
काठमाडौं । अमेरिकाले सुडानमा युद्धरत पक्षलाई युद्धविरामको पछिल्लो प्रस्तावलाई ‘पूर्व सर्तबिना’ स्वीकार गर्न आग्रह गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका अफ्रिकी प्रतिनिधिले मङ्गलबार मध्यस्थकर्ताहरूको तर्फबाट वाशिङ्गटनले प्रस्तुत गरेको सुडानको युद्धविराम प्रस्तावमा सहमत हुन आग्रह गरेका हुन् । समाचार तयार पार्दासम्म कुनै पनि पक्षले प्रस्ताव स्वीकार नगरेको बताइएको छ ।
‘हामी दुवै पक्षलाई बिना कुनै पूर्व शर्त प्रस्तुत मानवीय युद्धविरामलाई स्वीकार गर्न अपिल गर्दछौँ,‘ मसाद बोउलोसले युएईको राजधानी अबुधाबीमा एक पत्रकार सम्मेलनमा भने । ‘उनीहरूले अमेरिकी नेतृत्व र मध्यस्थकर्ताको पहलमा प्रस्तुत गरिएको विशिष्ट प्रस्तावलाई स्वीकार गरून् भन्ने चाहन्छौँ,‘ उनले भने ।
सुडानका सेना प्रमुख अब्देल फताह अल–बुरहानले बुलोसले प्रस्तुत गरेको पछिल्लो प्रस्तावको आलोचना गरेको केही दिनपछि अबुधाबीमा युएईका राष्ट्रपतिका सल्लाहकार अनवर गार्गाशसँगको संयुक्त पत्रकार सम्मेलनमा बोउलोसले यो आग्रह गरेका हुन् ।
बुरहानले अमेरिकाका साथै साउदी अरब, इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) पनि समावेश रहेको (क्वाड समूह)ले प्रस्तुत गरेको पछिल्लो युद्धविराम योजनाको आलोचना गरेका थिए । उनले युएई सदस्य रहुन्जेल कुनै पनि प्रस्ताव निष्पक्ष आउन नसक्ने दाबी गरेका थिए ।
युएईमाथि सेना समर्थित सरकारसँग लडिरहेको युद्धरत सुडानी अर्धसैनिक बललाई हतियार दिएको आरोप लगाइएको छ । युएईले भने उक्त आरोपको खण्डन गर्दै आएको छ ।
– रासस/ एएफपी

Leave a Reply