
काठमाडौं । मंसिर १० गते मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा गरेर अनिवार्य अवकाशमा जाँदैछन् । उनको अवकाशले सिंहदरबारको सर्वोच्च प्रशासनिक कुर्सी रिक्त हुनाको साथै सचिव तहमा नयाँ शक्ति सन्तुलन र प्रतिस्पर्धाको ढोका खोल्नेछ ।
प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषद् नयाँ मुख्यसचिव नियुक्त गर्न तयारीमा छ । वरिष्ठता, राजनीतिक शक्ति, कामको इतिहास, राम्रो छवि र क्षमता आगामी मुख्यसचिव टुंग्याउने निर्णायक आधार बन्नेछन् ।
एकनारायण अर्यालको ‘चौथो नम्बरबाट मुख्यसचिव’ यात्रा
एकनारायण अर्याल मुख्यसचिव हुँदा उनी वरीयतामा चौथो नम्बरमा थिए । उनीभन्दा अघि तोयनारायण ज्ञवाली, रामकृष्ण सुवेदी र दिनेश भट्टराई क्रमशः पहिलो दोस्रो र तेस्रो नम्बरमा थिए । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकटताका कारण अर्याल आफ्नो वरिष्ठताभन्दा अघि मुख्यसचिव बन्न सफल भए । त्यसपछि ज्ञवालीले सचिवबाट राजीनामा दिए भने सुवेदी र भट्टराईले आफ्नो केही समय बाँकी रहेको सचिवको कार्यकाल पूरा गरेर अवकाश लिए ।
यस पटक भने अर्याल आफैँ मंसिर १० मा अबकाश हुँदैछन् र साथमा अर्का सचिव गोकर्णमणी दुवाडी पनि ५ वर्षे सचिवको कार्यकाल पूरा गर्दै अवकाशमै जादैँछन् । तर अर्यालले अवकाशअघि नै राजीनामा दिए भने ? त्यस्तो अवस्था आए वरीयतामा पहिलो नम्बरमा रहेका दुवाडी मुख्यसचिवका स्वाभाविक दाबेदार बन्छन् । तर, दुवाडी अहिले जेन-जी आन्दोलनसँग जोडिएर विवादित बनेकाले उनलाई मुख्यसचिव बन्न त्यति सजिलो छैन ।
गोकर्णमणि दुवाडीः सबैभन्दा ‘सीनियर’, तर जोखिमले घेरिए
वरीयताको पहिलो नम्बरमा रहेका दुवाडी वरिष्ठताको आधारमा मुख्यसचिवका पहिलो दाबेदार हुन् । जेनजी आन्दोलनका ‘मुख्य प्रशासनिक जिम्मेवार’ अर्थात गृहसचिव थिए । गृह प्रशासन र प्रहरी प्रशासन दुवैको सम्पूर्ण जिम्मेवारी गृहसचिवमार्फत चल्छ । त्यसैले आन्दोलनमा भएको क्षति, बल प्रयोग, राजनीतिक निर्णय र कार्यान्वयन दुवाडीको नामसँग जोडिएको छ । अहिले जाँचबुझ आयोगले ‘विदेश जान निषेध’ समेत गरिसकेको छ । यो अवस्थाले दुवाडीलाई मुख्यसचिव बनाउने सम्भावना अत्यन्त न्यून देखिन्छ ।
गृह मन्त्रालयदेखि तथ्यांकको नेतृत्वसम्म गरिसकेका छन् दुवाडीले । उनीसँग सबैतिरको अनुभव छ । राष्ट्रिय योजना आयोगको सचिव, गृह मन्त्रालयको सचिव, राष्ट्रिय तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी, भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सचिव, निर्वाचन आयोगको सचिव, प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव हुदैँ मधेश प्रदेशको प्रमुख सचिवसम्म । विशेषगरी निर्वाचन व्यवस्थापन, प्रादेशिक प्रशासन र तथ्यांक नीति निर्माणमा उनीसँग राम्रो अनुभव छ ।
२०७९ सालको स्थानीय तहको निर्वाचनदेखि प्रदेश हुँदै प्रतिनिधिसभाको निर्वाचन समेत गरेको दुवाडीसँग अनुभव छ । तर, तत्कालीन गृहमन्त्री रमेश लेखकसँगै उनी भिजिट भिसा प्रकरण, मानव तस्करी संलग्नता आरोप र अख्तियारको निगरानी सूचीमा परिरहेका छन् । त्यसैले सबैभन्दा वरिष्ठ सचिव भएर पनि दुवाडी मुख्यसचिव बन्न सहज छैन ।
सुमनराज अर्यालः वरीयताको आधारमा सबैभन्दा मजबूत दाबेदार
यदि अहिलेका मुख्यसचिव अर्यालले मंसिर १० भन्दाअघि राजीनामा नदिएको अवस्थामा मुख्यसचिवका लागि दुवाडी र अर्याल दुवै अवकाश सूचीमा पर्छन् । त्यसपछि वरीयताको पहिलो नम्बरमा आउने पात्र हुन्, रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल । उनी करिब ५ वर्षे सचिवको कार्यकालयमा कुनै पनि विवादमा नपरेका व्यक्ति हुन् । नेपाल प्रहरीको प्रमुख पनि पहिलो नम्बरकै व्यक्ति नियुक्त भएको ताजा उदाहरण छ ।
अर्याल यसअघि थोरै समय राष्ट्रिय योजना आयोगको सचिव, त्यसअघि युवा तथा खेलकुद मन्त्रालयको सचिव, त्यस अघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव र त्यसअघि कोशी प्रदेश सरकारको प्रमुख सचिव भइसकेका व्यक्ति हुन् । उनले प्रशासनिक सुधार, नीति निर्माण र संघीय संरचनामा व्यवहारिक नेतृत्व देखाएका छन् ।
तर, उनको मुख्यसचिवको कार्यकाल लामो छैन । उनी ५८ वर्षे उमेर हदका कारण ६ महिना मुख्यसचिवको जिम्मेवारी सम्हालेर आगामी असार २६ गते नै अनिवार्य अवकाशमा जानेछन् । अर्थात्, आगामी फागुनमा निर्धारित निर्वाचन गराएर ७ महिना भन्दा कम समय मुख्यसचिवका रूपमा रहनेछन् ।
प्रमिलादेवी बज्राचार्यः दोस्रो मुख्य सचिव महिला बन्लिन् ?
प्रधानमन्त्री सुशिला कार्की स्वयं महिला भएकाले महिला प्रधानमन्त्रीसँगै मुख्यसचिव पनि महिला बनाउने ‘मूड’ चलेमा प्रमिलादेवी बज्राचार्यको भाग्य खुल्नेछ । वरिष्ठताको आधारमा उनी अहिले दोस्रो वरीयतामा छिन् ।
प्राविधिक सेवाबाट मुख्यसचिव बन्ने अवसर पनि उनैलाई नै छ । शंकरदास बैरागी परराष्ट्र र लिलादेवी गड्तौला न्याय तथा कानून सेवाबाट मुख्यसचिव भइसकेकाले प्रशासन बाहेक सेवामा प्राविधिक इन्जिनियरिङ सेवामा मुख्यसचिव बन्ने अवसर बज्रचार्यलाई छ । उनले खानेपानी तथा सरसफाइको क्षेत्रमा, जल आपूर्ति नीति निर्माणमा, वित्तिय प्रगति, समयमै परियोजना सम्पन्नता, स्रोत व्यवस्थापन र शहरी खानेपानी विस्तारमा उल्लेखनीय योगदान पुर्याएकी छन् ।
मधुसुदन बुर्लाकोटीः तथ्यांक र खरिदमा विज्ञता, आलोचक छवि
वरीयताको तेस्रो नम्बरमा रहेका मधुसुदन बुर्लाकोटी मुख्यसचिवका शक्तिशाली दाबेदार हुन् । उनी अहिले राष्ट्रिय तथ्यांक कार्यालयमा करिव एक वर्षदेखि प्रमुख तथ्यांक अधिकारी (सचिव)को जिम्मेवारीमा छन् । विशेषगरी उनको जनगणना, तथ्यांक नीति, सरकारी योजना निर्माणका आधारभूत तथ्यांक प्रणाली आधुनिकीकरणमा मुख्य भूमिका रहेको छ ।
यसअघि बुर्लाकोटी सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत थिए । अनियमितता र कर्मचारी अभावबारे खुलेर बोल्ने स्वभावका कर्मचारी हुन् । साथै निजामती सेवाका विकृति विसंगतीका बारेमा सार्वजनिक टिप्पणीले उनी आलोचनात्मक चेत भएका कर्मचारीमा गनिन्छन् । यदि सरकारले सबैभन्दा आलोचक सचिव छान्ने हो भने बुर्लाकोटी प्रमुख दाबेदार बन्नेछन् । सार्वजनिक खरिद अनुगमन कार्यालयपछि उनी उपराष्ट्रपति कार्यालयमा केहि समय बसेका थिए भने त्यसअघि सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए ।
कृष्णहरी पुष्करः प्राविधिक, प्रशासनिक र राजनीतिक सन्तुलनमा दक्ष
वरीयतामा चौथो भए पनि दाबेदारमध्ये उभिएका छन् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरी पुस्कर । किनभने उनी सबैभन्दा ‘सबैलाई मिलाउने’ स्वभावका छन् ।
उनले प्रधानमन्त्री कार्यालयदेखि, अर्थसचिव, राजस्वसचिव सामान्य प्रशासनसचिव, श्रम मन्त्रालय लगायतका महत्वपुर्ण मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालिसकेका छन् । महत्वपुर्ण मन्त्रालयका रुपमा रहेको गृहसचिवको जिम्मेवारी मात्रै सम्हाल्न बाँकी छ । यद्यपी सहसचिव हुदाँ उनले गृह मन्त्रालय मातहत रहेका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका छन् । उनीसँग प्रशासनिक, नीतिगत र वित्तीय तीनै क्षेत्रमा अनुभव छ । उनले द्वन्द्व, शान्ति र विकासमा पीएचडीसमेत गरेका छन् ।
उनी बहुआयामिक क्षमता भएको व्यक्तिमा समेत गन्ने गरिएको छ भने उच्च तहमा सबैसँग मिलेर चल्न सक्ने कुशल कर्मचारी प्रशासकको रूपमा पनि औल्याउने गरेका छन् ।
को मुख्यसचिव भए, कसलाई के असर पर्छ ?
यदि सुमनराज अर्याल मुख्यसचिव नियुक्त भएको अवस्थामा सचिवद्धय किरणराज शर्मा, हरिप्रसाद मैनाली, गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ मुख्यसचिवको लाइनमा आउनेछन् । अर्याल अवकाश हुँदा अहिले मुख्यसचिवको प्रतिस्पर्धामा रहेका बज्राचार्य, बुर्लाकोटी, पुष्कर तीनैजना ५ वर्षे सचिवको कार्यकालले अवकाशमा गइसकेका हुनेछन् ।
यदि दोस्रो नम्बर वरीयतामा रहेका बुर्लाकोटी मुख्यसचिव नियुक्त भएको अवस्थामा उनपछि गोपालप्रसाद सिग्देल, रविलाल पन्थ, कृष्णबहादुर राउत, रामेश्वर दंगाल, मुकुन्द निरौला आगामी मुख्यसचिवको प्रतिस्पर्धामा आउनेछन् ।
यदि तेस्रो नम्बर वरीयतामा रहेकी बज्राचार्य वा पुष्कर मुख्यसचिव नियुक्त भएको अवस्थामा
यी दुईजना पूरै ३ वर्षे कार्यकाल मुख्यसचिव बस्न सक्ने भएकाले सचिवद्वय सरिता दुवाडी, गोविन्द कार्की, मदन भुजेल, वीरेन्द्र यादव, चन्द्रकला पौडेल, आदिले मात्रै आगामी मुख्यसचिवका लागि प्रतिस्पर्धा गर्न पाउन सक्छन् । यस अवधिमा डा. दिपक काफ्ले, घनश्याम उपाध्याय, दिनेशकुमार घिमिरे, नारायण दुवाडी, लक्ष्मीकुमारी बस्नेत, राधिका अर्याल मुख्यसचिवको लाइनमै आउन पाउने छैनन् ।
अर्थात कसलाई मुख्यसचिव बनाइन्छ, यसले अगाडि ५-७ वर्षसम्मको सम्पूर्ण कर्मचारीको नेतृत्व संरचना बदलिनेछ ।

Leave a Reply