एमाले विग्रहमा बिलाएका नेता- सीपी मैनालीदेखि शिव भण्डारीसम्मका कुरा 

राजनीतिले मानिसलाई सफल वा असफलमध्ये एउटा त बनाउँछ नै । यसले नाम, गुमनाम र बदनामसम्म दिन्छ । कतिपयले यीमध्ये केही कमाउँदैनन् । नाम कमाएकाले बदनाम नकमाए पनि परिस्थितिले गुमनाम भएका छन् ।

माधव नेपालको नेतृत्वमा एमाले विभाजन हुँदा उनले पार्टी नै बनाउलान्, राम्रै गर्लान् भनेर कम्युनिष्ट आन्दोलनमै जीवन बिताएका थुप्रै नेता साथमा लागे । तर, हुँदाखाँदाको पार्टीलाई तीन टुक्रा पारेर माओवादी केन्द्रसहितको एकतामा गएपछि केही इतिहास भएका ‘राम्रा’ नेता यता न उता भए । जस्तो कि, झापा आन्दोलनका नेता घनेन्द्र बस्नेत, सुदूरपश्चिममा कम्युनिष्ट उत्पादन गर्ने डा.ताराप्रसाद जोशीदेखि दोलखामा पार्टी निर्माणकालदेखि काम गर्दै आएका शिव भण्डारीसम्म आज ‘यता न उता’ को अवस्थामा छन् ।

यीमध्ये बस्नेत घनश्याम भुसाल नेतृत्वको नेकपा एस पुनर्गठन अभियानमा छन् । डा.जोशी कुलमान घिसिङ संरक्षित उज्यालो पार्टीमा लागे । तर, भण्डारी न एकतामा गए, न पुनर्गठन अभियानमा जोडिए, न त एमालेमै फर्किएका छन् । कम्युनिष्ट पार्टीमा हुने विभाजन र विग्रहले यसअघि पनि आन्दोलनमा त्याग र समर्पणका कारण स्थापित थुप्रै नेताले गुमनाम जीवन बिताइरहेका छन् । त्यो सिलसिला सकिएन, बरु जारी रह्यो । त्यसका उदाहरण बनेका छन्, शिव भण्डारी ।

 

पञ्चायतकालमा सीपी मैनाली भन्ने नाम यस्तो ‘हाउगुजी’ थियो कि, आज ती दिनको चर्चा गर्दा दन्त्यकथाजस्तो हुन्छ । २०५४ को एमाले विभाजनमा सरिक भए । २०५८ मा एमाले फर्किने क्रममा उनी सामेल भएनन् । आजसम्म उनी नेकपा माले नाममै पार्टी चलाइरहेका छन् । तर, उनीसँग हिजोको विरासत बाँकी छैन । सीमित नेता–कार्यकर्तालाई साथमा लिएर ‘सर्भाइभल पोलिटिक्स’ गरिरहेका छन् । अर्थात्, राजनीतिमै छन् । तर, कहाँ, के गर्दै छन् भन्ने विषयको त्यति धेरै खोजी नहुनेमा पर्छन् ।

उनी झापा आन्दोलनदेखि कोअर्डिनेसन केन्द्र निर्माणका मुख्य नेता हुन् । कोअर्डिनेसन केन्द्रलाई नेकपा माले बनाइँदा उनी संस्थापक महासचिव नै भए । उनीपछि झलनाथ खनाल, त्यसपछि मदन भण्डारी महासचिव भए । २०३९ सालमा पार्टीबाट कारबाहीमा परे । उनीपछि अरु महासचिव त भए, मालेको नेताका रूपमा चर्चामा चाहिँ सीपी नै रहे । उनी २०५४ को विभाजन र त्यसपछि पनि राष्ट्रिय राजनीतिमा छाइरहे । तर, २०५८ को एकता अस्वीकार गरेपछि आन्दोलनको मूल प्रवाहबाट टाढिए । पुरानो क्रेज बाँकी रहेन । पार्टीलाई सीपी चाहिन्छ भन्ने पङ्क्ति त्यति बेलासम्म सीपीप्रतिको मोहबाट टाढिइसकेको थियो ।

सीपी जसरी नै उनका दाजु तथा झापा आन्दोलनबाटै अगाडि बढेका नेता राधाकृष्ण मैनाली (आरके) पनि राजनीतिमा अलप प्रायः स्थितिमा रहे । २०५९ सालमा माधवकुमार नेपाल महासचिव हुँदा पार्टीबाट कारबाही गरियो । त्यो रिसले उनी शाहीकालीन सरकारको शिक्षा तथा खेलकुद मन्त्री हुन गए ।

उनी राजाको मन्त्रिपरिषद्मा नगएका थिए भने क्रेज कायम राख्थे । तर, त्यसपछि कम्युनिष्ट राजनीतिमा उठ्नै सकेनन् । २०६२–०६३ को जनआन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आयो । उनी त्यसमा गए । त्यहाँ जहिल्यै ‘राजावादी’ को खप्की खाए । फेरि २०७२ मा एमालेमा फर्किए । काम पाएनन् । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीको आलोचकका रूपमा पेस भए । फलतः एमालेमा पनि टिक्न सकेनन् ।

उनी जसरी नै हराए, देवीप्रसाद ओझा । कुनै बेला एमाले र मालेका हस्तीमध्येका हुन्, यी नेता । तर, आजको राजनीतिमा उनीहरू गुमनाम छन् । कारण हो, पार्टीको विभाजन र विग्रहको सिकार बन्नु ।

२०७७ को विभाजनमा कतै नलागेका वामदेव गौतम अहिले बल्ला राजनीतिमा बौरिएका छन् । यसबीचको कालखण्डमा उनी गुमनाम थिए । पार्टी एकता राष्ट्रिय अभियानका नाममा राजनीति गरे । त्यसले जनमानसमा कुनै प्रभाव राखेन । बरु, युवराज सफलसम्मले वामदेवलाई पार्टीबाट निकाल्न खोजे । केही महिनाअघि एकीकृत समाजवादी हुँदै अहिले नेकपाको चौथो वरियताको नेता बनेका छन् ।

राजनीतिका अर्का पीडित पात्र हुन्, घनेन्द्र बस्नेत । २०४८, २०५१ र २०५६ का आम निर्वाचनसम्मका सांसद हुन् । पछि उनी पार्टीभित्र नेताहरूको नजरमा परेनन् । २०७७ मा तत्कालीन नेकपा विभाजित हुँदा माधव–झलनाथ समूह हुँदै २०७८ मा एकीकृत समाजवादी गठन हुँदा त्यसमा लागे । तर, अहिलेको ध्रुवीकरणमा कतै सक्रिय भएनन् । उनी माओवादी केन्द्रसहितको एकतामा कदापि नजाने र यथास्थितिमा एमालेमा पनि नफर्किने अडानमा छन् ।

शिव भण्डारीः इतिहासदेखि विचलनसम्म

दोलखा जिल्लामा एमाले (तत्कालीन माले हुँदै) निर्माण कालका नेता शिव भण्डारी त्यही अवस्थामा छन् । घनश्याम भुसालहरू पुनर्गठन भनेर तल्लीन छन् । रामकुमारी झाँक्री–किसान श्रेष्ठहरू एमालेमा फर्किए । तर, उनीहरू जत्तिका मात्र हैन, इतिहास पल्टाउँदा बढी नै हिसाब निस्कने शिव भण्डारी आज कतै छैनन् ।

२०३६ सालबाटै सक्रिय कम्युनिष्ट राजनीतिक सुरु गरेका उनका आफ्नै बुबा रामप्रसाद भण्डारी भने गाउँका जिम्मल थिए । सिंगो आधा सुकाठोकर गाउँ भण्डारी परिवारको थियो । त्यस बेला ३०० मुरी धान घरमा भित्रिन्थ्यो । भण्डारीका जिम्मल बाबुले गाउँमा घरायसी काम गर्नेहरू थिए । सुख सयलको जीवन थियो । आर्थिक र सामाजिक हिसाबमा खानदानी परिवारका भण्डारी भने कम्युनिष्ट राजनीतिमा लागे । भण्डारी स्वयं भने आफ्नै बाबु जिम्मल रहेको जिम्मली प्रथाको कट्टर विरोधी थिए ।

२०३९ सालमा पार्टीको संगठित सदस्य भएका भण्डारीलाई तत्कालीन प्रशासनले धरपकड सुरु गरिसकेको थियो । उनले कम्युनिष्ट भएबापत आफ्नो बाबुदेखि प्रशासनको चरम धरपकड सहे । घरमा आमा र श्रीमतीले उनको राजनीतिमा दह्रो सघाउ पुर्‍याए । फलतः उनको राजनीतिक अभियानलाई सघाउ पुग्यो ।

