
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । भदौ २३-२४ को आन्दोलनको क्रममा आगजनी गरिएको पार्टी मुख्यालय आवश्यक मर्मतसम्भारपछि आज च्यासलमै बैठक राखिएको हो ।
आजको बैठक आसन्न मंसिर २७-२९ को महाधिवेशनमा केन्द्रित हुनेछ । भावी नेतृत्वलाई लिएर पनि आज केही पदाधिकारीले कुरा उठाउने तयारी गरेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो दाबीसहित सर्वसम्मत अध्यक्ष बनाउन बैठकमा प्रस्ताव गर्ने तयारी छ ।
महाधिवेशनको व्यवस्थापकीयलगायत विभिन्न उपसमिति गठन गरिने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
त्यस्तै मंसिर ६ गते काठमाडौंमा तय गरिएको जनप्रदर्शन, राष्ट्रियसभा र प्रतिनिधिसभा चुनावका लागि सहभागितालगायतको विषयमा पनि छलफल हुँदैछ ।
नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने तयारी गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने घोषणा गरेको एमालेले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा मङ्सिर १० गतेसम्म दल दर्ताको विषयबारे पनि अहिलेसम्म केही बोलेको छैन ।

Leave a Reply