जेन-जी प्रदर्शनका कारण सिमराको जनजीवन अस्तव्यस्त, विमानस्थल सुचारु

सिमरा । बारा जिल्लाको मुख्य औद्योगिक केन्द्र सिमरामा मंगलबारदेखि उत्पन्न तनावका कारण जनजीवन अस्तव्यस्त भएको छ ।

जेन-जी समूह र एमाले कार्यकर्ताबीचको झडपपछि उत्पन्न तनावपछि जिल्ला प्रशासनले आसपासका क्षेत्रमा आज पनि कर्फ्यू आदेश जारी गरेको छ ।

बुधवार कर्फ्यू आदेश जारी भएपछि पनि सडकमा प्रदर्शनरत जेन–जी समूहले टायर बालेर प्रदर्शन जारी राखेको छ ।

प्रहरी र सशस्त्रले सर्वसाधारणलाई कर्फ्यूको सूचना जारी गर्दै बाहिर ननिस्कन अनुरोध गरिरहेको छ । तर, प्रदर्शनकारीलाई सडकबाट हटाउने प्रयास भने सफल भएको छैन । सिमराको मुख्य चोकमा प्रदर्शनकारी जम्मा भएका छन् । सडकमा पैदल यात्रु देखिन्छन्, तर सवारी साधनहरू चलेका छैनन् ।

सिमरा विमानस्थल बुधवार बिहानैदेखि सुचारु छ । विमानस्थल प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार बुद्ध एयरका पाँचमध्ये तीन उडान र अवतरण भइसकेका छन् । अब दुई उडान हुन बाँकी छ । त्यसमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिमराका लागि चेक-इन भइरहेको उनले बताए ।

मंगलबारजस्तो विमानस्थलको छेउछाउमा कुनै प्रदर्शन नभएको र प्रहरीको सुरक्षा व्यवस्था मजबुत भएका कारण विमानस्थल सञ्चालनमा समस्या नआएको अधिकारीले बताए ।

कर्फ्यूका कारण सिमराका सम्पूर्ण व्यापारिक स्थल बन्द छन् । पथलैयादेखि गण्डक नहरसम्म कर्फ्यू आदेश जारी भए पनि सिमराबाहेक अन्यत्र कर्फ्यूको प्रभाव न्यून छ । जितपुर र परवानीपुरका बजार प्रायः खुला छन् । सिमरामा भने सबै पसल बन्द गरिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङका अनुसार सुरक्षा व्यवस्थापनमा कुनै समस्या छैन । प्रदर्शनकारीलाई सम्झाएर प्रदर्शनबाट पछाडि हट्न अनुरोध गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *