
भूमिगतकालमा तत्कालीन नेकपा (माले) ले आयोजना गरेको ‘चौथो महाधिवेशन’ (९–१४ भदौ, २०४६) विशेष रोचक र ऐतिहासिक महत्वको थियो। आयोजनासित गाँसिएको कतिपय कुरा अत्यन्त रोचक थिए भने त्यहाँ प्रस्तुत भएका तथा निर्णय गरिएका केही विषयहरू ऐतिहासिक महत्वका थिए। आजको नेकपा (एमाले) को विचार तथा सङ्गठनमा विकसित भएको नेकपा (एमाले) त्यही महत्त्वपूर्ण पृष्ठभूमिमा उभिएको कुरा सगर्व उल्लेख गर्न सकिन्छ।
१. तयारीका केही रोचक प्रसङ्ग
तत्कालको आवश्यकता अनुसार ‘कार्यकर्ता भेला’ आयोजना गरी केही ज्वलन्त राजनीतिक विषय तथा पार्टीभित्र उत्पन्न विशेष समस्याका बारेमा जानकारी दिने काम गरिए पनि तत्कालीन ‘को–अर्डिनेसन केन्द्र’ (Coordination Centre) ले आयोजना गरेको ‘राष्ट्रिय सम्मेलन’ (०३५ पुस ११–१४) ले विधिवत् ‘नेकपा (माले)’ गठन गरेपछि लामो समयसम्म कुनै वैधानिक ‘राष्ट्रिय मञ्च’ वा राष्ट्रिय स्तरका कार्यक्रम आयोजना हुन सकेको थिएन। विचार तथा सङ्गठनको स्थितिमा ठूलाठूला (आकाश पातालका) परिवर्तन भईसक्दा पनि ‘पार्टी केन्द्र’ ले त्यसलाई औपचारिक र संस्थागत नगरी अगाडि बढ्नु सम्भव थिएन। फेरि, मुलुक ऐतिहासिक राष्ट्रिय जनआन्दोलनमा प्रवेश गर्न लागेको बेला आफूलाई ‘पुनः व्यवस्थित’ नगरी अगाडि बढ्नै नसक्ने अवस्थामा पुगेको थियो।
….यसरी हामी ‘महाधिवेशन’ को तयारीमा लाग्यौँ। मुलुकमा आन्दोलनको वातावरण बन्दै गएको र त्यसकारण सत्ताधारी तथा तिनका स्थानीय मतियारहरू ‘विशेष होसियारी’ अपनाइरहेका थिए। उनीहरूले चियोचर्चा बढाएका थिए।
अहिलेजस्तो जनस्तरले समेत यातायात र सञ्चारको सुविधा पाउनु सम्भव थिएन। उल्लेखनीय सङ्ख्यामा प्रतिनिधिहरू उपस्थित हुने हुनाले हामीले सुरक्षाको विषयलाई विशेष ध्यान पुर्याउनुपर्ने आवश्यकता थियो। माधव नेपाल, जीवराज आश्रित र मैले महाधिवेशनका लागि सम्भावित ठाउँहरूको खोजी गर्नुपर्ने र टुङ्गो गर्नुपर्ने जिम्मेवारी पाएका थियौँ। यस सिलसिलामा हामीले अर्घाखाँचीको धनचौर, काठमाडौँको टोखा, ललितपुरको सुदूरदक्षिणका गाउँहरू, सप्तरीका तराईका गाउँहरू, सिरहा, धनुषा र महोत्तरीका अनेक गाउँहरूको स्थलगत भ्रमण गर्यौँ ।

त्यसबेला पूर्वाञ्चलमा खासगरी मेची र कोशीको पार्टी काममा अमृत बोहरा र मदन भण्डारी प्रमुख जिम्मेवारको रूपमा हुनुहुन्थ्यो । सिरहामा महाधिवेशन स्थल निश्चित गर्ने र तयारी गर्ने काममा उहाँहरूको अत्यन्त ठूलो भूमिका रहेको थियो। तयारीका स–साना काममा समेत उहाँहरू खट्नुभएको थियो। म आफू त्यस क्षेत्रमा लामै समय (झण्डै ९ वर्ष) काम गरिसकेको व्यक्ति भएका कारण महाधिवेशनको व्यवस्थापनसित सम्बन्धित काममा संलग्न भएको थिएँ।
हामीले त्यहाँको सङ्गठित पार्टी शक्तिलगायत अन्य अनुकूलता र प्रतिकूलताहरूको विश्लेषण गर्यौँ । अन्ततः सिराहको फुलकाहाकट्टी गाविसको मोथीयायी गाउँमा महाधिवेशन गर्नु उपयुक्त हुने हामीले सिफारिस गर्यौँ। ठाउँका बारेमा औपचारिक निर्णय भएपछि त्यहाँ ‘हल’ को आवश्यकता पूरा गर्न एउटा नयाँ ‘घर’ बनाइयो। त्यसलाई लिपपोत गरेर ठीक पारियो। खाद्य सामग्रीहरूको व्यवस्था गरियो। त्यसबेला हामीहरू जनताले स्वेच्छापूर्वक दिएको खाद्य सामग्रीमा भर पर्थ्यौँ । पुग-नपुग मात्र हामीले खरिद गर्थ्यौँ । त्यस ठाउँका जनताले फलफूल, तरकारी, दूध-दही आदिको जोहोसमेत गरेका थिए । तयारीको काम पूरा भइसकेपछि, दुई दिनपछि प्रतिनिधिहरूलाई त्यहाँ पुर्याउने चाँजो मिलाइसकिएको थियो । त्यसबेला म त्यही बसेर सबै कुराको रेखदेख गरिरहेको थिएँ। तर, दुर्भाग्य! सुरक्षाको कारणले घोषित मितिमा र तयारी गरेको ठाउँमा महाधिवेशन हुन नसक्ने खबर ‘हेडक्वार्टर’ (Headquarters) बाट आयो।
हामी सबै, खासगरी तयारी कार्यमा लागेकाहरू स्तब्ध भयौँ। पछि थाहा लाग्यो–हेडक्वार्टरको सचिवालय काममा लाग्नु भएको प्रदीप नेपालले साइकल पछाडि क्यारियरमा राखेर लैजाँदै गरेका महाधिवेशनसम्बन्धी अत्यन्त महत्त्वपूर्ण र गोप्य कागजपत्रहरू कतै खसाउनु भएछ । ती कागजपत्रबाट हामीले गर्न लागेको महाधिवेशन, त्यसको मिति र स्थानसमेत खुल्ने भएकोले सुरक्षाका कारण कार्यक्रम स्थगन गर्नुपरेको थियो। यो खबरले सबै, खासगरी महाधिवेशनको तयारीमा लागेकाहरू एक किसिमले मर्माहत बनेका थियौँ ।
पछि, हामीले सिराहाकै, पहिले तयारी गरेको ठाउँभन्दा १० कि.मी. जति उत्तर विष्णुपुरकट्टी गाविस वडा नं. ३ अम्वास राइरइनी गाउँमा नयाँ ठाउँ तयार गर्यौँ। त्यसको झन्डै डेढ महिनापछि यो तयारी गरिएको थियो। जिल्लाको उत्तर उदयपुर जिल्लाको सिमा र चुरे शृङ्खलाको झन्डै बीचमा पर्ने सानो गाउँमा यो ठाउँ तयार गरिएको थियो । हीराबहादुर सुनुवार त्यसबेला जिल्लाका एक जना अगुवा कार्यकर्ता थिए र उनको गाउँमा पार्टीको राम्रो जनसमर्थन थियो।
स्थानीय जनताको सक्रिय समर्थन र सहयोग रहेका कारण हामीले त्यो ठाउँलाई महाधिवेशनको स्थल बनाएका थियौँ। झन्डै २५ दिन लगाएर हामीले हीराबहादुर सुनुवारकै घर छेउमै एउटा काठको घर खडा गरेका थियौँ। सुरक्षाको विशेष व्यवस्था मिलाएका थियौँ। गाउँमा पस्ने र निस्कने धेरै ठाउँहरू थिए।
ती सबैमा विशेष सुरक्षा प्रबन्ध मिलाएका थियौँ। कतिपय चीज पहिलेको तयारी स्थलबाट ल्याइए। महाधिवेशनका लागि आवश्यक वस्तुहरू खासगरी खाद्य सामग्रीहरू सिराहा जिल्लाकै विभिन्न स्थानबाट मात्र नभई सीमावर्ती जिल्लाहरू उदयपुर, सप्तरी, सिन्धुली र धनुषाबाट समेत ल्याइएका थिए। धेरै साथीहरूले टाउको र पिठ्युँमा दुई दिन लगाएर बोकेर समेत ल्याउनुभएको थियो। यसरी, चौथो महाधिवेशन स्थल तयार पारिएको थियो।
२. वैचारिक–सैद्धान्तिक क्षेत्रमा ऐतिहासिक निर्णयः
यो महाधिवेशनमा युगीन महत्त्व राख्ने वैचारिक–सैद्धान्तिक विषयहरूमा छलफल तथा निर्णयहरू गरिएका थिए।
क) मार्गदर्शक सिद्धान्त
त्यसबेलासम्म नेकपा (माले) ले मार्क्सवाद-लेनिनवाद-माओत्सेतुङ विचारधारालाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्दै आएको थियो । तर, महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूको अत्यधिक ठूलो सङ्ख्याले मार्क्सवाद-लेनिनवादलाई मात्र आफ्नो मार्गदर्शक सिद्धान्त मान्ने निर्णय गरेको थियो । पार्टी केन्द्रबाट २ चैत्र, ०४५ मा ‘हाम्रो मार्गदर्शक सिद्धान्तबारे’ भन्ने दस्तावेजमार्फत यो धारणा पार्टी पङ्क्तिमा छलफलका लागि लगिएको भए पनि ‘महाधिवेशन’ को हलले मात्र यसको औपचारिक निर्णय गरेको थियो ।
उक्त दस्तावेजमा भनिएको थियो–‘‘आफ्ना आन्तरिक तथा बाह्य नीति र व्यवहारहरूको सिंहावलोकन, परिवर्तन र परिमार्जनकै क्रममा अब आएर पार्टीको मार्गदर्शक सिद्धान्तका बारेमा पनि नयाँ स्तरबाट विश्लेषण र मूल्याङ्कन गर्नु आवश्यक भएको छ।’’
मार्गदर्शक सिद्धान्तको सैद्धान्तिक पक्षमाथि प्रकाश पार्दै भनिएको थियो– ‘‘मार्क्सवाद–लेनिनवाद भनेको एउटा दार्शनिक, राजनीतिक, आर्थिक र सामाजिक सांस्कृतिक विचारहरूको त्यस्तो व्यापक, व्यवस्थित र एकीकृत वैज्ञानिक विचार प्रणाली हो, जसबाट अन्तर्राष्ट्रिय सर्वहारा वर्गको जीवन दर्शन र विश्व दृष्टिकोण बनेको छ। त्यो नै प्रकृति, समाज र मानव चेतनालाई देख्ने, बुझ्ने र रूपान्तरण गर्नै क्रान्तिको विज्ञान हो र विश्वका कुनै पनि देशका कम्युनिस्ट वा मजदुर पार्टीको मार्ग दर्शक सिद्धान्त पनि हो ।

त्यो अहिलेसम्म विभिन्न देशका क्रान्तिहरूमा र विश्व परिस्थितिको विकासलाई हेर्ने क्रममा सत्य प्रमाणित हुँदै आएको छ। यही नै विश्वका अन्य भागमा पनि लागू हुन सक्ने सार्वभौम सत्य पनि हो। त्यसले नै विश्वका सबै कम्युनिस्ट तथा मजदुर पार्टीहरूका दैनिक क्रान्तिकारी व्यवहारहरू, उनीहरूका आन्तरिक तथा बाहिरी सम्बन्धहरू र उनीहरूका सबै विचारहरूलाई मार्गदर्शन गरिरहेको छ।’’
