
काठमाडौं । रुकुम पूर्वका तत्कालीन प्रतिनिधि सभा सदस्यका उप-विजेता तथा नेकपा (एमाले)का उम्मेदवार रहेका कैलाशकुमार मल्ल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । उनलाई पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार बिहान पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी प्रवेशका क्रममा मल्लले एमालेभित्र पारित भएका ७० वर्ष उमेर सीमा र दुई कार्यकाल सीमित गर्ने प्रावधान उल्ट्याइएकै दिनदेखि आफू निराश बन्दै गएको बताउँदै उनले पार्टीभित्र गुटगत स्वार्थ, भेदभाव र जनवादी केन्द्रीयताको हनन चरम सीमामा पुगेको आरोप लगाए ।
उनले माओवादी पृष्ठभूमिबाट आएका कार्यकर्ताप्रति एमाले नेतृत्वमा देखिएको नकारात्मक व्यवहार, ‘आतङ्ककारी’ ट्याग लगाउने प्रवृत्ति तथा फरक विचार राख्नेलाई बहिष्कार गर्ने चरित्रले आफू पीडित भएको उल्लेख गरे ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता रोकिएको निर्णयलाई उनले ‘अहंकारी र अराजकतन्त्रतर्फ उन्मुख नेतृत्वको पराकाष्ठा’ भएको बताए । एमाले नेतृत्वबाट भ्रष्टाचार, सहिद परिवारप्रति बेवास्ता र रुकुम–रोल्पाजस्ता राता भूगोलप्रति नकारात्मक दृष्टिकोण देखिँदै गएपछि आफूले गम्भीर राजनीतिक मूल्यांकन गर्न बाध्य भएको मल्लको भनाइ छ ।
मल्लले जनयुद्धका सर्वोच्च कमाण्डर प्रचण्ड, झापा विद्रोहका नेता झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, राष्ट्रवादी छवि भएका डा।भीम रावल, जनयुद्धका अग्रणी कमाण्डर तेजबहादुर ओली ‘प्रतीक’, कमला रोका, गणेशमान पुनलगायत नेताको भूमिकाले आफूलाई पुनः मूल कम्युनिस्ट धारतर्फ फर्किन प्रेरित गरेको बताए ।
रुकुम पूर्वमा तत्कालीन प्रतिनिधि सभा सदस्यमा पुर्णबहादुर घर्तिमगरले तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेससहितको गठबन्धनबाट उम्मेदवार बन्दा १२ हजार २६२ मत ल्याएर जित हासिल गरेका थिए भने, नेकपा (एमाले)का उम्मेदवार मल्लले पाँच हजार २११ मत प्राप्त गरेका थिए ।

Leave a Reply