
सुनसरी । वराहक्षेत्रस्थित कोशी किनारमा रहेको बोराबाँध केही समयदेखि डिजिटल प्लेटफर्ममा भाइरल बन्दै गएको छ । सूर्यास्तको मनोरम दृश्य अवलोकन गर्न सकिने उक्त क्षेत्र फेसबुक रिल्स र टिकटक जस्ता सञ्जालमा भाइरल बन्दै गएको छ ।
बोराबाँधस्थित कोशी नदीमा देखिने सूर्यास्तको मनमोहक दृश्य युवाहरुका लागि आकर्षणको केन्द्र बन्दै गएकामा स्थानीय पर्यटन व्यवसायीले मोटर बोटसमेत सञ्चालन गरेपछि कन्टेन्ट क्रियटरका साथै आन्तरिक पर्यटकहरुको समेत घुइँचो बढ्दै गएको हो ।
कोशी किनारमा घुइँचो बढ्दै गएपछि स्थानीय साना व्यवसायीका लागि समेत आम्दानीको स्रोत बन्दै गएको छ । कोशी किनारमा अहिले केही फास्टफुड पसलहरु खोलिएको देख्न सकिन्छ ।
‘तल्लो भागमा बालुवा, बीचमा सप्तकोशी नदीको चिसो पानी, अलिपर डुब्न लागेको घामको सौन्दर्य अनि पानीको छायाँमा मोटरबोट सरर,’ स्थानीय सञ्चारकर्मी भीषण राई भन्छन्, ‘सुनौलो सूर्यास्त हेर्न आतुरहरुको भीड दिनदिनै बढ्दो छ ।
कन्टेन्ट क्रियटरका रुपमा पर्यटनको क्षेत्रमा काम गरिरहेका उनले पछिल्लो समय कोशी नदीको पर्यटनको विकासलाई आफ्नो सञ्चारमाध्यममार्फत प्रवर्धन गरिरहेको बताउँछन् । कोशी नदीमा आधारित पर्यटनको विकासले वराहक्षेत्रको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तन हुने उनको अपेक्षा छ ।
‘सूर्योदय हेर्न इलामको श्रीअन्तु पुगिन्छ भने सूर्यास्तको अवलोकन गर्न सुनसरीको वराहक्षेत्रस्थित कोशी किनार उपयुक्त ठाउँ हो,’ सञ्चारकर्मी राई भन्छन्, ‘हामीले देश–विदेशमा यो यथार्थलाई प्रचारप्रसार गर्न सक्नुपर्छ । पर्यटनको विकास र रुपान्तरण पनि यहीँबाटै सुरु गर्नुपर्छ ।‘
धार्मिक तीर्थाटनको क्षेत्र वराहक्षेत्रमा पर्यटनका अन्य आयाम छायाँमा पर्दै गएकोमा स्थानीयको चिन्ता छ । स्थानीय सरकारले यहाँको पर्यटन प्रवर्धनमा काम गर्नुपर्ने उनीहरुको माग छ ।
गत कार्तिक २९ गते कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले मोटरबोटको औपचारिक उद्घाटन गरेका थिए । यो वर्षभरि नै पर्यटनका विविध गतिविधि गरी कोशी भ्रमण वर्ष मनाउने कोशी सरकारको उद्देश्य रहेको मन्त्री मण्डलले बताए । उनले कोशी किनारलाई पर्यटनको हबका रुपमा विकास गर्ने प्रशस्तै आधारहरु भएको बताए । स्थानीय व्यवसायीले पर्यटन प्रवर्धनका लागि गरेको कामको उनले सह्रानासमेत गरेका थिए ।



Leave a Reply