चुनावमा भाग लिने निर्णय गर्ने कांग्रेसको तयारी, महाधिवेशनको मितिमा अझै मिलेन कुरा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले आज चुनावमा भाग लिने निर्णय गर्ने तयारी गरेको छ। असोज २८ गतेदेखि जारी बैठकले आज निर्वाचनमा भाग लिने निर्णय गर्न लागेको हो।

केन्द्रीय समिति बैठक केहिबेरमा पार्टी कार्यालय सानेपामा बस्दै छ। बैठकअघि शीर्ष नेताहरूले आन्तरिक छलफल गरिरहेका छन्।

कांग्रेसमा महाधिवेशन चुनावअघि गर्ने कि पछि भन्ने विवाद हुँदा बैठक अनिर्णयको बन्दी बन्दै आइरहेको थियो। आजको बैठकमा चुनावबारे निर्णय गरे पनि महाधिवेशनबारे अहिलेसम्म कुनै सहमति नबनेको एक नेताले बताए।

माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिन निर्वाचन आयोगले भोलिसम्मको मिति तोकेकाले आज बाध्य भएर निर्णय गर्न लागेको हो। फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुनको लागि आयोगले १० गतेभित्र दल दर्ता गर्न भनेको छ।

निर्वाचनबारे निर्णय गरे पनि महाधिवेशनमा कुनै सहमति बन्न सकेको छैन। पुसभित्रमा नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने तयारी गरिएको भए पनि सहमति बन्न सकेको छैन।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित इतर पक्षका नेताहरू अब नियमित महाधिवेशन सम्भव नभएको भन्दै पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *