
काठमाडौं । सामाजिक अभियन्ताका रूपमा परिचित सीता माया गुरुङ हाल धादिङ नेत्रावती डबजोङ गाउँपालिकाकी उपाध्यक्षको कुर्सीमा आसीन छिन्। २०५७ सालदेखि राजनीतिमा सक्रिय मायाले गएको स्थानीय तहको निर्वाचनमा पालिका उपाध्यक्ष बन्न सफल भइन्।
जिम्मेवारीमा पुगेसँगै उनले महिला उद्यमशीलता, समावेशी विकास, शिक्षा-स्वास्थ्य सुधार र पूर्वाधार विकासमा समुदाय केन्द्रित नेतृत्व दिँदै सुधारको जमर्को गरिरहेकी छन्।
गाउँपालिकाको उपाध्यक्ष बन्न उनलाई सहज थिएन, तर आफ्नै सङ्घर्ष, सपना र आत्मबलले नै अघि बढेको उनको भनाइ छ। उनको जीवनको सुरुवात सामान्य परिवारमा भयो। बाल्यकाल भारतको आर्मी स्कुलमा बित्यो। सानैदेखि वकिल, नर्स वा हिरोइन बन्ने सपना पलाएको थियो।
तर, १४ वर्षकै उमेरमा विवाह भयो। त्यसपछि सायद धेरैजसो महिलाको जीवन अरूका सपनामा हराउँछ। तर उनले हार मानिन् । तीन छोरी जन्मिएपछि पनि उनले आफ्नै शिक्षाको बाटो बन्द गर्न दिइनन्।
छोरीहरू सँगै विद्यालय जान्थिन्, सँगै पढ्थिन्। उनी सम्झिन्छिन्, ‘मैले नपाएको अवसर छोरीहरूले पाओस् भन्ने मेरो चाहना हो। त्यही अठोटले अहिले परिणाम दिएको हो।’
उनका छोरीहरू अहिले नर्सिङ पढिरहेका छन्, एक अस्ट्रेलियामा, दुई नेपालमै। उनी भन्छिन्, ‘मेरो सपना त अधुरो रह्यो, तर म खुसी छु, मेरो सपना अब छोरीहरूले पूरा गर्दै छन्।’
गाउँमै अस्पताल
मायाको नेतृत्वमा स्वास्थ्य क्षेत्रमा देखिएको परिवर्तन उल्लेखनीय छ। गाउँपालिकाले पाँच बेडको अस्पताल सञ्चालनमा ल्याएको छ, जसमा एक्सरे मेसिन, चिकित्सक, र नर्सहरू स्थायी रूपमा कार्यरत छन्।
हरेक तीन महिनामा विशेषज्ञ स्वास्थ्य शिविर चलाइन्छ, दम, सुगर, पाठेघर, दाँत र आँखाको जाँच निःशुल्क परीक्षण हुन्छ। हरेक १५ दिनमा घुम्ती स्वास्थ्य शिविर गाउँगाउँमा सञ्चालन गर्ने गरिएको बताइन्।
उनले भनिन्, ‘पहिले अस्पताल पुग्नै दुई घण्टा हिँड्नु पर्थ्यो, अहिले त डाक्टर नै घरैमा पुग्ने व्यवस्था मिलाएका छौँ, त्यसले पनि स्थानीयलाई ठुलो सहजता ल्याएको मैले महसुस गरेको छु।’
स्वास्थ्यलाई उनले सेवा होइन, अधिकारको रूपमा स्थापित गरेकी छन्।
निःशुल्क शिक्षा
नेत्रावती डबजोङ अहिले जिल्लाकै शैक्षिक उत्कृष्ट गाउँपालिकाका रूपमा परिचित छ। गाउँपालिकाभित्रका १६ वटा विद्यालयमा कुल १६६१ विद्यार्थी अध्ययनरत छन्। सबै सामुदायिक विद्यालयलाई उनले अनिवार्य निःशुल्क शिक्षा घोषणा गरेकी छन्।
विद्यालयमा साइबर क्राइम, मानसिक स्वास्थ्य र लागूपदार्थ दुरुपयोग विषयमा सचेतना कार्यक्रम समेत चलाउने व्यवस्था गरेको समेत सुनाइन्।
‘शिक्षा भनेको केवल अक्षर होइन, चेतना हो। चेतना बिना शिक्षाले समाज बदल्दैन। त्यसैले हामीले स्वास्थ्यसँगै शिक्षालाई पनि उच्च प्राथमिकता राखेका छौँ’ उनले भनिन्।
विद्यालयका विद्यार्थीहरू हिजोभन्दा बढी अनुशासित र जाँगरिला भएको उनको अनुभव छ।
अधूरो सपना पूरा हुँदै
उनको सफलतासँगै जीवनमा भावनात्मक यादहरू पनि लुकेका छन्। बाल्यकालमा हजुरबुवाको अन्तिम क्षणमा पानी लगिदिन नपाएको सम्झना उनलाई अहिले पनि ताजै छ।
