
काठमाडौं । भारतीय स्टार क्रिकेटर स्मृति मन्धना विवाहबन्धनमा बाँधिने भएकी छन् । उनले केही दिनअघि आफ्नो प्रेमीसँग इन्गेजमेन्ट गरिन् ।
हालै भएको महिला विश्वकपमा भारतलाई विजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेकी स्मृतिले त्यस लगत्तै जोडी बाँध्ने सुर कसेकी हुन् । मुम्बईको डीवाई पाटिल स्टेडियम (जुन मैदानमा भारतले ऐतिहासिक विश्वकप जितेको थियो) मा गायक तथा संगीतकार पलाश मुच्छालले घुँडा टेकेर स्मृतिलाई विवाहको प्रस्ताव राखेका थिए ।
पलाशले इन्स्टाग्राममा राखेको भिडियो भाइरल बनिरहेको छ । भिडियोमा आँखामा पट्टी बाँधिएकी स्मृतिलाई मैदानको बीचतिर लगिन्छ । पट्टी खोल्नेबित्तिकै अगाडि घुँडा टेकेका पलाश र हातमा औँठी देखेर उनी भावुक बन्छिन् । स्मृतिले खुसीका साथ ‘एस’ भनिन् । त्यसपछि पलाशकी बहिनी पलक मुच्छालसहित परिवार र साथीहरू मैदानमा दौडिएर बधाई दिन पुगे ।
यो जोडी आउँदो आइतबार (नोभेम्बर २३, २०२५) मा विवाह बन्धनमा बाँधिँदै छ । वर्षौँदेखि प्रेममा रहे पनि उनीहरूले सम्बन्धलाई सार्वजनिक गरेका थिएनन् । बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले दुवैलाई बधाई पत्र पठाएपछि यो जोडीको चर्चा झन् चुलिएको छ । स्मृतिले पनि इन्स्टाग्राममा साथीहरू जेमिमाह रोड्रिगेज र राधा यादवसँग रमाइलो रिल हालेर औँठी देखाउँदै खुसी साटेकी छिन् ।
कप्तान हरमनप्रीत कौरकी उपकप्तान रहेकी स्मृतिले विश्वकपमा ९ इनिङ्समा ४३४ रन बनाउँदै दोस्रो सर्वाधिक रनकर्ता बनेकी थिइन् । न्युजिल्यान्डविरुद्ध उनले हानेको शतकले भारतको आशा जोगाएको थियो । क्रिकेट मैदानदेखि वैवाहिक मण्डपसम्म, स्मृति मन्धनाको सन् २०२५ साँच्चिकै अविस्मरणीय बन्दैछ ।

Leave a Reply