मार्गदर्शक सिद्धान्तको बारेमा निर्णय गरिरहँदाको एउटा महत्त्वपूर्ण प्रसङ्गलाई यहाँ उल्लेख गर्नैपर्छ । केही साथीहरू मार्गदर्शक सिद्धान्तबाट ‘माओत्सेतुङ विचारधारा’ हटाउनु हुन्न भन्ने पक्षमा अत्यन्त दृढ रूपमा उभिनुभएको थियो। छलफल पश्चात यो विषयलाई मतदानमा समेत लगियो । अमृत बोहराले नेतृत्व गर्नु भएको ‘फरक मत’ मतदानमा गयो र पराजित भयो । तर, उहाँहरूले महाधिवेशनमा आफ्नो मत पराजित भए पनि बहुमतले पारित गरेको विचारलाई विनाशर्त शिरोधार्य गरी अगाडि बढ्नु भयो ।
विचार निर्माणमा हामीले अपनाउने गरेको प्रजातान्त्रिक विधि र पार्टी पुष्टि निर्णयलाई पालना गर्ने असल परम्परालाई पुष्टि गर्ने एउटा अत्यन्त सुन्दर उदाहरण बनेको थियो-चौथो राष्ट्रिय महाधिवेशनमा। वास्तवमा मार्गदर्शक सिद्धान्तका सम्बन्धमा गरिएको त्यो निर्णयले त्यसपछिका दिनहरूमा नेकपा (एमाले) लाई सिर्जनात्मक किसिमले अघि बढ्ने कुराको ढोका खुला गरेको थियो ।
ख) बहुलता र बहुदलीय प्रतिस्पर्धाको राजनीतिक विचारको स्वीकारोक्ति
सम्भवतः कम्युनिस्ट पार्टीले पहिलोपटक यो महाधिवेशनमा आफूले भनेको ‘जनवादी व्यवस्था’ मा बहुदलीयतालाई स्वीकार गरेको थियो। त्यो ‘जनवादी व्यवस्था’ कस्तो हुनेछ भन्ने विषयमा महाधिवेशनले पारित गरेको कार्यक्रममा उल्लेख गरिएको थियो- ‘‘आमजनतालाई राजनीतिक आस्था अनुरूप पार्टी खोल्ने, सभा गर्ने, सङ्गठन खोल्ने, व्यावसायिक सङ्गठनहरू खोल्ने पूर्ण स्वतन्त्रता प्रदान गर्ने। बोल्ने, लेख्ने र छाप्ने स्वतन्त्रता दिने, धार्मिक तथा व्यक्तित्व विकासका निम्ति अवसर र स्वतन्त्रता दिने र सम्पूर्ण मौलिक, राजनीतिक अधिकारहरूको प्रयोग गर्ने निर्वाध स्वतन्त्रताको स्थापना एवं ग्यारेन्टी गर्ने ।’’ चौथो महाधिवेशनमा तत्कालीन नेकपा (माले) ले लिएको निर्णय नै (पछि नेकपा (एमाले) ले गरेको) एकदलीय जनवादको परित्याग र बहुदलीय जनवादको सूत्रपातको ऐतिहासिक थालनी थियो।
ग) संयुक्त वाममोर्चा निर्माण गर्ने ऐतिहासिक फैसला
यही चौथो राष्ट्रिय महाधिवेशनपछि, तत्कालीन नेकपा (माले) को विशेष सक्रियता र पहलमा संयुक्त वाममोर्चा निर्माण गरियो। कम्युनिस्टहरूले आफूभित्रका विवादहरूलाई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र अमूर्त सैद्धान्तिक विषयहरूमा आधारित भएर भन्दा पनि आफ्नो देशको क्रान्ति र निर्माणसँग तथा त्यससँग प्रत्यक्ष सरोकार राख्ने अन्तर्राष्ट्रिय विषयहरूमा ठोस ढङ्गले केन्द्रित गर्नुपर्ने निष्कर्ष महाधिवेशनले निकाल्यो। कम्युनिस्ट समूहहरूले ‘‘आफ्ना मान्यता, कार्यक्रम र नीतिहरूका आधारमा स्वतन्त्रतापूर्वक व्यवहारमा जाँदै वैचारिक सङ्घर्षलाई स्वस्थ ढङ्गले सञ्चालित गर्नुपर्ने’’ कुरामा जोड दिँदै ‘‘एउटा देशमा एउटा मात्र कम्युनिस्ट पार्टी’’ हुनसक्छ भन्ने मान्यतालाई पनि खण्डन गर्यो ।

एउटा देशमा एउटा मात्र कम्युनिस्ट पार्टी हुनसक्छ भन्ने जडसूत्रवादी मान्यता राख्ने, आफूलाई मात्र कम्युनिस्ट देख्ने र अरूलाई बलपूर्वक निषेध गर्ने दृष्टिकोणको खण्डन गर्दै विभिन्न कारणले नेपालका कम्युनिस्टहरूलाई ‘अनेक’ बनाएको वास्तविकतालाई स्वीकार गर्दै अन्य कम्युनिस्ट समूहहरूको अस्तित्वप्रति सहिष्णु हुने, आपसी असैद्धान्तिक सङ्घर्षलाई हटाउने र आपसको शत्रुवत् व्यवहार बन्द गर्ने कुराको पक्षमा महाधिवेशनले फैसला गर्यो। यसरी कम्युनिस्ट समूहहरूका बीचमा पनि साझा मान्यताका आधारमा एउटा छुट्टै मोर्चा–वामपन्थी मोर्चा बनाउन सकिने निष्कर्ष निकाल्यो। वास्तवमा महाधिवेशनको यही फैसलापछि ‘संयुक्त वाममोर्चा’ बन्न सम्भव भयो । ०४६ सालको ऐतिहासिक जनआन्दोलनलाई सफलतामा पुर्याउने काममा त्यसले निर्णायक भूमिका खेलको थियो।
घ) प्रधान शत्रुका विरुद्ध बृहत् राजनीतिक संयुक्त मोर्चा
नेपाल कम्युनिष्ट आन्दोलनभित्र लामो समयदेखि नेपाली कांग्रेसलाई हेर्ने तथा त्यससित संयुक्त मोर्चा गर्ने सवालमा रहँदै आएको एकाङ्गी तथा गलत दृष्टिकोणलाई पनि महाधिवेशनले औपचारिक रूपमा सच्याउँदै सही र सन्तुलित विश्लेषण अघि साऱ्यो। निरङ्कुश राजतन्त्रका विरुद्ध नेपाली कांग्रेससित राजनीतिक मोर्चा बनाउन सकिने (तर, त्यसको वर्गचरित्रका सम्बन्धमा भने भ्रम राख्न नहुने) विचारलाई महाधिवेशनले पारित गर्यो । कांग्रेससित कि त दीर्घकालीन मोर्चा बनाउनुपर्ने कि त्यसलाई प्रधान शत्रुकै कोटीमा राख्ने जस्ता त्यसबेलासम्म जारी गलत एवं अस्पष्ट विश्लेषणको खण्डन गर्दै यो सन्तुलित र सही विचार अघि सारिएको थियो । वास्तवमा तत्कालीन ‘माले’ को यही निर्णयपछि नेपाली कांग्रेससित समेत औपचारिक वार्ता गरी निरङ्कुश राजतन्त्र विरोधी संयुक्त सङ्घर्ष सम्भव भएको थियो। परम्परागत जडतालाई भत्काउने आँट गरेर मात्र यो ऐतिहासिक काम सम्भव भएको थियो।
ङ) नेकपाको स्थापना सम्बन्धमा निर्क्यौल
नेपाल कम्युनिस्ट पार्टीको स्थापना कुन दिन भएको हो–कम्युनिस्ट आन्दोलनभित्र विवादको विषय रहँदै आएको थियो। यही कुरालाई ख्याल गरेर केही समय पहिले गठन गरेको कार्यदलले गरेको अध्ययन–अनुसन्धानका आधारमा महाधिवेशनले औपचारिक रूपले १५ सेप्टेम्बर नभएर २२ अप्रिल नै नेकपा गठनको दिन हो भन्ने निष्कर्षसहितको दस्तावेज प्रस्तुत गरेको थियो। आफ्नै पार्टी स्थापना सम्बन्धमा रहेको विवादको महाधिवेशनमा औपचारिक निरुपण गरिएको थियो।
च) संविधानसभाद्वारा गणतन्त्रात्मक नयाँ संविधान बनाउने औपचारिक निर्णय
तत्कालीन नेकपा (माले) ले आफ्नो राष्ट्रिय मञ्चद्वारा राजनीतिक व्यवस्था सम्बन्धमा यस्तो निर्णय गरेको थियो– ‘‘क्रान्तिकारी जनवादी शासन व्यवस्थाका निम्ति क्रान्तिमा सक्रियतापूर्वक लागेका सबै राजनीतिक पार्टीहरू, जनसङ्गठनहरू, मोर्चा सङ्गठनहरू र सैनिक सङ्गठनहरूबाट उचित प्रतिनिधित्व लिँदै आवश्यक देशभक्त, जनवादी व्यक्तित्वहरूलाई समेत सामेल गरेर कुनै उपयुक्त तात्कालिक तथा सरकार सम्बन्धी अस्थायी उपकरण निर्माण गर्ने एवं जनताको बीचमा वर्ग, जाति, लिङ्ग, धर्म, सम्प्रदाय, पेसा, ओहदा आदिको कुनै पनि भेदभाव बिना स्वतन्त्र, निष्पक्ष, समान, गुप्त र बालिग मताधिकारका आधारमा संविधानसभा (Constituent Assembly) को निर्वाचन गर्न र त्यसद्वारा जनवादी गणतन्त्रको संविधान निर्माण गर्ने।’’
०४६ सालको ऐतिहासिक जनआन्दोलनले स्थापित गरेको शक्ति सन्तुलनको विशिष्ट स्थितिलाई ख्याल गर्दै ‘संविधान सुझाव आयोग’ को गठन तथा त्यस मार्फत बनेका ‘नयाँ संविधान’ लाई ‘आलोचनात्मक समर्थन’ गरे पनि संविधानसभाको उन्नत प्रजातान्त्रिक विधिमार्फत बन्ने नयाँ संविधानको पक्षमा नेकपा (एमाले) थियो भन्ने कुराको ऐतिहासिक प्रसङ्गलाई कसैले पनि अस्वीकार गर्न सक्दैन।
छ) नेतृत्व हस्तान्तरणको अनुपम उदाहरण
भनिन्छ– कम्युनिस्ट पार्टीहरूमा नेतृत्व हस्तान्तरणको विषय अत्यन्त असहज हुने गरेको छ। यस सम्बन्धमा अस्वस्थ, असहज र कतिपय बेलामा षड्यन्त्रपूर्ण तरिकाहरू समेत अपनाइने गरेको देखिन्छ। कम्युनिस्ट पार्टीहरू भित्रका यस्तै अभ्यासलाई देखेर पनि विरोधीहरूले कम्युनिस्टहरूलाई अनेक आरोपहरू लगाउने गरेका छन् । तर ‘चौथो महाधिवेशन’ यस्तो महाधिवेशन रह्यो जहाँ बहालवाला महासचिवले आफूपछि अर्को नेतालाई महासचिवको रूपमा प्रस्ताव गर्नुभयो ।

त्यसबेला कमरेड झलनाथ खनाल महासचिव हुनुहुन्थ्यो । उहाँ महासचिव रहनु भएको आठ वर्ष भईसकेको थियो । त्यसबीच उहाँले पार्टीलाई नेतृत्व दिइरहनु भएको थियो । तर, परिवर्तित सन्दर्भमा मदन भण्डारी जस्तो नयाँ उदीयमान व्यक्तिलाई नेतृत्वमा स्थापित गराउन उहाँले नै अगाडि बढेर भूमिका खेल्नुभयो र प्रस्ताव समेत गर्नुभएको थियो, जसलाई सिङ्गो हलले सर्वसम्मतिले समर्थन जनाएको थियो। चौथो महाधिवेशन नेतृत्व हस्तान्तरणको अत्यन्त सहज, स्वाभाविक र उदाहरणीय थलो बनेको थियो।
पैँतीस वर्ष पहिले हामीले आयोजना गरेको ‘चौथो राष्ट्रिय महाधिवेशन’ को अहिले पनि सम्झना भइरहेको छ। वैचारिक-सैद्धान्तिक र सङ्गठनात्मक सवालमा त्यसले गरेका निर्णयहरू र नेतृत्व हस्तान्तरणको विषयमा त्यस बेलाको अत्यन्त उदाहरणीय अभ्यास आज पनि नेकपा (एमाले) पङ्क्तिका लागि प्रेरणादायी प्रसङ्ग बन्न सक्छ।
३. प्रतिनिधित्वको स्थिति
त्यसबखतको प्रतिकूल अवस्थामा पनि निम्न अनुसारको प्रतिनिधित्व भएको थियोः
(क) प्रतिनिधित्व
- पार्टी काम भइरहेका ५६ जिल्ला (… अनुपातमा)।
- भारत प्रवासमा कार्यरत पार्टी सदस्यहरूमध्येबाट।
- पार्टीको नेतृत्व र नियन्त्रणमा रहेका मोर्चा र विभागहरूमा कार्यरत पार्टी सदस्यहरूमध्येबाट।
(ख) उमेर समूह
- बढी उमेर– ५५ वर्ष।
- कम उमेर – २५ वर्ष।
- औसत उमेर – ३६ वर्ष।
(ग) लैङ्गिक प्रतिनिधित्व
- पुरुष– ९५.३ प्रतिशत।
- महिला– ४.७ प्रतिशत।
(घ) वर्ग स्रोत
- मजदुर– ५.९ प्रतिशत।
- भूमिहीन–गरिब किसान– ७.१४ प्रतिशत।
- मध्यम किसान– ५१.१९ प्रतिशत।
- निम्न पुँजीपति वर्ग– ११.९ प्रतिशत।
- धनी किसान– २०.२४ प्रतिशत।
- राष्ट्रिय पुँजीपति– १.१६ प्रतिशत।
- जमिन्दार वर्ग स्रोतबाट– २.२८ प्रतिशत।
(ङ) प्रतिनिधित्वको स्थिति
- पूर्णकालीन– ८४.५२ प्रतिशत।
- अंशकालीन– १५.४८ प्रतिशत।
तत्कालीन नेकपा (माले) ले निर्दलीय र निरङ्कुश शासन व्यवस्थामा प्रतिकूलतामा पनि सफलताका साथ सम्पन्न गरेको ‘राष्ट्रिय महाधिवेशन’, त्यहाँ भएका छलफल र गरिएका निर्णयहरू ऐतिहासिक महत्त्व राख्ने खालका थिए । त्यसबेला गरिएका महत्त्वपूर्ण कतिपय निर्णयका जगमा आज पनि नेकपा (एमाले) हिँडिरहेको छ । त्यसबेला त्यस्ता महत्त्वपूर्ण निर्णयहरूका लागि जननेता मदन भण्डारीको निर्णायक भूमिका थियो । उहाँले प्रतिपादन, व्याख्या र विश्लेषण गर्नु भएको जनताको बहुदलीय जनवादकै मार्गदर्शनमा आजको नेकपा (एमाले) अगाडि बढिरहेको छ । यिनै सन्दर्भमा त्यसबेलाको चौथो राष्ट्रिय महाधिवेशनको ऐतिहासिक महत्त्वलाई बुझ्नु पर्दछ।

Leave a Reply