सुदूरपश्चिमका राज्यमन्त्री खड्काको आरोपः जेन्जी आन्दोलनक्रममा कर्मचारीले नै विरोध गरे

डोटी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले जेन्जी आन्दोलनक्रममा कर्मचारीहरुलेनै मन्त्री र सांसदहरुको विरोध गरेको आरोप लगाएकी छन् ।

‘जेन्जी आन्दोलनक्रममा भौतिक संरचना क्षति भएका थिए, मानवीय क्षति भएर देश शोकमा थियो, केही दिन त हामी बाहिर पनि निस्कन सकेका थिएनौँ,’ राज्यमन्त्री खड्काले भनिन् , ‘त्यतिबेला केही कर्मचारीहरुले नै यिनीहरु कहिले जान्छन् पदबाट ? यिनिहरु पनि छिटो जानु पर्छ भन्दै हाम्रो विरोध गरिरहेका थिए ।’ उनले थपिन्, ‘सबै कर्मचारीहरुले त्यसो नगर्नु भएको होला तर केही कर्मचारीहरुले सार्वजनिकरुपमै यस्ता अभिव्यक्ति दिइरहेका थिए ।’

जनप्रतिनिधि भएन भने कर्मचारीले मात्रै गरेर सबै कुरा हुने हो त ? भन्ने प्रश्न गर्दै खड्काले जनप्रतिनिधि र कर्मचारी मिलेर काम गरे मात्रै समस्याको समाधान हुने बताइन् । एकले अर्काको विरोध मात्रै गर्ने हो भने यसले कसैलाई सफलता नमिल्ने उनको भनाइ थियो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आयोजना गरिएको आर्थिक वर्ष २०८२–८३ को एकीकृत वार्षिक स्वास्थ्य समीक्षा गोष्ठीमा सहभागी हुन डोटी पुगेकी सामाजिक विकास राज्यमन्त्री खड्काले जेन्जी आन्दोलनपछि राज्यका हरेक ईकाईहरुले परिवर्तित परिवेशअनुसार काम गर्नु पर्ने बताइन् । आफूहरुले नियमित काम गर्दागर्दै पनि बिद्रोह भएको र यसको समीक्षा गर्दै अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।

जनप्रतिनिधिहरुबाट कर्मचारीलाई काम गर्नमा कुनै दबाब नदिएको समेत मन्त्री खड्काले दाबी गरिन् । ‘कुन पार्टीको मन्त्री भयो भन्ने ठूलो कुरो होइन, कस्तो व्यक्ति मन्त्री भयो भन्ने ठूलो कुरा हो,’ मन्त्री खड्काले भनिन्, ‘जुनसुकै व्यक्ति मन्त्री भए पनि कर्मचारीहरुसँग समन्वय गर्ने हुनुपर्छ ।’

सुदूरपश्चिम सरकारको प्राथमिकतामा स्वास्थ्य क्षेत्र
सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री खड्काको दाबी छ ।

‘स्वास्थ्य क्षेत्रमा भौतिक संरचना, जनशक्ति व्यवस्थापन, उपकरण र औषधीको व्यवस्थापनका लागि प्रदेश सरकार सक्रिय छ,’ खड्काले भनिन्, ‘स्रोत साधनको कमी भएका कारण जनअपेक्षाअनुसार काम हुन नसकेको हुन सक्छ, तर पनि हामी प्रयत्नरत छौँ ।’ उनले स्वास्थ्य क्षेत्रका कर्मचारीले राम्रो काम गरेर धेरै सूचकमा राम्रो उपलब्धि हासिल भएको भन्दै कर्मचारीहरुलाई धन्यवाद समेत दिइन् ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डा हेमराज रेग्मीले ‘प्रदेशको समृद्धिका लागि स्वस्थ नागरिक’ भन्ने नाराका साथ मन्त्रालयले काम गरिरहेको बताए । उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा ३३ वटा संरचना खडा गरि स्वास्थ्य सेवा दिइरहेको बताए । ‘आधारभूत स्वास्थ्य सेवा प्रदेश सरकारको जिम्मेवारीभित्र पर्दैन, हाम्रो जिम्मेवारीमा बिशेषज्ञ सेवा पर्छ,’ सचिव डा रेग्मीले भने, ‘तर पनि हामीले आधारभूत स्वास्थ्य सेवा समेत दिइरहेका छौँ ।’ उनले स्वास्थ्य संस्थामा पुगेका सेवाग्राहीलाई आफूहरुले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित नगरेको बताए ।

गोष्ठीमा प्रदेशको समग्र स्वास्थ्य अवस्था र सुधारका लागि गर्नु पर्ने प्रयासहरुको बिषयमा व्यापक छलफल गरि निश्कर्ष निकालिने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा खगेन्द्र वमले जानकारी दिए । उनले गोष्ठीको अन्तिम दिन दिपायल घोषणा पत्र सार्वजनिक हुने बताए ।

ट्रमा सेन्टर स्थापना गर्न माग
डोटी जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंहले सुदूरपश्चिमका सात पहाडी जिल्लालाई लक्षित गरी ट्रमा सेन्टर स्थापना गर्नु पर्ने माग गरे ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले आयोजना गरेको एकीकृत वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा सिंहले यस्तो माग राखेका हुन् । ‘सुदूरपश्चिमका पहाडी जिल्लामा सवारी दुर्घटना धेरै भइरहेका छन्, घाइतेहरुले तत्काल उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्था छ,’ सिंहले भने, ‘पहाडी जिल्लालाई लक्षित गरेर कुन ठाउँमा उपयुक्त हुन्छ, ट्रमा सेन्टर स्थापना गर्नु जरुरी छ ।’ उनले संघ र प्रदेश सरकारले आवश्यक समन्वय गरेर ट्रमा सेन्टरर स्थापना गर्नु पर्ने बताए ।

सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले पदमुक्त भएपछि अरुलाई अर्ति उपदेश दिने गरेको सम्झदै सिंहले पदमा रहेका बेला स्रोतसाधनको सही प्रयोग गर्न सक्नु पर्ने बताए । ‘आफू पदमा हुँदासम्म व्यक्तिगत स्वार्थका लागि लाग्ने व्यक्तिहरुले पदबाट हटेपछि अरुको आलोचना गरेको सुहाउँदैन,’ सिंहले भने, ‘पदबाट हटेपछि ठूल्ठूला कुरा गरेर के काम ?’ उनले कसैले आफ्नो घर खेत बेचेर विकास गर्ने नभई जनताले तिरेको करबाटै विकास गर्ने भएकाले जनताको करको पक्षपातरहित तरिकाले वितरण गर्नु पर्ने बताए । उनले अहिलेको आवश्यकताले पहाडी क्षेत्रमा ट्रमा सेन्टररको माग गरेकोले यो कामका लागि सबै तयार हुनु पर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *