
तीन दशकदेखि कहिले जनयुद्ध, कहिले जातीय राज्य र कहिले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको रडाँको गर्दै आएको माओवादको औपचारिक रूपमै तिलाञ्जलि भएको छ । यसपछि माओवादलाई कसैले आफ्नो मुखुण्डो बनाए पनि त्यसले खास अर्थ राख्ने छैन । प्रचण्डले व्यावहारिक रूपमा त शान्ति प्रक्रियामा आएर संसदीय निर्वाचनमा भाग लिन थालेदेखि नै माओवाद छोडिसकेका हुन् । जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको वैचारिक लाइनमा प्रचण्ड आइपुगेकै हुन् ।
दोस्रो संविधानसभाको निर्वाचनमा पहिलो पार्टीबाट तेस्रो पार्टीमा झरेपछि माओवाद र संसदीय निर्वाचन सँगसँगै जान नसक्ने हुँदा माओवादी पार्टीले माओवाद छोड्नु पर्छ भन्ने बहस माओवादी पार्टीमा चल्न सुरु भएको थियो । तर, माओवाद आफ्नो पार्टीको लाइफ लाइन भएकोले त्यसलाई छोड्न नसकिने प्रचण्डलगायत माओवादीका शीर्ष नेताले बताउँदै आएका थिए ।
अन्ततः प्रचण्ड समूह र एमालेलगायत विभिन्न पार्टीमा बहिर्गमित माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावल, महिन्द्र यादव मिलेर नयाँ पार्टी बनाएपछि माओवाद नेपालमा रबरको हात्तीसरह भएको छ । कथाकार स्लोमिर म्रोजेकले सन् १९६२ मा ‘हात्ती’ शीर्षकको एक कथा लेखे । कथाको सारांश यसप्रकार छः
एउटा प्राणी उद्यानमा सबै प्रकारका वन्यजन्तु राखिएका थिए । तर त्यहाँ हात्ती राख्न सकिएको थिएन । देशको मुक्ति दिवसको दिन सो उद्यानलाई सरकारले एउटा हात्ती उपहार दिने निर्णय गर्यो । उद्यानमा हात्ती आउने खबरले त्यहाँका कर्मचारीहरू बिछट्ट खुसी भए । तर प्राणी उद्यानका कर्मचारी त्यतिबेला झन् चकित भए, जतिबेला तिनीहरूले उद्यानको कार्यकारी निर्देशकले केन्द्रमा हात्ती किन्न र पाल्न सस्तो तरिका अपनाउनु पर्ने आशयको पत्र पठाए । उसको प्रस्ताव थियो, वास्तविक हात्ती किन्न र पाल्न ठूलो खर्च लाग्ने भएकोले र ठाउँको समेत अभाव हुने भएकोले बरू त्यसको ठाउँमा ठीक साइजको रबरको हात्ती राखिनु उपयुक्त हुन्छ । त्यसलाई हात्तीकै रङ लगाएर रेलिङमा अड्याएर राखिनेछ । र त्यसको अगाडि एउटा सूचना टाँसिनेछ-‘यो हात्ती लोसे छ’ । वास्तविक हात्ती किन्ने पैसाले जेट किन्न सकिन्छ ।
मन्त्रालयको कर्मचारीले खर्च घटाउने कार्यकारी निर्देशकको उक्त ‘राम्रो’ प्रस्ताव तुरुन्त स्वीकृत गरिदियो । उद्यानमा रबरको हात्ती बनाउने काम सुरु भयो । यसमा समस्या के थियो भने जनतामा हात्तीको आगमनबारे जानकारी भइसकेको र उनीहरू हात्ती हेर्न बढी नै उत्सुक भएकोले रबरको हात्ती बनाउने काम राती कसैले नदेख्ने गरी गर्नु पर्ने भयो । एउटा गोप्य निर्माणस्थलमा दुईजना कर्मचारी त्यो हात्ती बनाउने रबरलाई दुईतिरबाट फुक्न थाले । घण्टौं फुक्दा पनि पार नलागेपछि हात्ती फुलाउने उपाय खोज्न थाले । नजिकै ग्याँस पाइप देखेका उनीहरूले हात्तीमा ग्याँस भर्ने विचार गरे । ग्याँस पाइप जोडेको केही मिनेटमै रबरको हात्ती तयार भयो । यो काँटीकुटी वास्तविक हात्ती नै थियो । भोलिपल्ट बिहान सो हात्तीलाई तयार गरिएको स्थानमा सारियो । हात्ती नजिकै सूचना लेखियो,’निकै लोसे हात्ती, प्रायः चल्दैन’ ।
भोलिपल्ट बिहानै एक हुल विद्यार्थी लिएर त्यहाँ एक शिक्षक अवलोकन भ्रमणको लागि आए । हात्तीको बारेमा उनी विद्यार्थीलाई पढाउन थाले । ‘हात्ती एउटा शाकाहारी स्तनधारी प्राणी हो, यसले आफ्नो सुँडको सहायताले सानातिना रुख तान्छ र पातहरू खान्छ । यो ह्वेल माछापछिको दोस्रो र जमिनमा पाइने सबैभन्दा ठूलो प्राणी हो’ । विद्यार्थी खुरुखुरु नोट बनाउँदै थिए । उनीहरू हात्तीले कहिले नजिकैको रुखको हाँगा भाँच्ला भनेर पर्खेर बसे । त्यही बेलामा अलिअलि हावा चल्यो, रुखका पात हल्लिए ।
शिक्षकले भने,’एउटा पूरा विकसित हात्तीको तौल दशदेखि तेह्र हजार पाउण्ड हुन्छ’ ।
अचानक हात्ती जुर्मुरायो र हावामा उड्न थाल्यो । केही समय त्यो आकाशमै विचरण गरिरह्यो । हावा शान्त हुनेबित्तिकै हात्ती जमिनमा खस्यो, सिउडीको झ्याँङमा पर्यो र हावा खुस्क्यो ! दत्तचित्त भएर हात्तीको बारेमा पढिरहेका विद्यार्थी नोट फालेर गुण्डागर्दीमा उत्रिए । तिनीहरूले टन्न पिए, झ्यालका सिसा फुटाए । नेपालमा ‘माओवाद’ को हालत त्यस्तै भएको छ ।
चिनियाँ नौलो जनवादी क्रान्तिबाट अति प्रभावित नेपालको कम्युनिस्ट आन्दोलनलाई नेपाली धरातलीय यथार्थमा विकसित गराउने नेकपा (एमाले) को २०४९ मा सम्पन्न पाँचौं महाधिवेशनले पास गरेको जनताको बहुदलीय जनवादी विचारको लोकप्रियताका कारण नेपालमा कम्युनिस्ट पार्टी पहिलो पटक सत्ताको नेतृत्व गर्ने हैसियतमा पुगेको थियो । लगभग त्यही समयदेखि फुक्न थालिएको बेलुनको हात्तीरूपी माओवाद तीन दशकपछि फुट्ने अवस्थामा पुगेको छ । विचार र व्यवहारमा तादात्म्य राख्न नसके कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्दैन भन्ने पुनर्पुष्टि भएको छ ।
हाल विभिन्न भङ्गालामा विभक्त कम्युनिस्ट नेताहरूले विचारका चर्का-चर्का कुरा गरे पनि जननेता मदन भण्डारीको दूरदृष्टि, वैचारिक प्रस्टता र विचार र व्यवहारको तादात्म्यसँग कसैको तुलनै हुन सक्दैन ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन नेपालका विभिन्न अनुभव नेपालको कम्युनिस्ट आन्दोलनका लागि केवल सन्दर्भ सामग्री हुन सक्छन् तर तिनीहरूलाई यहाँ कपी पेस्ट गर्न सकिँदैन भन्ने नेपालमा स्थापित भएको छ । नेपालको समग्र कम्युनिस्ट आन्दोलन जनताको बहुदलीय जनवादको राजमार्गमा मात्र हिँड्न सक्छ भन्ने निष्कर्षमा आइपुगेको छ । यो निकै सकारात्मक छ । वाम मतदातामा यो तथ्य स्थापित हुने बित्तिकै विचारविहीन बड्डाहरूको राजनीतिक हैसियत समाप्त हुन्छ, एमाले झन् बलियो हुन्छ ।
औपचारिक रूपमा नेपालबाट माओवादको बिदाई गरेपछि जनताको बहुदलीय जनवादलाई अङ्गीकार गर्ने सम्पूर्ण समूह र व्यक्ति नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह एमालेमा सामेल भएर अघि बढ्ने आधार तयार भएको छ । र, यसबाट समाजवादको यात्रा पनि थप सहज हुनेछ ।
चिनियाँ दार्शनिक कन्फुसियसलाई उनका शिष्यले एक दिन सोधे–‘दाँत ढिलो आउँछन्, चाँडो जान्छन् तर जिब्रो रहिरहन्छ किन ?’
उत्तरमा कन्फुसियसले भने–‘दाँत धेरै कडा हुन्छ, त्यसकारण चाँडै जान्छ तर जिब्रो नरम हुन्छ त्यसकारण रहिरहन्छ ।’
नेपालको कम्युनिस्ट आन्दोलनको विकासक्रममा माओवादको पतन चाँडो हुनु र जनताको बहुदलीय जनवाद सदाबहार हुनु यही प्रमुख कारण हुन सक्छ ।

Leave a Reply