चुनावअघि नै महाधिवेशन माग्दै भेट्न पुगेका आफूनिकट २८ नेताहरूसँग देउवाले के भने ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट २८ केन्द्रीय सदस्यले चुनावअघि महाधिवेशन गर्नुपर्ने मागसहित पार्टी नेतृत्वलाई दबाब दिन थालेका छन्।

उनीहरूले सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन्।

महाधिवेशन चुनाव अघि कि पछि भन्ने विवादले असोज २८ गतेदेखिको केन्द्रीय समिति बैठक अनिर्णीत बनेपछि संस्थापन पक्षका नेताहरू नै महाधिवेशनको वातावरण बनाउने प्रयासमा जुटेका हुन्।

आफूहरूले सामूहिक रूपमा भेट गरेर सभापतिलाई चुनावअघि नै महाधिवेशनको वातावरण बनाइदिन आग्रह गरेको नेता राजन केसीले बताए। उनले भने, ‘हामीले जेनजी आन्दोलनपछि फरक परिस्थिति बनेको छ। अब कांग्रेस पनि रूपान्तरण भएर जानुपर्छ, चुनावअघि महाधिवेशन हुँदा नयाँ नेतृत्व, नयाँ नीति र कार्यक्रम हुँदा पार्टीलाई फाइदा पुग्छ।’

आफूहरूले विशेष महाधिवेशन र वैशाखमा महाधिवेशन हुनुपर्छ भन्ने कुरा स्वीकार नहुने कुरा राखेको बताए। जवाफमा सभापतिले आफूले कार्यवाहक जिम्मेवारी दिइसकेको भन्दै पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिएको बताए। केसीले भने, ‘सभापतिले मैले कार्यवाहक दिइसकेको छु, तपाईँहरूले राख्नुभएको कुरा ठिकै छ। अरू नेताहरूलाई भन्नुस्। चुनाव आइरहेको छ, त्यसलाई पनि हामीले प्राथमिकता दिनुपर्छ। तर पार्टी एकताबद्ध होस्, कुनै मनमुटाब र विखण्डन नहोस् भन्ने उहाँको कुरा छ।’

महामन्त्रीद्वयले पनि आफूहरूसँग चुनावअघि महाधिवेशन गर्न सक्दो प्रयास गरिरहेको जवाफ दिएको सुनाए। उनले भने, ‘चुनावअघि महाधिवेशनमा जानैपर्छ, हामीले प्रयास गरिरहेका छौँ। त्यसका लागि तपाईँहरूको प्रयास सकारात्मक छ।’

पार्टी बैठक अनिर्णयको बन्दी बनिरहेको भन्दै आफूहरूलाई पनि भूमिका खेल्न महामन्त्रीद्वयले आग्रह गरेको बताए। यथास्थितिमा चुनावमा जान नसकिने कुरा पनि राखेको बताए।

कार्यवाहक सभापति खड्काले भने सहमतिको प्रयास भइरहेको जानकारी गराएको बताए। खड्कासँगको भेटबारे केसीले भने, ‘विगतमा पनि कांग्रेस टुक्रियो, त्यसैले अहिले विवाद भन्दा पनि सहमतिमै निष्कर्षमा पुग्नुपर्छ, मैले प्रयास गरिरहेको छु। एक ढिक्का भएर अघि बढ्नुपर्छ भन्ने कुरा राख्नुभयो।’

उनले महाधिवेशन विवादले ५८ सालमा जस्तो पार्टी फुट्ने अवस्था आउन नदिने प्रतिबद्धता गरेको पनि बताए । उनले भने, ‘उहाँले कार्यसम्पादन समितिमा छलफल गरेर भोलिको बैठकमा सबैलाई मान्य हुने प्रस्ताव ल्याउने तयारी गरिरहेको जानकारी गराउनुभएको छ। उहाँहरू शीर्ष तहमा अहिले पनि छलफलमा हुनुहुन्छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *