सिमरामा एक राउण्ड हवाई फायर र तीन राउन्ड अश्रुग्यास, जेन-जी समूह सडकमै छलफल गर्दै

सिमरा । जेन-जी प्रदर्शनकारीलाई सडक प्रदर्शन रोक्न गरिएको अनुरोध नमानेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन एक राउड हवाई फायर र तीन राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताएका छन् ।

सिडिओले बोलाएको वार्तामा जानका लागि जेन-जीका जिल्ला संयोजक सम्राट उपाध्याय कलैयातर्फ हिँड्नै लाग्दा जेन-जी समूहबीचमै विवाद भएपछि अहिले उनीहरू सिमराको मुख्य बजारमा बैठक बसिरहेका छन् ।

बुधवार जेन-जीको शान्तिपूर्ण प्रदर्शनमा गएर अभद्र व्यवहार प्रदर्शन गर्ने अरविन्द साहलाई पक्राउ गर्नुपर्ने उनीहरूको मुख्य माग छ ।

जिल्ला प्रहरी प्रमुख तामाङले साह प्रहरीको निगरानीमै रहेको र पक्राउ गर्ने बाचा गरेका छन् । यद्यपि, उनी पक्राउ परिसकेका छैनन् ।

साह पक्राउ परेपछि मात्रै वार्तामा जाने अडानमा केही जेन-जी समूह छन् । जिल्ला संयोजक उपाध्याय भने वार्तामा हिँडिसकेका थिए । अन्य जेन-जी समूहले आफूहरूको सहमतिबिना वार्तामा जान नपाइने भनेपछि उनी फर्किएर सिमरामा छलफल गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *