
रुपन्देही । गृहमन्त्री ओम प्रकाश अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचन कुनै पनि बहाना वा चर्चाले रोक्न नसक्ने स्पष्ट संकेत दिएका छन् । चुनाव हुँदैन, गर्न सकिँदैन भन्ने जस्ता सार्वजनिक टिप्पणीहरूलाई सरकारले काम र परिणाममार्फत जवाफ दिने उनको भनाइ छ ।
आज रुपन्देहीको भैरहवामा गृह मन्त्रालय र लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले सरकार समयमै चुनाव सम्पन्न गरी निर्वाचित नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताए । उनले सुरक्षाको तयारी पर्याप्त रहेको दाबी गर्दै दण्डहीनता अब कुनै रूपमा स्वीकार्य नहुने चेतावनी दिए ।
अर्यालका अनुसार जेन जी आन्दोलनपछिको असामान्य परिस्थितिमा, शून्यता चिर्न विशेष जिम्मेवारीसहित बनेको वर्तमान सरकारले व्यक्तिगत आकांक्षा वा लोभका आधारमा निर्णय नलिने प्रतिबद्धता जनाएको छ । देशले अपेक्षित सुशासनको आधार बलियो बनाइ आगामी सरकारलाई बिगार्न नसक्ने वातावरण सुम्पनु नै अहिलेको प्राथमिकता रहेको उनले दोहोर्याए ।
चुनाव विरोधी बहानाहरूलाई अस्वीकार गर्दै उनले राजनीतिक दलहरूले उठाएका सुरक्षा चुनौती—लुटिएका हतियार र फरार कैदीबन्दी—मध्ये धेरै मुद्दामा विशेष अपरेसनमार्फत परिणाम आइसकेको जानकारी दिए । ठूलो संख्यामा हतियार फिर्ता भइसकेका छन् भने फरार कैदी पनि समातिने क्रम जारी रहेको उनले बताए ।
अभिव्यक्ति दिने शैलीमा जिम्मेवारी बोध आवश्यक रहेको उल्लेख गर्दै उनले भने, “हाम्रा छोराछोरीले हाम्रो कार्यशैलीमा प्रश्न उठाइसकेका छन् । अब पनि हामी नसच्चिने हो भने फेरि अर्को दुर्घटना नहोला भन्न सकिन्न ।”
राजस्व चुहावटका कारण लुम्बिनी प्रदेश जोखिममा रहेको उल्लेख गर्दै उनले सुशासनको जगमा बनेको सरकारले चुहावट नियन्त्रणमा शून्य सहनशीलताको नीति प्रयोग गरिरहेको बताए । सरकारी संयन्त्रका बाँकी कमजोरी पनि अन्त्य हुनुपर्ने उनले स्पष्ट गरे ।
सुरक्षा गोष्ठीमा गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखहरू सहभागी गोष्ठीमा लुम्बिनी प्रदेशको सुरक्षा चुनौती संश्लेषण गर्ने, त्यसका लागि आवश्यक रणनीति तय गर्ने निर्वाचनका लागि आवश्यक पार्ने गरी सुरक्षा तयारी गर्नेछ।

Leave a Reply