घरमा माधव पौडेल, सुरेश कार्की, पशुपति चौलागाईँलगायतको सेल्टर थियो । दोलखाका दिवङ्गत नेता पशुपति चौलागाईंले त्यति बेला शिव भण्डारीको बुबासँग घनिष्ठ सम्बन्ध बनाएका थिए । त्यो बेलाको अवस्था बताउँदै चौलागाईंले शिव भण्डारी र उनका बुबाबीचको टकराबको मुख्य कारण छोरो कम्युनिष्ट बन्नु थियो बताएका थिए।

बुबा रामप्रसादको तीन वटा कुरा सबैभन्दा ठूलो चित्त दुखाई रहेको थियो । पहिलो– आफूले ल्याएका दासहरूलाई तपाईँ भन्यो । दोस्रो – नमस्कार गर्‍यो र तेस्रो ज्याला दियो । त्यो बेला यो भन्दा ठूलो क्रान्तिकारी काम अरु के हुन सक्थ्यो र । घरमा आफ्नै बाबुसँग विद्रोह गरेका भण्डारी उनका बुबाबीच बाँचुन्जेल बोलचाल समेत भएन । आफ्नो बाबुको निधनपछि आफ्ना बाबुले काम गर्न ल्याएकाहरूलाई उनीहरूले कमाएको जग्गा जमिन उपलब्ध गराए ।

घरबाटै विद्रोह सुरु गरेका भण्डारीलाई तत्कालीन प्रशासनले धेरै खालका मुद्दा मामला र यातना दियो । हरेक वर्षको चैत र वैशाखमा उनी पक्राउ पर्थे । कम्युनिष्टहरुलाई दबाएर कम्युनिष्ट राजनीतिक सक्ने प्रशासनको दाउ थियो । तत्कालीन पञ्चायत शासनको चरम दमन र यातनाका बाबजुद उनले सिंगो दोलखा र रामेछापमा कम्युनिष्ट राजनीतिलाई विस्तार गर्दै लगे । २०४५ साल मङ्सिर ७ र ८ गते उनकै घरमा अहिलेका एमाले अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यमा पहिलो अधिवेशन भएको थियो । अमृत बोहरा, माधव पौडेल पशुपति चौलागाईँ, वाङ्छे शेर्पा जितवीर लामा लगायत धेरै नेताहरू सहभागी अधिवेशनले दोलखालाई सशक्त कम्युनिष्ट किल्ला बनाउने घोषणा गरेको थियो ।

२०४६ सालको परिवर्तनपछि भण्डारीले दोलखामा कम्युनिष्टहरुको संगठनलाई तीव्र बनाए । दोलखाको उत्तरमा लालकुमार केसी, पूर्वमा पशुपति चौलागाईँ र आनन्द पोखरेल र दक्षिणमा शिव भण्डारीको सक्रियता थियो । दोलखा जिल्लालाई कम्युनिष्ट किल्ला बनाउन यी चार नेताको भूमिका महत्त्वपूर्ण छ । २०५१ सालमा उनी एमालेका उपसचिव थिए। २०५४ मा जिल्ला विकास समितिको उपसभापति भए । २०५८ देखि २०६६ सम्म एमाले सचिव भए ।

२०६२–६३ मा दोलखाको जनआन्दोलन समिति संयोजक भए । सो आन्दोलनमा तत्कालीन शाही प्रशासनले नियोजित ढंगले गम्भीर घाइते बनाएको थियो । सोही आन्दोलनले भण्डारीलाई जिल्लाका सबै राजनीतिक दलको अभिभावक बन्ने अवसर दिलायो । आज भण्डारीलाई राजनीतिक शिर उच्च बनाउनमा यही भूमिकाले सघाउ पुर्‍याएको छ । धेरै दोलखाली कम्युनिष्ट कार्यकर्ताले उनलाई ‘दोलखाको कार्ल मार्क्स’ भनेर चित्रित गर्ने गरेका छन् ।

तत्कालीन नेकपा माओवादीको चरम दबदबाबीच पनि दोलखाको एमालेको संगठनलाई निस्तेज हुनबाट जोगाए । माओवादीले एमाले कार्यकर्तामाथि धमाधम आक्रमण गर्न थालेपछि कार्यकर्ता मारिनबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेले । बुद्धिमान तामाङ मारिएपछि माओवादीको तारोमा रहेका एमाले कार्यकर्तालाई सदरमुकाम चरिकोट र काठमाडौंमा बस्न प्रोत्साहित गरे ।

माओवादी खुला राजनीतिमा आएपछि समेत एमालेको सङ्गठन र गतिविधिलाई माओवादीको दबदबाबाट जोगाउँदै थप विस्तार गरे । नेकपा माओवादी विशाल खड्काले चरिकोटमा भण्डारीमाथि आक्रमण गरेर घाइते बनाएपछि सिंगो चरिकोट बजार नै माओवादीविरुद्ध उर्लिएको थियो ।

माओवादीका केन्द्रीय नेता देवी खड्का र नेता विशाल खड्कालगायत धेरैले जिल्ला प्रशासन कार्यालयमा लुकेर ज्यान जोगाउनुपर्ने अवस्था बन्यो । चरिकोट बजारमा माओवादीलाई खोजी खोजी आक्रमण हुने अवस्था बन्यो । लगत्तै जिल्लाभर एमालेले माओवादीको ज्यादतीविरुद्ध अभियान नै चलाएको थियो । सो अभियानले दोलखामा एमालेको राम्रो जनसंगठन विस्तार गरेको थियो । एमाले कार्यकर्ताको आत्मबल बढाएको थियो ।

भण्डारी जिल्लामा सचिव हुँदा केन्द्रमा माधव नेपालको नेतृत्व थियो । त्यस बेला भण्डारीले कुनै उल्लेख्य अवसर पाएनन् । केपी ओलीले चलाएको माओवादीविरुद्धको अभियानमा लागे । माधव नेपालहरू त्यही बेलादेखि माओवादीप्रति नरम थिए ।

कम्युनिष्ट पार्टीमा संस्थापनलाई सहयोग गर्ने सामान्य सिद्धान्तअनुरूप भृकुटीमण्डपमा भएको महाअधिवेशनमा माधव नेपालकै पक्ष लागे । ओली क्रुद्ध भए । ओलीले शिवजी भनेर सम्बोधन गर्छन् । स्वभाव र शैलीका आधारमा ओलीसँग नजिक भण्डारीले माधवलाई सहयोग गरेकै कारण उनको सिंगो राजनीतिक जीवनमाथि ठूलो संकटको अवस्था बन्यो । सो महाधिवेशनमा ओली निर्वाचित भएपछि ‘शिवजी’ माथि ओलीले गर्न मिल्ने जति सबै गरे । उनी केन्द्रीय अनुशासन आयोगमा निर्वाचित भएका थिए । त्यो पद नाम मात्रैको बन्यो।

केन्द्रीय नेतृत्वको चरम दमनका कारण उनी राजनीतिबाट टाढा रहेर कृषि पेसामा सक्रिय भए । दोलखाको मेलुङमा उनको आफ्नै फलफूल खेतीको व्यवसाय चलाउँदै आएका छन् । आर्थिक अभावमा राजनीतिमा पछाडि परेको अनुभूतिपछि उनले जिल्लाभर कार्यकर्तालाई उद्यमशीलता र राजनीतिलाई सँगसँगै लग्न अभियान समेत चलाए ।

दोलखामा २०६६ सालमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने भनी पार्वत गुरुङलाई आफ्नो उत्तराधिकारी बनाउँदै जिल्ला सचिव बनाए ।

पार्टी विभाजनमा माधव नेपाललाई साथ दिए, तर माधवले उनलाई साथ दिएनन् । २०७९ को संसदीय निर्वाचनमा दोलखाबाट टिकट पाउने आसमा थिए । पश्चिम बागमतीबाट राजेन्द्र पाण्डे उठ्दा पूर्वी बागमतीबाट  भण्डारीले मौका पाउने कुरा जायज हुन्थ्यो । तर, माधवले त्यस्तो ठानेनन् ।

हिजो माओवादीसँग लडेको, उनीबाट आफूसहित आफ्ना थुप्रै सहकर्मी मारिएको, कुटिए । त्यसैले उनीहरूसहितको एकतामा जानु राजनीतिक नैतिकताले दिँदैन भन्दै अहिले कतै लागेका छैनन् । उनी मात्र हैन, उनका छोरा डा.विशाल पनि एकतामा गएनन् । उनी कुलमान संरक्षित

आज शिव भण्डारीहरू सक्रिय राजनीतिबाट टाढा रहने सोचमा छन् । स्वतन्त्र कम्युनिष्ट बन्ने र मर्दा कम्युनिष्ट पार्टीको झन्डा ओढेर मर्ने प्रण गरेर बेसका छन् । जनतामाझ लोकप्रिय भण्डारी जस्ता नेताले गाउँ गाउँमा धेरै कम्युनिष्ट कार्यकर्ता उत्पादन गरेका छन् । निष्ठाको राजनीति गरेका छन् । तर, त्यही राजनीतिले जीवनको उत्तरार्धमा यता न उताको  बनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *