
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक गत बिहिबारदेखि पटक पटक स्थगित हुँदै आइरहेको छ। महाधिवेशनको मितिमा सहमति बन्न नसकेपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पटक पटक बैठक धकेल्दै आइरहेका छन्।
खड्का सभापति शेरबहादुर देउवा, महामन्त्री महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित पार्टीभित्रका शीर्ष नेताहरूसँग सहमतिको प्रयासमा जुटिरहेका छन्।
महामन्त्रीद्वयसहित इतर पक्षका नेता शेखर कोइराला भने अब नियमित महाधिवेशन सम्भव नभएको भन्दै अब विशेष महाधिवेशनको विकल्प नहुने निष्कर्षमा पुगेका छन्। असोज २८ गतेदेखि जारी बैठक अनिर्णयको बन्दी बनेपछि पार्टीभित्र विवाद चर्किँदै छ।
विशेष महाधिवेशन पक्षधरले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर असोज २९ गते नै बुझाएको थियो। अब विधान अनुसार पुस २९ गतेभित्र विशेष महाधिवेशन भइसक्नुपर्ने बाध्यकारी व्यवस्था छ।
तर, संस्थापन पक्षमा रहेका पूर्वपदाधिकारीहरू भने अब चुनावअघि महाधिवेशन सम्भव नहुने अडान लिइरहेका छन्। अब वैशाखमा महाधिवेशन गर्ने गरी जारी बैठकबाट कार्यसमितिको म्याद थप गर्नुपर्ने उनीहरूको अडान छ।
कात्तिक १९ गते महामन्त्री गगन थापाले पुस १६-१९ गतेसम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसैदिन सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७-३० गतेसम्म महाधिवेशन गर्ने वैकल्पिक कार्यतालिका पेस गरेका थिए।
अब दुवै पक्षको मागलाई सम्बोधन गर्ने गरी पुसभित्र नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने गरी छलफल भइरहेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए।
उनले भने, ‘दुवै पक्षको आआफ्नो कुरा छ, समझदारी हुनको लागि समय लागेकाले आजको बैठक शनिवारलाई सारिएको हो।’
विशेष महाधिवेशन माग गर्नेहरूको माग सम्बोधन गर्नुपर्छ भन्नेमा पार्टी सचेत रहेको बताए।
उनले भने, ‘विभिन्न विकल्पहरूमा छलफल भइरहेको छ। अब बस्ने बैठकले विशेष महाधिवेशन पक्षधरको मागलाई सम्बोधन गर्ने गरी कार्यतालिका ल्याएर सहमति जुटाउने प्रयास हुँदै छ।’
महामन्त्रीद्वयले अब नियमित महाधिवेशन नभ्याउने भएकाले विशेष महाधिवेशनमा जानुपर्छ भन्ने अडान राखिरहेको बताए।
उनले थपे, ‘शीर्ष नेताहरूले सभापतिसँग पनि संवाद गरिराख्नुभएको छ, उहाँले पनि विशेष महाधिवेशनमा नजाऔँ, सहमतिमा नियमित गर्नुपर्छ भनिराख्नुभएको छ।’
सभापति देउवाले पनि पुसभित्र गर्ने गरी नियमित महाधिवेशनको प्रस्ताव ल्याउन आफूनिकटका नेताहरूसँग छलफल थालेपछि इतर पक्ष सशङ्कित बनेको छ।
गगन निकट एक नेताले भने, ‘महाधिवेशनको काम गर्नुपर्ने बेलामा एक महिनासम्म बैठक लम्ब्याएर राखियो। पुसमा नियमित महाधिवेशनको कुरा आएको छ। त्यो भनेको चुनावअघि महाधिवेशन टार्नको लागि मात्रै हो।’
अब विशेष महाधिवेशनको विकल्प नभएको ती नेताले बताए। हिजो विशेष महाधिवेशन पक्षधर नेताहरूले पनि पत्रकार सम्मेलन गरेर अब नियमित महाधिवेशन अस्वीकार गर्ने भन्दै विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेका थिए।

Leave a Reply