नीलम पासवानले नसोचेको संसदयात्रा–पतिलाई साउदीको रोजगारी,तीन सन्तान र जनताको जिम्मेवारी

रुपन्देही । राजनीति गरेर माननीय बन्न धेरैले तयारी गर्छन्, संघर्ष गर्छन्, तर अवसर सोचेको र चाहेको समयमा पाउनै सक्दैनन् जहाँ कल्पना गरिएको हुन्छ । तर केहीलाई भने भाग्यले अप्रत्याशित मोडमा त्यस्तो अवसर ल्याइदिन्छ । लुम्बिनी प्रदेशमा नीलम पासवान पनि यस्तै उदाहरण हुन् जो राजनीतिमा लागेको ४ वर्षमै माननीय बनिन् त्यो पनि अप्रत्याशित समयमा । पहिलो चरणमा सांसद बन्ने सूचीमा नपरेकी उनी अन्ततः छोटो समयका लागि प्रदेशसभा सदस्यको कुर्सीमा बस्ने भाग्यमानी माननीय बन्न पुगेकी हुन् ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ३ पडरियाकी ३२ वर्षीया नीलम छोटो समयका लागि जनमत पार्टीको तर्फबाट समानुपातिक सांसद बनेकी हुन् । निलमले मंसिर ८ गते पहिलो संसद् यात्राको लागि प्रदेश सभामा जाने तयारीमा छन् तर यो महत्त्वपूर्ण अवसरमा उनका राजनीतिक र जीवनसहयात्री श्रीमानले विदेशबाटै उनलाई शुभकामना दिनुपर्ने बाध्यतामा छन् । निलमका श्रीमान् विनोद पासवान रोजगारीका लागि असार महिनामा साउदी अरब गएका कारण श्रीमतीले पाएको यो महत्त्वपूर्ण अवसर प्रत्यक्ष रूपमा देख्न पाएका छैनन् ।

निलम र विनोदका १५ वर्षीय छोरा,४ वर्षीय छोरी र २ वर्षीय छोरी छन् । श्रीमान् नभएकाले उनले सानो छोराछोरी घरमै व्यवस्थापन गरेर संसद् भवन जाने तयारी गर्दैछिन् । ‘श्रीमान् कमाउन साउदी अरब जानुभएको छ, ४ वर्षदेखि म राजनीतिमा जोडिएको थिएँ, श्रीमान् पनि विदेशबाटै संघीय परिषद सदस्य रहेर पार्टीमा काम गरिरहनुभएको छ, के गर्ने यहाँ बसेर खर्च चलाउन सकिएन विदेश जानुपरेको छ’ निलमले भनिन् ।

तर निलमले यो जिम्मेवारी पाउनका लागि योजनाबद्ध भन्दा बढी संयोगको परिणाम बनेको बताउँछिन् । ०७९ सालमा पार्टीले बुझाएको समानुपातिक सूचीमा चौथो स्थानमा रहेकी उनी पहिलोचोटि सांसद बन्ने मौका पाइनन् । पार्टीबाट यसअघि ३ जना मात्रै सांसद भएकाले उनले नपाएकी हुन् । तर यसअघि समानुपातिक सूचिमा सांसद बनेकी गीता गुरुङले राजीनामा दिएपछि त्यो कुर्सी खाली रह्यो र लामो समयपछि नीलमका लागि ढोका खुल्यो ।

जनमत पार्टीबाट प्रदेशसभा सदस्य रहेकी गीता गुरुङले वैशाख ३० गते बेलायतबाटै राजीनामा दिएकी थिइन् । पार्टी निर्णय नमानेको र सदनमा पनि नियमित नगएको भन्दै पार्टीभित्र आलोचनामा परेकी उनी लामो समयदेखि बेलायतमा बस्दै आएकी थिइन् । पार्टीका बैठकमा अनुपस्थित रहँदै आएकी उनलाई निरन्तर दबाब दिइए पनि उनले अटेर गरिन् । अन्ततः पार्टीले लिखित पत्रमार्फत राजीनामा गर्न आग्रह गर्‍यो । राजीनामा स्वीकृत भएपछि पद खाली रह्यो र त्यो रिक्तता नीलमको राजनीतिक जीवनमा निर्णायक मोड बन्यो ।

जेठदेखि असोजसम्म पद खाली रह्यो । अन्ततः जनमत पार्टीले चौथो नम्बरमा रहेकी नीलमको नाम अघि बढायो । निर्वाचन आयोगमा पत्र लिन उनी २ वर्षे छोरा बोकेरै काठमाडौं पुगेकी थिइन् । त्यो दृश्य नै उनी राजनीतिक यात्रामा कति उत्साही र जिम्मेवार छन् भन्ने प्रमाण रहेको निर्वाचन आयोगमा पुगेकाहरूले जनाएका थिए ।

निलमले प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसमक्ष शपथ ग्रहण गरिसके पनि सदनमा भने मंसिर ८ मा पहिलोपटक गर्ने हुन् । निलमले भनिन्,‘तेस्रो नम्बर रहनुभएकी जनजाति महिला सांसद बन्नुभयो, म बन्न पाइनँ । तर यो बेला मेरो कल्पनाभन्दा पनि पर सांसद बन्ने अवसर पाइयो । भाग्य भनौँ वा संयोग, यो अवसर मेरो लागि जिम्मेवारी पनि हो । मैले केही नयाँ काम गरेर देखाउनुपर्ने छ समाजका लागि, परिवारका लागि ।’

नीलम कम उमेरमै प्रदेशसभा सदस्य बन्ने सीमित महिलामध्ये एक हुन् । उनी जनमत पार्टीको स्थापनाकालदेखि नै सक्रिय रहिआएकी छन् । पार्टीमा उनी र उनका श्रीमान् विनोदकुमार पासवान दुवै जिम्मेवारीमा रहेर काम गर्दै आएका छन् । पार्टीका लुम्बिनी संसदीय दलका नेता तथा पूर्वमन्त्री सीके गुप्ताले नीलमलाई ‘इमानदार, निष्ठावान् र मेहनती नेतृ’ भनेर परिचय दिएका छन् । ‘उहाँ र उहाँका श्रीमान् सुरूवातदेखि नै पार्टीमा क्रियाशील हुनुहुन्छ’ गुप्ताले भने, ‘शिक्षित हुनुहुन्छ, तराईको दलित समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ, समय छोटो भए पनि उहाँसँग इच्छाशक्ति छ ।’

नीलम अहिले लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छन् । अध्ययनसँगै पार्टीको जिम्मेवारी, पारिवारिक भूमिका र सामाजिक काममा सन्तुलन मिलाउँदै उनी अघि बढेकी छन् । राजनीतिक जीवनमा यो पहिलो ठूलो अवसर पाएकोमा उनी उत्साहित देखिन्छिन् ।

‘राजनीतिमा कहिले अवसर जुर्छ भन्ने थाहा हुँदैन’ उनले भनिन्, ‘देशमा युवाले नेतृत्व गर्नुपर्ने बेला आएको छ । म संसदमा युवाको आवाज उठाउने सोचमा छु । तराईका समस्या उठाउँछु, आफ्नो भूगोलका समस्या उठाउँछु तर समय छोटो छ अहिलेको संसदमा मेरो तर गर्नु धेरै छ ।’ तराई–मधेशमा महिला, त्यसमा पनि दलित समुदायका महिलाहरू अझै पछाडि परेका छन् भन्नेमा उनी सचेत छन् । उनी भन्छिन्, ‘दलित महिला नेतृत्वलाई सशक्त बनाउन नीतिगत योजना चाहिन्छ । त्यसको कार्यान्वयनका लागि संसदमै पहल गर्ने सोच छ ।’

प्रदेशसभामा यो उनको पहिलो अनुभव हो । त्यसैले उनले अग्रज नेताहरूको मार्गदर्शनमा अघि बढ्ने तयारी गरेकी छन् । ‘जनताको सेवा गर्न चाहन्छु, विशेष गरी महिलाको सशक्तीकरण, शिक्षा र सामाजिक विकासका क्षेत्रमा योगदान पुर्‍याउने योजना बनाएकी छु’ उनले भनिन् ।

नीलमको सांसद बन्ने कथा केवल राजनीतिक नियुक्ति मात्र होइन, एक प्रेरणादायी यात्रा पनि हो, जहाँ समर्पण, धैर्यता र संयोग एकै ठाउँमा आएर नयाँ अवसर सिर्जना भयो । उनले अपेक्षा नगरेको स्थानमा पुगिन्, तर अब उनले त्यो जिम्मेवारीलाई अवसरभन्दा बढी कर्तव्यको रूपमा लिन थालेकी छन् ।

उनको कथा धेरै युवा र विशेषगरी महिलाका लागि सन्देश हो, राजनीति होस् वा जीवनका अन्य क्षेत्र, अवसर कहिले आउँछ भन्ने थाहा हुँदैन । तयारी, धैर्यता र इमानदारीले कहिलेकाहीँ भाग्यलाई पनि आफ्नै पक्षमा ल्याइदिन सक्छ । सप्तरी माइत भएकी निलम बिहेपछि यही बस्दै आएकी हुन् । उनका ससुराबुवा लुम्बिनी विकास कोषमा लामो समय काम गरेपछि यतै जग्गाजमिन जोडेर बसेका हुन् ।

‘मधेसमा महिला र त्यसमाथि दलित महिलाको समस्या निकै पीडादायी छ, मैले सबै विभेद र खासगरि मधेसी महिलाको विभेदका विषयमा अघि बढ्नेछु, त्यसैगरी बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको कुरा उठाउनेछु, पहिलो दिन’ उनले भनिन् ।

नीलमलाई बधाई दिँदै जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले धैर्य गरे एकपटक अवसर आउने र त्यसको उदाहरण नीलम पासवान भएको जनाएका छन् । उनले अवसरका लागि पार्टी फेर्नेहरूलाई व्यंग्य गर्दै यसो नगर्न आग्रह गरेका छन् । ‘धैर्य राखेपछि आफैँ पाइन्छ, कहिले यता कहिले उता, कहिले दुई डुंगामा खुट्टा राखे बल्ड्याङ् लडिन्छ । जनमत पार्टीका लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिएपछि निर्वाचन आयोगले सो ठाउँमा बन्द सूचीबाट दलित कोटाबाट निलम पासवानलाई निर्वाचित गरेको छ’ उनले भनेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *