
रुपन्देही । केन्द्रमा १२ दलको एकता भएर नेपाली कम्युनिष्ट पार्टी बने पनि लुम्बिनी प्रदेश सभामा भने तत्कालका लागि कुनै ठूलो सङ्ख्या थपिएन । थपिएका १२ दलमध्ये यहाँको प्रदेश सभामा तत्कालीन माओवादी केन्द्र र नेकपा एसको मात्रै उपस्थिति थियो । माओवादीबाट सभामुखसहित ११ र एसबाट एक सांसद प्रदेश सभामा थिए ।
केन्द्रमा पार्टी नेतृत्व एकता भएसँगै प्रदेशसभामा प्रतिनिधित्व गर्ने माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरूको संयुक्त बैठक बसेर आफूहरूको स्वतः एकीकरण भएको घोषणा गरेका छन् ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १० अनुसार पाँच दल एकीकृत भई ‘नेपाली कम्युनिष्ट पार्टी’ नामक नयाँ दल कार्तिक २८ मा निर्वाचन आयोगमा दर्ता भएपछि प्रदेशसभामा पनि संयुक्त संसदीय संरचना गठन गरिएको नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता जोखबहादुर महराले बताए ।
बैठकमा माओवादी केन्द्रका सांसद जोखबहादुर महरा, इन्द्रजित थारु, दिपेन्द्रकुमार पुन, धनबहादुर मास्की, कृष्णा कुश्मा थारु, कृष्णा केसी, दिलकुमारी बुढा, यमबहादुर नेपाली बुढा मगर, मिना खड्का, सुरुल पुन र एकीकृत समाजवादीकी सांसद भगवती अधिकारीको नाम रहेको विज्ञप्ति बाहिर आएको छ तर कृष्णा केसी र सुरल पुनले भने हस्ताक्षर गरेका छैनन् । केसीले आफू बाहिर भएकाले हस्ताक्षर छुटेको जनाएकी छन् भने पुनको मोबाइल अफ छ ।
बैठकले नेपाली कम्युनिष्ट पार्टी, लुम्बिनी प्रदेश सभा संसदीय दल औपचारिक रूपमा गठन गर्दै नेतृत्व चयन गरेको छ । निर्णयअनुसार दलका नेता जोखबहादुर महरा, प्रमुख सचेतक इन्द्रजित थारु, सचेतक भगवती अधिकारीलाई जिम्मेवारी दिइएको छ । महरा र थारु माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् भने अधिकारी एकीकृत समाजवादीबाट समानुपातिक सांसद हुन् । यो एकताबाट एक सांसद थपिए पनि साबिकको माओवादी केन्द्रबाट अलग भएका नेता जनार्दन शर्मा प्रभाकर निकट पनि केही सांसदहरु छन् तर उनीहरुले अहिले आफ्नो पदको समस्या कारण अर्को पक्षमा जान नसक्ने आङ्कलन गरिएको छ ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एक समानुपातिक सांसदको निधनपछि हाल कुल ८६ जना सांसद छन् । तीमध्ये सभामुखसहित ११ जना माओवादी केन्द्र र एक जना समाजवादी गरी हाल १२ जना सांसद नेपाली कम्युनिष्ट पार्टीमा छन् । एकीकृत दलका सांसदहरूले अबदेखि लुम्बिनी प्रदेशसभामा ‘नेपाली कम्युनिष्ट पार्टी’ नामबाट संसदीय दलका रूपमा कार्य गर्ने जनाइएको छ ।
यहाँ एमाले २९ मा हाल एकको निधनपछि २८ सांसदसहित पहिलो दल र नेपाली कांग्रेस २७ सांसदसहित दोस्रो दल छन् । नेकपा तेस्रोमा छ । चौंथोमा चार सांसदसहित राप्रपा र नाउपा छन् भने तीन सांसदसहित जनमत, लोसपा पाँचौमा र दुई सांसदसहित जसपा छैठौंमा र एक सांसदसहित लोसपा नेपाल, जनमोर्चा छन् ।
प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र), माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी), महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, सुवासराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपाल, राजु कार्की नेतृत्वको नेकपा (समाजवादी), चिरन पुन नेतृत्वको नेकपा, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी), प्रेमबहादुर सिंह, नेतृत्वको ने क पा (समाजवादी) सहितका दलहरू मिलेर १९ कात्तिकमा नेकपाको घोषणा भएको थियो ।
२६ कात्तिकमा डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र प्रमोदनारायण यादव महासचिव रहेको नेपाल कम्युनिस्ट पार्टी श्रमजीवी पार्टी पनि नेकपामा समाहित भयो । रावल र यादवसहितको पार्टी एवं समूह नेकपामा मिलेपछि एकीकृत हुने दलको सङ्ख्या १२ पुग्दासमेत कुनै प्रदेशमा पहिलो शक्तिका रूपमा आउन सकेको छैन ।

Leave a Reply