
विराटनगर । विराटनगर भन्सार कार्यालय र राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीका कर्मचारीको मिलेमतोमा भन्सार छली भइरहेको सशस्त्र प्रहरीले दाबी गरेको छ ।
सशस्त्र प्रहरीले भन्सार छली गरेका माल वस्तु र चोरी तस्करीमा संलग्न सवारी साधन नियन्त्रणमा लिएर भन्सार र राजश्व अनुसन्धान इकाई कार्यालयमा बुझाउँदा समेत कारबाही नभएको भन्दै एपीएफले तालुक निकायमा गुनासो समेत गरेको छ ।
आफूहरूले नियन्त्रणमा लिएर बुझाएका माल बस्तु र सवारीसाधनलाई न्यून जरिवाना गरेर राजश्व अनुसन्धान कार्यालयले छाडेको सशस्त्र प्रहरीको जिकिर छ । यस्तै नियन्त्रणमा लिएर बुझाएको सवारीसाधनबाट भन्सार यार्डबाटै सामान अनलोड गरी अर्को सवारीसाधनमा लोड गरेको एपीएफको भनाइ छ ।
नियन्त्रणमा लिएका सवारीबाट केही पोका सामान कस्टम यार्डबाट भन्सार कर्मचारीको मिलेमतोमा अर्को सवारी साधनमा हालेर भन्सार छली गर्न सहयोग गरेको सशस्त्रले बताएको छ । सीमामा हुने चोरी तस्करी नियन्त्रणका लागि परिचालित गस्तीले बरामद गरेका सामान र गाडी भन्सार र राजश्व कार्यालयमा बुझाउने गरिएको छ । यसरी बुझाएका सामानहरू न्यून जरिवाना गरेर भन्सार जाँच पासमा त्रुटि भएको भन्दै सशस्त्रले माथिल्लो निकायमा जाहेरी समेत गरेको प्रमाण नेपाल प्रेसले फेला पारेको छ ।

सशस्त्र प्रहरी बल नं १ बाहिनी मुख्यालय पकली सीमा शाखाले भन्सार कार्यालयहरूबाट हुने जाँच पास प्रक्रियामा गम्भीर त्रुटि भइरहको भन्दै प्रमाणसहित माथिल्लो निकायमा जाहेर गरेको पाइएको हो । उक्त जाहेरमा बाहिनीले सशस्त्र प्रहरी बल प्रधान कार्यालय सीमा सुरक्षा विभाग (राजश्व शाखा) र सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा भन्सार जाँच पासमा त्रुटि भएको गुनासो गरिएको छ ।
सशस्त्र प्रहरीले गत कात्तिकमा विराटनगर भन्सार कार्यालय (आईसीपी) बाट प्रज्ञापन पत्रमा उल्लेख गरिएको भन्दा बढी लत्ताकपडा नियन्त्रणमा लिएको थियो । सो क्रममा ३ जना भन्सार एजेन्टहरू समेत पक्राउ परेका थिए ।
भन्सार कार्यालयमा बुझाएपछि पनि सो ट्याक्टरबाट कपडा अनलोड गरेर अर्को सवारी साधनमा हालिएको सशस्त्र प्रहरीले दाबी गरेको छ । भन्सारमा बुझाएको ट्याक्टरबाट कपडाका पोका अनलोड भएको विषयमा भन्सार प्रमुख उमेश श्रेष्ठलाई भन्दा पनि अनवज्ञिता प्रकट गरेको भन्दै सशस्त्रले असन्तुष्टि जाहेर गरेको कागजातमा उल्लेख छ । सशस्त्र प्रहरी नम्बर १ बाहिनी सीमा शाखाले माथिल्लो निकायमा गरेको जाहेरी पत्रमा सो कुरा उल्लेख छ ।

सशस्त्रले कात्तिक १७ गते साँझ साढे ५ बजे विराटनगरको हनुमान मन्दिर अगाडि को. १ त २४१ नम्बरको ट्याक्टर र तीनजना भन्सार एजेण्ट नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरी १ नम्बर बाहिनीका प्रमुख डीआईजी कुमार न्यौपानेले एजेन्टहरू कुन्दन मण्डल, छोटु मण्डल र ललन मण्डललाई नियन्त्रणमा लिएको बताए ।
सोही दिन भन्सार यार्डबाट को. १ त ९७१७ नम्बरको ट्याक्टर फेला पारेको थियो । सो ट्याक्टरमा प्रज्ञापन पत्रमा उल्लेख भएभन्दा १५ पोका बढी कपडा फेला पारेपछि बरामद भएको थियो । सो कपडाको बजार मूल्य १९ लाख ९० हजार ४ सय ६० रुपैयाँ बराबरको छ । सशस्त्रले सो अवैध कपडा राजश्व अनुसन्धान इकाई कार्यालयमा बुझाएको थियो ।
यस्तै कात्तिक १९ गते बिहान संयुक्त टोलीले विराटनगर १५ स्थित बुद्ध पूजा ढुवानी सेवामा खोजतलास गर्दा शङ्कास्पद लत्ताकपडा नियन्त्रणमा लिएको थियो । सशस्त्रले सो कपडा राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीमा बुझाएको थियो ।
सशस्त्रले बुझाएको ३४ पोका कपडा र १९ लाख ९० हजार बराबरको कपडा राजश्व अनुसन्धान इकाई कार्यालयले १ लाख २४ हजार रूपैयाँ जरिवाना गरेर छाडेको सशस्त्रले गरेको जाहेरीमा उल्लेख छ । उक्त विषयलाई लिएर एपीएफले आपत्ति जनाएको छ ।
डीआईजी न्यौपानेले भन्सार जाँच पासमा त्रुटि भएको बताए । उनले नेपाल प्रेससँग भने, ‘यो कसरी भयो भन्ने हो ? हामीले हाम्रो निकायमा जाहेरी गरेका छौँ ।’
राजश्वले सो सामान न्यून जरिबाना गरी छाडेको भन्दै जाँच पासमा त्रुटि भएको दाबी गरेको छ । भन्सार कार्यालय विराटनगरका प्रमुख उमेश श्रेष्ठले आफूहरूले यस बारेमा अध्ययन गरिरहेको प्रतिक्रिया दिए ।

Leave a Reply