हेटौँडामा यौनधन्दा, हनीट्र्याप र कर दादागिरी: एक्सनमा सीडीओ अधिकारी

हेटौँडा । हेटौँडामा मौलाएको बेहद बेथिति अन्त्यका लागि उपभोक्तावादी, सुधारवादीको सक्रियता नदेखिएको गुनासो बढेको छ । हेटौँडा बाहिर हेर्दा चमकधमकले बागमती प्रदेशको राजधानी बनेर सबैको ध्यान केन्द्रित भइरहँदा भित्रभित्रै विकृति पनि उस्तै झांगिएको पाइएपछि सुक्ष्म अनुगमन शुरू भएको छ ।

हेटौँडा बसपार्कका केही होटलमा यौनधन्दा चलेको चर्चापछि स्थानीय प्रशासनले अनुसन्धान गर्दा अनेक तथ्य भेटिएका छन् । जुन सुन्दै रोचक र ‘यस्तोसम्म हुँदोरहेछ’ भनेर अरुले पनि सचेत हुनुपर्ने भएको छ । पढाइ र जागिरको गन्तव्य हेटौँडा भएकाले धेरैले छोराछोरी, श्रीमान, श्रीमतीलाई हेटौँडामा निर्धक्क छाडिदिएका छन् । थाहा छैन, कुन दिन अप्रिय खबरमा परिवारका सदस्य जोडिने पो हुन् कि !

कात्तिक १० गतेको एउटा घटनाले हेटौँडामा प्रहरीको ध्यान खिच्यो । हेटौँडा बसपार्क नजिकै एकजना घाइते इन्तु न चिन्तु भएर लडिरेहका भेटिए । उनीमाथि कुटपिटमा संलग्नहरू खोज्न मकवानपुर प्रहरीले बसपार्कका चारैतिरका सीसीटीभी फुटेज हेर्‍यो । घटनामा संलग्नहरू पनि भेटिए ।

प्रहरीमा उजुरी नपरेको यो घटनामा पर्वत, कास्की, चितवन र मकवानपुरका चार जना जोडिएका थिए । पर्वत, मोती-२ का सरोज लामिछाने पोखराबाट काँकडभिट्टा जान बस चढेका थिए । घरमा त उनी भारतको आसाम, सिक्किम जाने भनेर हिँडेको बुझिएको छ । उनै लामिछाने हेटौँडामा बेहोस भेटिए । हेटौँडा अस्पतालमा दुई दिन उपचारपछि चितवन लगियो । पहिलो दिन त उनी होसमा नभएकाले केही विवरण आएन ।

उनलाई कुटपिट गरेको आरोपमा चितवनको कालिकाका १७ वर्षीय सुवास आले मगर र तनहुँ, भानु-४ का आर्जेन तामाङलाई प्रहरीले समात्यो । मकवानपुर, भीमफेदी-२ कि सन्ध्या पाख्रिन पनि यो घटनामा संलग्न भएको र मकवानपुर प्रहरीमा ‘पटके’ पक्राउको पात्र भएको तथ्य फेला पर्‍यो । मादक पदार्थ सेवनपछि उनीहरू झगडामा उत्रिए । सबैको पहिलो भेट, एकैपटक रक्सी खाएर अनि त्यसमा महिला पनि संलग्न । कुटपिट र घाउजाँचका कुरा मात्रै पुलिसले बतायो ।

काँकडभिट्टा हिँडेका लामिछाने र तनहुँ र चितवनका १७ वर्षमुनिका किशोरहरू ‘हनीट्र्याप’मा त परेनन् भनेर प्रहरीले चासै दिएन । बरु छारे रोगले ग्रस्त सन्ध्याले प्रहरीले भेट्नेबित्तिकै रगत छादिदिने, अस्वाभाविक गतिविधि देखाउने भनेर छाड्ने गरेको पाइयो । पटके घटनामा जोडिरहने उनलाई जिम्मा लिने मान्छे नभएको भन्दै प्रहरीले पक्रनै छाडेको थियो ।

भर्खर मकवानपुर आएका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरालाई एकैपटक दुई फरक समूह भेटिनु, झगडा गर्नु, दुवै प्रहरी र अस्पतालमा पुग्नु तर मूलपात्र छाडिनुको विषयबारे अनुसन्धानमा संलग्नहरूले केही खुलाएनन् । एक युवतीले हेटौँडा बसपार्कमा युवक बोलाउने, फसाउने काम भएको विषयले १७ वर्षमुनिका दुई किशोर तनहुँदेखि आएर प्रहरीमा थुनिए । अर्का चैँ काकडभिट्टा हिँडेकामा हेटौँडा बसपार्कमै युवतीका पछि लाग्दा पिटिए । प्रहरीमा उनले उजुरीसमेत गरेका छैनन् । पोखराबाट काँकडभिट्टा हिँडेका युवक हेटौँडा बसपार्कमा भेटिएपछि र युवती तथा मादक पदार्थ जोडिएपछि प्रहरीमा जानु आफ्नै चारित्रिक क्षति बन्ने देखिएकाले उनी चुप लागेका रछन् ।

यता, मंसिरको पहिलो साता मकवानपुरका सीडीओ वसन्त अधिकारी आफैँ राति हेटौँडा बसपार्कको एउटा होटलमा पुगे । ग्राहक विवरणको रजिस्टर नै बोकेर हिँडे । होटल सागरका सञ्चालकले पछि मात्र थाहा पाए लगबुक लैजाने सीडीओ हुन् भन्ने ।

‘शुरूमा त उनले होटलमा भइरहेको गतिविधि स्वीकारेका थिएनन् । त्यो कोठा नम्बर १०६ चैँ एकदिन ६ पटक किन बेचेको त भनेर प्रश्न गरेपछि फतक्कै गलिहाले’, सीडीओ अधिकारीले भने ।

आइन्दा यस्तो गर्दिनँ भनेर कागज गरेको र अरु होटलबारे पनि सूचना आएकाले सुक्ष्म अनुगमन भइरहेको अधिकारीले बताए । बसपार्कमा आउने सर्वसाधारणलाई यौन कार्यका लागि आकर्षित पार्न युवतीहरू परिचालन हुने, मोलमोलाइ हुने र ‘त्यो होटल’ मा गएर यति नम्बरको कोठा लिनू, म आउँछु भन्नेसम्मको सूचना पाएर प्रमुख जिल्ला अधिकारी आफैँ होटल पुगेर रजिस्टर नै जफत गरिदिएपछि हेटौँडाका अन्य होटल सञ्चालकहरुलाई पनि तनाव भएको छ ।

‘मोटरसाइकल हवल्दार सा’बले चलाउनु हुन्छ, पछि बसेर सामान्य भेषमा जान्छौँ । आएको सूचना भरपर्दो नभएसम्म कसैलाई राति दुःख दिनु पनि छैन, आफूले दुःख पाउनु पनि छैन, तर बदमासी रोक्न सकेसम्म प्रयास गरिरहेको छु’, उनले भने ।

ढाटका ठकेदारको नगरपालिकामा गुहार

यस्तै, राति नै सिभिल ड्रेसमा पुगेका सिडिओ अधिकारीले हेटौँडा नगरपालिकाले उठाइरहेको ढाटको कर संकलन पनि रोकिदिएपछि बदमासी गर्न पाइएन भन्दै ठेकेदार र प्रतिनिधिहरू सोमबार हेटौँडा नगरपालिकामा गुहार लगाउन पुगेका छन् । आइतबार राति १२ बजेपछि ढाटमा पैसा नउठाउन अधिकारीले आग्रह गरेका थिए ।

‘बाइपासमा गाडी नै रोकेर चालक, सहचालकलाई दुःख दिने काम भएको छ, भैँसेतिर जाने सवारी साधनलाई पनि बसपार्क जाऊ भनेर दुःख दिएका छन्,’ अधिकारीले भने, ‘खाली ट्रकले कर तिरेन भनेर मोटरसाइकलमा पिछा गरेर नेवारपानीसम्म पुगेर चालकमाथि दुव्र्यवहार भएपछि एक्सन लिएको हुँ, नगरपालिकामा सिडिओले कर उठाउन दिएन भन्दै पुगेको खबर पाएको छु ।’

हेटौँडा बजारमा आउजाउ गर्ने सवारीसाधनलाई पनि रोकेर बाइपासमा जान, भारतीय यात्रुहरु जो भीमफेदी हुँदै काठमाडौँ जान चाहन्छन्, उनीहरुलाई पनि दुःख दिने काम भएको गुनासोपछि यस्तो एक्सन लिइएको अधिकारीले बताए ।

हेटौँडा अस्पतालमा सेक्युरिटी गार्डको दादागिरी

राति नै हेटौँडा अस्पताल पुगेका सीडिओ अधिकारीले त्यहाँ झन बदमासी भइरहेको देखे । सामान्य पोशाकमा सर्वसाधारण बनेर पुगेका उनकै अगाडि मादक पदार्थ सेवन गरेर एकजनाले बिरामीको ‘प्रेस्क्रिप्सन’ नै च्यातिदिए ।

‘पछि थाहा भयो, उनी अस्पतालकै सुरक्षा गार्ड रहेछन्, बिदाका दिन मादक पदार्थ सेवन गरेर अस्पताल आएर यस्तो हर्कत गरेका रहेछन्, म्याद थपेर केही दिन थुन्न भनेको छु,’ अधिकारीले भने, ‘यो हदको बदमासी रोक्न कोही किन चासो लिँदैनन्, जसले जे गरे पनि हुन्छ भन्ने भइरहेको देखेँ ।’

फार्मेसीमा विवरणै छैन

यसपछि सिडिओ अधिकारी अस्पतालको सरकारी औषधी उपलब्ध हुने फार्मेसीमा पुगे ।

उनले भने, ‘सरकारले दिने केही औषधी छ त ?’ सरकारी औषधी पसलमा रहेकी कर्मचारीले केही ट्याब्लेट झिकेर दिइन् । अधिकारीले भने, ‘मेरो नाम, विवरण, औषधी लगेको जानकारी राख्नु पर्ला नि ?’ ती कर्मचारीले जवाफ दिइन्, ‘तपाईं जानू न, हामी मिलाउँदा विवरण ।’

सीडीओ अधिकारीले अस्पतालका निमित्त सुपरीटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई फोन गरे तर उनले यस्तो हुँदै नभएको भनेर जिद्दी गरे ।

‘मैले यसरी औषधी लिएर आइसकेँ, फेरि यस्तो हुँदैन भन्नुहुन्छ,’ सिडिओ अधिकारीले भन्दा पनि सापकोटाले यस्तो बदमासी नभएको दाबी गरेको अधिकारीले बताए ।

पहिलो दिनै भिडियो खिचेका थिए

मकवानपुरमा सरुवा भएर आउँदै गर्दा चाडपर्वको रौनक थियो । अधिकारीका लागि मकवानपुर नयाँ हैन । उनी २०७४ मा संघीयता कार्यान्वयन क्रममा बनेको ‘प्रदेश ३’ (बागमती) सरकारका आर्थिक मन्त्रालयका पहिलो सचिव थिए । उनलाई मकवानपुरबारे धेरै जानकारी थियो ।

बाटोमा यति धेरै ‘ओभरटेक’ गरेर सवारी साधन हुइँकिए कि सिडिओ आफैँ त्यो अव्यवस्थित जाममा परे । यसपछि उनले ओभरटेक गर्ने १९ वटा सवारी साधनको भिडियो खिचेर कार्यालयमा हाजिर नहुँदै मकवानपुरका ट्राफिक प्रहरी निरीक्षकको मोबाइलमा ह्वाट्स एपमा पठाएका थिए । चाडपर्व भएकाले प्रहरी निरीक्षक बिदामा थिए । ‘सकेको सुधार्ने हो,’ उनले भने, ‘हेरेर बस्ने बानी छैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *