहिले सञ्चालनमै रहेका टिएमएसबाट भने कुन मार्जिन कारोबार हो र कुन होइन भनेर छुट्याउन नसक्ने बताउँछन् रानाभाट । उनी भन्छन्, ‘कस्तो नर्मल र कस्तो मार्जिन कारोबार हो भनेर अहिले टिएमएसले छुट्याउनु सक्दैन । मार्जिन कारोबार गर्दा छुट्याएन छुट्टै टिएमएसले छुट्याउनु पर्ने हुन्छ । यसका लागि छुट्टाछुट्टै खाता बनाउन आवश्यक छ ।’
त्यस्तै, ब्रोकरले मार्जिन कारोबार सुविधा अन्तर्गत खरिद गरेको अनुसूची बमोजिमको विवरण कारोबार भएको भोलिपल्ट मध्यान्ह १२ बजेसम्म धितोपत्र बजारलाई उपलब्ध गराउनुपर्ने छ । उक्त विवरण साप्ताहिक रूपमा बोर्डलाई समेत जानकारी गराउनु पर्नेछ ।
धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा अन्तर्गत कारोबार भएको शेयरको हिसाब किताब तथा लेखा वार्षिकरुपमा लेखापरिक्षण गराई बोर्ड र धितोपत्र बजारलाई आर्थिक वर्ष समाप्त भएको तीन महिना भित्र पेश गर्नुपर्नेछ ।
‘मार्क टु मार्केट’को आधारमा शेयरको मूल्यांकन
शेयर बजारमा उतारचढाव भइरहन्छ । त्यसैले ब्रोकरले दिएको ऋण डुब्न नदिन ‘मार्क टु मार्केट’ (बजार मूल्य अनुसार दैनिक मूल्यांकन) को व्यवस्था गरिएको छ ।
‘प्रारम्भिक मार्जिनको रूपमा लिइएको शेयर र मार्जिन सुविधा अन्तर्गत खरिद भएको शेयरको मूल्यांकन दैनिक रूपमा मार्क्ड टु मार्केटको आधारमा गर्नुपर्नेछ । तर उक्त शेयरको मूल्यमा भएको वृद्धिको आधारमा थप सुविधा दिन पाइने छैन’, मस्यौदामा उल्लेख छ ।
ब्रोकरले सूचीकृत संगठित संस्थाको शेयरको १८० दिनको औषत मूल्य वा बजारको मूल्यमध्ये जुन कम हुन्छ सोको न्यूनतम प्रतिशतले हुन आउने रकम लगानीकर्ता प्रारम्भिक मार्जिनको रूपमा लिनुपर्नेछ । मार्जिन कारोबार सुविधा अन्तर्गत खरिद गरिएको शेयरको विवरण तथा मार्जिन रकमको विवरण ग्राहकको छुट्टाछुट्टै अभिलेख बनाइ राख्नु पर्नेछ ।
ब्रोकरले मार्जिन कल गर्ने तथा शेयर बिक्री गर्ने सम्बन्ध व्यवस्था स्पष्ट रूपमा आफ्नो कार्यविधिमा राख्नु पर्नेछ । शेयर बिक्री पश्चात् सम्बन्धित ग्राहकसँग हिसाब फर्छ्यौट गरी सोको जानकारी धितोपत्र बजारलाई गराउनु पर्नेछ ।
लगानीकर्ताले सम्भार मार्जिन कायम गर्न नसकेमा धितोपत्र दलाल व्यवसायीले लगानीकर्तासँग उक्त मार्जिन कायम गर्न आवश्यक रकम बराबरको धितोपत्र बजारमा सूचिकृत ‘ए’, र ‘बी’ वर्गमा रहेका संगठित संस्थाको शेयर धितो बन्दकीको रूपमा लिन सक्नेछ । उक्त शेयरको मूल्य गणना गर्दा १८० दिनको औषत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ६० प्रतिशतले हुन आउने मूल्यलाई मात्र गणना गर्नुपर्नेछ ।
ब्रोकरले आफ्नै स्रोतबाट, बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर र आफ्नो शेयरधनी वा सञ्चालकसँग असुरक्षित ऋण लिएर मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्नेछ । तर, धितोपत्र दलाल व्यवसायीले शेयरधनी वा सञ्चालकसँग असुरक्षित ऋण लिँदा प्रचलित कम्पनी सम्बन्धी कानूनमा भएको व्यवस्था पालना गर्नु पर्नेछ ।
धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा प्रदान गर्न वाणिज्य बैंकसँग लिएको ऋण र आफ्नो शेयरधनी वा सञ्चालकसँग लिएको असुरक्षित ऋण धितोपत्र दलाल व्यवसायीको नेटवर्थको ४.५ गुणाभन्दा बढी हुनुहुँदैन । कुनै एक ग्राहकको नगद तथा शेयरलाई अन्य ग्राहकलाई मार्जिन कारोबार सुविधा प्रदान गर्न प्रयोग गर्न भने नपाइने भएको छ ।
यो मस्यौदामाथि सेबोनले छलफल गरिरहेको छ । यसलाई मूर्तरूप दिनका लागि सेबोनले राय सुझाव समेत माग गरेको छ । यो मस्यौदा सेबोनले तोकेको मितिदेखि कार्यान्वयनमा आउनेछ ।
मार्जिन कारोबारको नयाँ व्यवस्थाप्रति ब्रोकर व्यवसायीहरू उत्साहित बनेका छन् । सेबोनलाई यसबारे सुझाव दिने तयारीमा स्टक ब्रोकर एसोसियसन छ ।

Leave a Reply