डेनमार्कमा नेपाली व्यवसाय प्रवर्द्धन र आर्थिक कूटनीति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । डेनमार्कस्थित नेपाली दूतावास र नेपलिज बिजनेस एसोसियसन डेनमार्कले २०२५ नोभेम्बर २३ मा संयुक्त रूपमा नेपाली व्यवसाय प्रवर्द्धन तथा आर्थिक कूटनीति सुदृढीकरणमा केन्द्रित एक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्।

राजदूत शुम्निमा तुलाधरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दूतावासतर्फबाट नियोग उपप्रमुख सावित्रा ओली, तृतीय सचिव अमृत लोप्चान, तथा एनईबीएका उपाध्यक्ष शशी श्रेष्ठ, लेखा परीक्षक नविन पौडेल, सदस्यहरू बुद्धि सापकोटा, सुवर्ण गौतम, योगेश भट्टराई सहित डेनमार्कभरिका नेपाली व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सहभागीहरूले डेनमार्कमा नेपाली उद्यमीहरूले सामना गर्ने अवसर र चुनौतीबारे विचार–विमर्श गर्दै नेपाली उत्पादन, आईटी सेवा, स्टार्टअप, क्षमता विकास तथा सांस्कृतिक पहिचानमार्फत आर्थिक कूटनीति अघि बढाउन दूतावास र व्यवसायीबीचका सम्भावित सहकार्यका क्षेत्रहरू पहिचान गरे।

राजदूत तुलाधरले नेपाली समुदाय र व्यवसायीलाई प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्न दूतावास सदैव तत्पर रहेको उल्लेख गर्दै, ‘नेपाल फेस्विल’ मार्फत नेपाललाई डेनमार्कमा अझ प्रभावकारी रूपमा चिनाउने प्रतिवद्धता व्यक्त गरिन् ।

त्यसैगरी, एनईबीएका संस्थापक अध्यक्ष मिलन टि. श्रेष्ठले कार्यक्रमले डेनमार्कभर विखरिएका नेपाली व्यवसायीहरूलाई एउटै प्लेटफर्ममा ल्याई सामूहिक पहिचान मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

“हामी ठूलो संख्यामा नभए पनि मेहनत, संस्कार र इमानदारीका कारण ‘नेपाली’ नामले डेनमार्कमा विशेष सम्मान पाएको छ,” उनले भने। नयाँ उद्यम सुरु गर्न चाहने नेपालीलाई स्वागत गर्दै उनले डेनमार्क सीप, लगनशिलता र सद्भाव भएका सबैका लागि ठूलो अवसर प्रदान गर्ने देश भएको बताएका थिए।

श्रेष्ठले संस्थाका उद्देश्यहरू-सहकार्य र नेटवर्क विस्तार, नयाँ उद्यमीलाई परामर्श, कानुनी तथा प्रणालीगत प्रक्रियामा सहयोग, नेपाल–डेनमार्क बीच व्यापार तथा लगानी प्रवर्द्धन, र नेपाली पहिचानलाई दिगो रूपमा संरक्षण-लाई पुनः स्पष्ट पार्दै, सामूहिकताबाट साझा आर्थिक लाभ लिन सकिने उदाहरणहरू पनि प्रस्तुत गरे।

“एक भएर काम गर्न सकेमा सबै लाभान्वित हुन्छौँ,” भन्दै उनले सदस्यहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *