
काठमाडौँ । अभियन्ता खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल पार्टी’ले निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार कात्तिक १८ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएकोमा आइतबार हाम्रो पार्टी नेपाल दल दर्ता भएको हो ।
गोलो घेराभित्र राम्रो जनाउने लाइक चुनाव चिन्ह रहेको सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल २१६ नम्बरमा दर्ता भएको आयोगले जनाएको छ । आयोगका अनुसार सुनारले सोमबार आयोगमा बाजागाजासहित दल दर्ताको प्रमाणपत्र लिन आउने जानकारी गराएका छन् ।
सुनार नेतृत्वको हाम्रो पार्टी नेपालसँगै आइतबार सत्यवानकुमार सिंह नेतृत्वको स्वाभिमान पार्टी र रन्तप्रसाद श्रेष्ठ नेतृत्वको मुठीमाा धानको बाला निर्वाचन चिन्ह रहेको नागरिक सर्वोच्चता पार्टीसमेत दर्ता भएको छ । स्वाभिमान पार्टीले गत कात्तिक २८ गते र नागरिक सर्वोच्चता पार्टी नेपालले गत कात्तिक २१ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो ।
आइतबार थप ३ दल दर्ता भएसँगै जेनजी आन्दोलनपछि मात्रै दर्ता हुने दलको संख्या १३ पुगेको छ । अझै २५ वटा दल दर्ताको प्रक्रियामा रहेका छन् । मंसिर १० गते बिहानसम्म दल दर्ताको प्रमाणपत्र लिने दलले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन पाउनेछन् ।

Leave a Reply