उनी भन्छिन्, ‘म हजुरबुबालाई अन्तिम पटक पानी दिन सकिनँ। सायद त्यसैले होला, अहिले मेरो जीवनको सबैभन्दा ठुलो लक्ष्य गाउँमा खानेपानी पुर्याउनु हो।’
गाउँपालिकाले प्राथमिकतामा राखेर लिफ्टिङ खानेपानी योजना सुरु गरेको बताइन्। थप गाउँहरूमा खानेपानी सञ्जाल विस्तार हुँदै गरेको भन्दै योजना पूरा भएपछि सयौँ घरधुरीमा जीवनको सहजता ल्याएको उनले बताइन्।
सडक र पुल निर्माणमा आएका अवरोध उनका लागि चुनौती भए पनि उनले हार मानिनन्। कहिले त आफूलाई कामदारझैँ खटाउँछिन्, कहिले प्राविधिकसँग घण्टौँ छलफल गर्छिन्। पुल बग्यो भने आफैँ पुग्छिन्।
त्यसबारे उनको अनुभव छ, ‘काम गर्न सक्ने नेतृत्वले हातमाथि होइन, हातमा माटो लाग्न डराउनु हुँदैन। म आफैँ पनि कामदार झैँ खटिरहेको हुन्छु।’
गाउँपालिकाका मुख्य बाटाहरूमा ढल निकास र नाली निर्माण भइरहेकाले बर्खा लाग्नसाथ बाटो बन्द हुने समस्या अब हट्ने बताइन्।
उनले महिला सशक्तीकरणलाई केवल नारामा मात्रै सीमित नगराई आर्थिक कार्यक्रममा पनि जोडकी छन्। गाउँपालिकाले ३०० जना महिलालाई उद्यमी बनाउने योजना अघि सारेको सुनाइन्।
ढाका, गलैँचा, मूडा, मौरीपालन, बाख्रापालन र कागती सुन्तला खेतीलाई पकेट क्षेत्र घोषणा गरिएको छ। महिलाले उत्पादन गरेका वस्तु बजारसम्म पुगोस् भनेर कृषि एम्बुलेन्सको बजेट विनियोजन गरिएको छ। उनी भन्छिन्, ‘हामी अब सहयोग माग्ने होइन, उत्पादन बेच्ने महिला बन्दैछौं।’
उनी उपाध्यक्षको हैसियतले न्यायिक समितिकी संयोजक पनि हुन्। गाउँ स्तरका विवाद, सम्पत्ति, जग्गा, घरेलु हिंसा र सामाजिक मुद्दाहरूमा आफैँले सल्टाउँदै आएकी पनि छन्।
उनी भन्छिन्, ‘न्यायमा भावना होइन, सन्तुलन चाहिन्छ। तर जब महिला पीडित हुन्छिन्, म कानुनसँगै मानवीय संवेदनासमेत बोकेर न्याय गर्छु। यहाँ धेरै घरायसी विवाद सहमति र मेलमिलापबाट समाधान भएका छन्।’
अध्यक्ष बन्ने त्यो धोको
स्थानीय चुनावमा उनले अध्यक्ष पदमा उम्मेदवारी दिने सोच बनाएकी थिइन्। तर महिलाले यस्तो जिम्मेवारी सम्हाल्न सक्दैन भन्ने पूर्वाग्रहले आफूलाई उपाध्यक्षमा सीमित गराइएको उनको बुझाइ छ।
तर उनले त्यो पदलाई कमजोरी होइन, शक्ति बनाइन्। अब गाउँपालिकाका हरेक ठुला निर्णयमा उनको सल्लाह र नेतृत्व अनिवार्यजस्तै भएको जिकिर गर्छिन्।
उनले भनिन्, ‘महिलाको शक्ति देख्न पुरुषहरू डराउँदैनन्, तर बुझ्न चाहँदैनन्। अब बुझ्ने समय आएको छ। महिलामा नेतृत्व शैली कठोर र कोमल दुवै छ।’
उनका प्राथमिकता स्पष्ट छन् गाउँमै गुणस्तरीय स्वास्थ्य र शिक्षा, महिलालाई आर्थिक रूपमा सबल बनाउने युवालाई देशमै अवसर दिने, पारदर्शिता र भ्रष्टाचारमुक्त शासन स्थापित गर्ने।
उनले थपिन्, ‘गठबन्धनले कहिलेकाहीँ महिलालाई पछाडि पार्छ। त्यसैले म चाहन्छु चुनाव अघि होइन, जनतापछि मात्रै गठबन्धन होस्।’
उनी कहिलेकाहीँ साँझपख गाउँपालिकाको आँगनमा उभिन्छिन्, पछाडिको डाँडाबाट अस्ताउँदै गरेको घाम हेर्छिन् र भन्छिन्, ‘यो माटोमा मैले आँसु बगाएकी छु, पसिना पोखेको छु। तर म विश्वास गर्छु यही माटोले भोलि खुसीका फूल फुलाउनेछ।’
(नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)

Leave a Reply