सिन्धुपाल्चोकमा थपिए ९ हजार बढी मतदाता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नौ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता दर्ता अभियान सञ्चालन गरिएकामा जिल्लामा नौ हजार ३ सय १९ मतदाता थपिएका हुन् ।

असोज १० देखि मङ्सिर ५ गतेसम्म मतदाता दर्ता गर्न सकिने व्यवस्था रहेकामा कार्यालय पुगेर र राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावली दर्ता भएको जिल्ला निर्वाचन कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी शर्मिला चौलागाईंले जानकारी दिइन् ।

चौलागाईंका अनुसार कार्यालयमै पुगेर दुई हजार ३ सय ८० जनाले नाम दर्ता गराएका छन् । त्यसमध्ये महिलाको सङ्ख्या ९ सय २८ र पुरुषको सङ्ख्या एक हजार ४ सय ५२ छ । यस्तै, राष्ट्रिय परिचयपत्रमार्फत छ हजार ९ सय ३९ जनाले नाम दर्ता गराएका छन् ।

राष्ट्रिय परिचयपत्र बनाएकाले सिधै अनलाइनमार्फत नाम दर्ता सक्ने व्यवस्था गरिएपछि मतदातालाई सहज भएको छ । कार्यालयमा पुगेरभन्दा धेरै मतदाताले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएको कार्यालयले जनाएको छ ।

यसैगरी, दुई सय ५० जनाले ठाउँसारी र दुई सय ५० जनाले त्रुटि सच्याउन कार्यालयमा निवेदन दिएको चौलागाईंले बताइन् । असोज १० गतेसम्म जिल्लामा दुई लाख ६५ हजार १ सय ९१ मतदाता रहेको कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *