
काठमाडौं । कमेडी रियोलिटी शो कमेडी नाइट्स विथ च्याम्पियनका सञ्चालक विशाल भण्डारी एउटा तस्बिरका कारण ट्रोलमा परिरहेका छन् । केही दिनअघि गुण्डुमा एमाले नेता महेश बस्नेत सहभागी जमघटको तस्बिरमा देखिएपछि उनी पनि गुण्डुको सुरक्षा दस्तामा सहभागी रहेको प्रचार गरिएको थियो ।
सोही तस्बिरमा देखिएका थिए टिकटकमा चर्चित एक युवक विवेक थपलिया पनि । विवेक तीनै व्यक्ति हुन् जो जेनजी आन्दोलनको पूर्वसन्ध्यानमा टिकटकमा भाइरल थिए । केही अभिव्यक्तिहरूलाई लिएर जेनजी युवायुवतीहरूको तारो बनेका थिए । उनी आन्दोलनपछि धेरै दिनसम्म गुमनाम भए । उनकी पत्नीको ब्यूटी पार्लरमा तोडफोड भएको थियो ।
करिब एक महिना मौन बसेपछि विवेक फेरि सामाजिक सञ्जालमा देखिन थाले । विशाल भण्डारीमाथि ट्रोल भएपछि उनको बचाउमा आज विवेकले भिडिओ बनाएका छन् । भण्डारी गुण्डुको सुरक्षा दस्तामा नरहेको र संयोगले उक्त तस्बिरमा देखिन पुगेको विवेकको तर्क छ । आफू सो भेलामा उपस्थित हुनुको कारण भने उनले खोलेका छैनन् ।
विवेकको भनाइ यस्तो छ:
अहिले मिडिया म्यानुपुलेसनको नयाँ शिकार बनिरहेका छन् विशाल भण्डारी । उनी गुण्डुको सुरक्षा दस्तामा सामेल रहेको भन्दै ट्रोल भइरहेको छ । खासमा म पनि त्यहीँ थिएँ । उनी त्यहाँ महेश बस्नेतलाई भेट्न कुरिरहेका थिए । महेश बस्नेत आउनुभएपछि त्यहाँको टोलीले टक्क लाएर क्यामरा झिकेर खिच्न थाल्यो । आज बैठकमा के-के भयो भनेर उहाँलाई बोल्न लगाइयो । त्यसबेला सबैजना उठिरहेका थिए । महेश बस्नेतले सबै बसौँ न भन्नुभयो र सबै बसे । विशाल भण्डारी पनि टुक्रुक्क बसे । भएको यत्ति हो ।
तस्बिरमा अरू देखिएकाहरू पनि सुरक्षा दस्ताका मान्छे होइनन् । दुई-चारजना फोटोग्राफर पनि छन् । अरू केही विभिन्न कारणले आए होला । महेश बस्नेतले ५-६ मिनेट बोल्नुभयो । सबै महेश दाइको घरतिर लागे । आफ्नो कुरा राखे । भण्डारीले मेरो अलिकति व्यक्तिगत कुरा छ, प्राइभेट टाइम पाउँ भने । त्यसपछि महेश बस्नेतले साथीहरू एक छिन बाहिर गइदिनुस् भन्नुभयो । भण्डारीले आफ्नो व्यक्तिगत कुरा गरेर निस्किए ।
विशाल भण्डारी नेपालको वान अफ द विगेस्ट शो चलाउँछन् । सय जनालाई तलब खुवाउँछन् । यस्तो प्लेटफर्म छ उनीसँग, जसले कयौँ स्टारहरू जन्माइसकेको छ । उनलाई एमालेसँग जोडेर हेर्नु गलत हो । त्यो शोबाट सबैभन्दा घाटा व्यहोरेको पार्टी हो एमाले । सबैभन्दा बढी रोस्ट खाने पार्टीको एमाले । जबकि त्यो कार्यक्रममा एक चोटि पनि एमालेका नेतालाई बोलाएको छैन ।

Leave a Reply