बाजुराका आधा दर्जन कार्यक्रममा मुख्यमन्त्री सहभागी, भन्छन् -जिल्लाको विकासमा सरकार गम्भीर छ

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शनिवार बाजुराको समग्र विकासको लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।बाजुरा जिल्लाका विभिन्न कार्यक्रमहरूमा मुख्यमन्त्री शाहले सरकारको तर्फबाट जिल्लालाई अन्याय हुन नदिने बताएका हुन् ।

त्रिवेणी नगरपालिका ४ तोलीमा रहेको तोली देवल माध्यमिक विद्यालयले आयोजना गरेको बडीमालिका मष्टो देवल ज्ञान,विज्ञान धार्मिक महायज्ञ उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहले विकासका लागि प्रदेश सरका पछि नहट्ने बताएका थिए ।

बडीमालिकालाई राष्ट्रिय,अन्तर्राष्ट्रिय रूपमा चिनाउन र व्यवस्थापनका लागि प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने मुख्यमन्त्रीको आश्वासन थियो । धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडीमालिकाको समग्र विकासका लागि प्रदेशस्तरको समिति निर्माण गरेको समेत उनले बताए ।

मुख्यमन्त्री शाहले बाजुराको बडीमालिका नगरपालिका–७ स्थित जिल्ली पहिरोको अवलोकन निरीक्षण समेत गरेका थिए । उनले आगामी वर्षदेखि पहिरो नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था गरिने र प्रभावित विद्यालयको पुनर्निर्माण तथा व्यवस्थापनमा प्रदेश सरकार जिम्मेवार रहने प्रतिबद्धता जनाए ।

‘अर्को वर्ष तपाईँहरूलाई यस्तो दुःख पर्न दिन्नौँ’ मुख्यमन्त्री शाहले भने, ‘ पहिरो नियन्त्रणका आवश्यक पूर्वाधार बनाउन र विद्यालयका लागि छुट्टै बजेटको व्यवस्था गरिने छ। ’

उनले बुढीगंगा नदीमा पक्की पुल निर्माण र मालागाड पुलमा निर्माणाधीन अवस्थामा रहेकाले निर्माण कार्य अगाडि बढाउन पहल गर्ने समेत बताएका थिए ।

त्यसैगरी मुख्यमन्त्री शाहले बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकामा पर्ने दानसाँगु खोलामा पक्की पुल निर्माणका लागि शिलान्यास समेत गरेका थिए ।

पुलको शिलान्यास गर्दै मुख्यमन्त्री शाहले पुल समयावधि भित्रै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।
वर्षौँदेखि खोलामा पुल नहुँदा स्थानीयले सास्ती भोग्दै आइरहेका थिए ।

प्रदेश सरकारको तीन करोड ९३ लाख ७५ हजार तीन सय ९६ रुपैयाँ ५० पैसाको लगानीमा सम्पन्न हुने पुल निर्माण पिके सिपिसीएस एसी जेभीसँग सम्झौता भएको छ ।दुई वर्ष अर्थात् २०८४ असार २० गते कार्य सम्पन्न गर्ने गरी प्रदेश सरकारसँग सम्झौता गरिएको छ ।

बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले नदीमा पुन निर्माण गर्न प्रदेश र सङ्घ सरकारलाई आग्रह गर्दै आइरहेका थिए । उनले पुन बनेपछि पूर्वी उत्तरी भेगका स्थानीयहरूलाई सहज हुने बताए ।

बुढीनन्दा नगरपालिकाको वडा न. २ कोल्टीमा आयोजना भएको कृषि जैविक विविधता तथा स्थानीय उत्पादन प्रदर्शनी मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले कृषि क्षेत्रको प्रवर्द्धनका लागि प्रदेश सरकारले विभिन्न योजनाहरू ल्याएको स्पष्ट पारेका थिए ।

उहाँले कृषकहरूका प्रदेश सरकारले नीतिगत सहजता गरिएको बताएका थिए ।

मुख्यमन्त्रीका साथमा सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य नरेश शाही, जुना दानी, बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा,हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्ल, बुढीनन्दा नगरपालिकाका उप प्रमुख राम बहादुर बोहरा, भौतिक पूर्वाधार विकास मन्त्रालयका निर्देशक जगतप्रसाद जोशी लगायतको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *