भोजपुरमा ट्राफिकको ‘असुली धन्दा’ ले व्यवसायी हैरान

भोजपुर । ट्राफिक प्रहरीले असुली धन्दा चलाएको भन्दै यातायात व्यवसायीले गुनासो गरेका छन् ।

ट्राफिक प्रहरीले हप्ता असुली गर्ने, अनावश्यक दु:ख दिने नियत राखेर बार्गेनिङ गर्नेजस्ता काम गरेको भन्दै प्रहरी/प्रशासनमा डेलिगेशन जाने तयारी उनीहरूको छ । ट्राफिक प्रहरीले हरेक बुकिङ काउण्टरबाट मासिक ३ देखि ५ हजारसम्म उठाउने गरेको व्यवसायीको दाबी छ । रकम दिने काउन्टरबाट चल्ने सवारीसाधनको कागजात चेकजाँच नगर्ने र नतिर्नेहरूलाई विभिन्न बहानामा दु:ख दिने उनीहरूको आरोप छ ।

विशेषगरी ग्रामीण सडकमा चल्ने यातायतका साधन सहचालकले लाइसेन्सविनै चलाउने गरेको त्यसमा ट्राफिक मुकदर्शक बनेको सेवाग्राही बताउँछन् । यस विषयमा विभिन्न समयमा जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलयमा समेत दल, व्यवसायी र नागरिक समाजका अगुवाले सचेत गराइरहेका छन् ।

जिल्ला सदमुकामका हार्डवेयर पसलहरूलाई समेत लोड-अनलोडको समयमा दु:ख दिने गरेको एक व्यापारीले नेपाल प्रेसलाई बताए ।

ती व्यापारी भन्छन्, ‘ग्यास सिलिन्डर, करुवा, खुकुरीलगायत उपभोग्य सामान मागेर दु:ख दिन्छन् ।’ मुन्धुम यातायात ट्राभल्स एण्ड टुर्स प्रालिका निर्देशक मायालु मोक्ताले केही दिनअघि ट्राफिक प्रहरीले दिएको दु:खको फेहरिस्तसहित सामाजिक सञ्जालमा स्टाटससमेत राखेका छन् ।

मोक्तानले नेपाल प्रेससँग भने, ‘ट्राफिक प्रहरीका असई अनुप कट्टेललाई जानकारी गराउँदा समेत व्यवहार सच्चिएन । आफ्नै गाउँठाउँमा रोजगारीमा लागेका हामीजस्ता युवाहरूलाई गरिखान समेत गार्‍हो भयो । अनेक ठाउँ दाम चढाउनु पर्ने व्यवसायीको बाध्यता छ । आज हामी जिल्ला प्रहरी कार्यालयमा डेलिगेशन जाँदैछौँ ।’

भोजपुर प्रहरी प्रमुख डीएसपी राजु लामाले आज यस विषयमा छलफल गर्न व्यवसायीलाई बोलाएको प्रतिक्रिया दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *