महेश बस्नेतसँगको फोटो भाइरल भएपछि विशालको अनुरोध- एउटा तस्बिरको आधारमा भ्रम नछरिदिनू

काठमाडौं । एमाले नेता महेश बस्नेतसँगैको फोटो/भिडिओ भाइरल भएपछि कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले स्पष्टीकरण दिएका छन् । नितान्त व्यक्तिगत समस्या सुनाउन र सुल्झाउनका लागि बस्नेतसँग भेट भएको उनको प्रष्टोक्ति छ ।

भण्डारीले भनेका छन्, ‘पछिल्लो समय परेको व्यक्तिगत समस्याका कारण म सहयोगको आशमा तत्कालीन प्रधानमन्त्री कार्यालय , गृह मन्त्रालय र विभिन्न कार्यालयहरू, नेताहरू तथा सम्बद्ध व्यक्तिहरूसँग भेटघाट गरिरहेको थिएँ । जेन-जी आन्दोलनपछि पनि त्यही समस्या लियर अहिलेको प्रम कार्यालय र गृहका सथीहरूसँग सम्पर्कमै थिएँ र छु ।’

भण्डारीले भनेको व्यक्तिगत समस्या चाहिँ व्यवसायी हरि भट्टराईसँगको आर्थिक विवाद हो । भट्टराईले भण्डारीको कम्पनीमा लगानी गरेका थिए । पछि उनीहरूबीच लगानी र लेनदेनलाई लिएर विवाद भयो, त्यो विवाद उनीहरूले सामाजिक सञ्जालमा समेत छताछुल्ल पारेका थिए । अहिले यो मुद्दा अदालतमा विचाराधीन छ ।

यही समस्या सल्टाउनलाई त्यसबेला भण्डारीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गुहारेका थिए । पछिल्लो समय उनी गुन्डु पुगेको भन्दै फोटो राखेर आलोचना बढेपछि उनको स्पष्टीकरण आएको हो ।

भण्डारीले लेखेका छन्, ‘म राजनीतिक रूपमा कसैको पक्षमा उभिएको छैन, न कुनै समूह, दल वा व्यक्तिको समर्थनमा म त्यहाँ (बस्नेतकहाँ) गएको थिएँ ।’

भण्डारीकी आफ्नै दिदी मन्जु भण्डारी भने सुनसरी एमाले नेतृ हुन् । केन्द्रीय सदस्य रहेकी मञ्जुले २०७४ मा धरानको उपमेयर जितेकी थिइन् ७९ मा हर्क साम्पाङसँग पराजित भइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *