
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्वको कार्यकारी भूमिकामा फर्कने तयारी गरेका छन् । गत असोज २८ गते कांग्रेस केन्द्रीय समिति बैठकमा लिखित मन्तव्य दिँदै सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।
त्यसयता कांग्रेस केन्द्रीय समिति बैठक खड्काकै नेतृत्वमा बस्दै आएको थियो । सिंगापुरमा उपचार गराएर फर्किएपछि राजनीतिक भेटघाटलाई तीव्रता दिएका सभापति देउवाले क्रमशः पुरानो जिम्मेवारीमा फर्कने तयारी गरेका हुन् ।
उपसभापतिलाई कार्यवाहक जिम्मेवारी दिने निर्णयलाई कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासमेतले प्रशंसा गरेका थिए । कतिपयले देउवाले सक्रिय राजनीतिबाट विश्राम लिएको दाबी पनि गरेका थिए । समयक्रममा देउवा भने पुनः सक्रियताको खोजी गरिरहेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकले राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ । निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता पनि गरिँदैछ ।
दल दर्ताकै क्रममा सम्बन्धित दलको उम्मेदवारलाई प्रदान गरिने चिठीमा आधिकारिक हस्ताक्षर कसको हुने भन्ने स्पष्ट पार्नुपर्ने हुन्छ । कांग्रेसले राष्ट्रियसभा निर्वाचनको आधिकारिक टिकटमा सभापति शेरबहादुर देउवाकै हस्ताक्षर हुनेगरी दल दर्ता गर्दैछ । सभापतिकै हस्ताक्षरमा टिकट वितरण हुने विषयमा महामन्त्रीहरूसँग सहमति भइसकेको कांग्रेस केन्द्रीय कार्यालयले जनायो ।
‘हिजो कार्यवाहक सभापतिले महामन्त्रीहरूलाई हस्ताक्षरको विषयमा मनाइसक्नुभएको छ’, कांग्रेस कार्यालयका एक कर्मचारले भने ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले विगतमा जे अभ्यास थियो सोही अनुसार राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता हुने स्पष्ट पारे ।
‘राष्ट्रियसभाका लागि दल दर्ता गर्दा उम्मेदवारको टिकटमा विगतमा जसको हस्ताक्षर हुन्थ्यो उसकै हस्ताक्षर हुनेगरी गर्छौँ’, महतले नेपाल प्रेससँग भने । उनले प्रतिनिधिसभाको निर्वाचनको टिकटमा कसको हस्ताक्षर हुन्छ ? भन्नेबारे खुलाएनन् ।
‘त्यसका लागि केही समय बाँकी छ । अहिले नै भन्न मिलेन’, महतले भने ।
कार्यवाहक सभापतिको जिम्मेवारी पाएपनि उपसभापति खड्काले राष्ट्रियसभाको उम्मेदवारको टिकटमा हस्ताक्षर गर्न नपाउने निश्चित भएको छ । संस्थापन पक्षले प्रतिनिधिसभाको निर्वाचनमा पनि सभापति शेरबहादुर देउवाकै हस्ताक्षरमा टिकट वितरण गर्नेगरी तयारी गरिरहेको छ ।
प्रतिनिधिसभाका लागि दल दर्ता गर्न मंसिर १० सम्मको समयसीमा छ । कांग्रेस केन्द्रीय समितिको बैठक नै मंसिर ११ मा राखिएको छ । त्यसअघि नै आयोगमा देउवाको हस्ताक्षर आधिकारिक हुनेगरी पार्टी दर्ता गराए चुनाव अघि महाधिवेशनको मुद्दा कमजोर हुने संस्थापन पक्षको आँकलन छ ।
‘राष्ट्रियसभा निर्वाचन माघ ११ मा हुँदैछ । पुस २३ मै उम्मेदवारी दर्ता गर्नुपर्ने हुन्छ । पुस २३ को उम्मेदवारी दर्तामा सभापति शेरबहादुर देउवाको हस्ताक्षर काम लाग्ने भएपछि प्रतिनिधिसभाको टिकट उहाँले बाँड्नुहुँदैन भन्ने आधार छैन’, देउवानिकट एक नेताले भने ।
ती नेताका अनुसार निर्वाचनअघि महाधिवेशन हुने सम्भावना नभएकोले संस्थापन पक्षले सोही अनुसार कामहरू अगाडि बढाउनेछ ।

Leave a Reply