
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गृहमन्त्री ओमप्रकाश अर्याल र सबै सुरक्षा निकायका प्रमुखहरूकै अगाडि यो अवस्थामा निर्वाचन हुन नसक्ने बताएका छन् ।
आज रुपन्देहीको भैरहवामा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अहिलेको अवस्था निर्वाचनका लागि प्रतिकुल भएको बताउँदै भदौ २३ र २४ गते आन्दोलनका नाममा सुरक्षाकर्मीका हतियार लुटेर खुल्लम खुल्ला अपराधीहरू हिँडिरहेकोले निर्वाचन हुनसक्ने अवस्था नरहेको गृहमन्त्री अर्यालसहितका सुरक्षा अधिकारीलाई बताए। सुरक्षा गोष्ठीमा गृह सचिव रामेश्वर दंगाल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखहरू सहभागी थिए ।
‘अपराधीको एउटा समूह खुल्लम खुल्ला सुरक्षाकर्मीबाट खोसिएका हतियार लिएर डुलेका छन्, त्यस्तो अवस्थामा कसरी चुनाव हुन्छ ? मुख्यमन्त्री आचार्यले भने ।
मुख्यमन्त्रीले नागरिकको घर जलाउनेहरुलाई कारबाही नगर्ने हो भने चुनावका लागि भयरहित वातावरण नबन्ने बताए। उनले लुम्बिनी प्रदेशमा सरकारी र निजी गरी ३९७ वटा कार्यालय भवन र घर जलेको बताउँदै पीडितहरूको मनोबल बढाउने काममा सरकार लाग्नुपर्ने जनाउँदै पछिल्लो समय धर्मको नाममा, जातीयताको नाममा दलको नाममा गतिविधि बढेको दाबी गर्दै विभिन्न समूहको नाममा सुरक्षाकर्मीमाथि तेजोवध गर्ने काम भएको बताए।
उनले सबैभन्दा पहिले राष्ट्रसेवक सुरक्षाकर्मीको मनोबल बढाउने र जनतालाई प्रवाह गर्ने सेवा चुस्त बनाउनुपर्ने योजना ल्याउन सरकारलाई सुझाएका थिए ।

Leave a Reply