
काठमाडौं । नेपालको पहिलो ऐतिहासिक प्रिन्टिङ्ग प्रेस ‘गिद्दे प्रेस’ शनिवार राष्ट्रिय सङ्ग्रहालय छाउनीबाट गोरखापत्र संस्थानमा फिर्ता ल्याइएको छ ।
प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत भ्रमणबाट फर्कँदा बि.सं १९०८ मा सो प्रेस नेपाल ल्याइएको थियो ।
राष्ट्रिय सङ्ग्रहालय छाउनीका प्रमुख अरुण नकर्मीले उक्त प्रेस गोरखापत्रका नायव कार्यकारी सम्पादक रामप्रसाद हुमागाईँलाई हस्तान्तरण गरेका छन् ।
सो प्रेस गोरखापत्र संस्थानको करिब १२५ अघि गोरखापत्र छाप्न प्रयोग कोठमा राखिने तय भएको छ । सो २०३६ असोज १ गते सङ्ग्रहालयमा पठाउने निर्णय भएको थियो ।
बेलायतबाट नेपाल ल्याइए पछि तत्कालीन श्री ३ जङ्गबहादुरका थापाथली दरबारमा राखिएको त्यसपछि गोरखापत्रमा पठाइएको थियो । सो प्रेस हस्तान्तरण गर्नु अघि सङ्ग्रहालयका सङ्ग्रहालय अधिकृत सुवास डङ्गोलसहितको टोलीले संस्थानको भ्रमण गरी आवश्यक सुझाव सहित प्रतिवेदन दिएको थियो ।
विगतमा संरक्षणका लागि सो प्रेस राष्ट्रिय सङ्ग्रहालयमा पठाइएको भए पनि स्थान अभाव र जडानसम्बन्धी दक्ष जनशक्ति नहुँदा कतिपय पाटपूर्जा खुला आकाश मुनि चउरमा मै रहेका थिए भने केही स्टोरमा थन्किएका थिए ।
निकै जीर्ण अवस्थामा रहेको सो प्रेसका केही पाटपूर्जा गोरखापत्र संस्थान परिसरमा जमिनमा दबिएको अवस्थामा रहको अनुमान गरिएको छ । इञ्जिनियरिङ क्याम्पस थापाथलीमा मेकानिकल विषयमा अध्ययनरत केही विद्यार्थी साथीहरूले स्वयंसेवी रूपमा सहयोग गर्ने बताएको र आवश्यक भए राष्ट्रिय आविष्कार केन्द्रको सहयोगका लागि पनि छलफल भई रहेको छ ।

Leave a Reply